प्रतिनिधि सभा बैठकमा गणपुरक संख्या नपुगेका कारण मन्त्रीको प्रश्ताव निर्णयार्थ प्रस्तु हुन सकेन।
प्रतिनिधि सभाको बुधवारको बैठकमा गणपुरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रश्ताव गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो।
प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपुरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यहरुको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए।
उनले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा ३ मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरुको संख्या ६५ रहेकोले उक्त गणपूरक संख्या अपुग भएको देखिएकोले यो बैठक १५ मिनेटको लागि स्थगित हुन्छ।’
सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गन्न माग गरेका थिए। प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ।
प्रकाशित: २२ असार २०७९ १८:०६ बुधबार