६ वैशाख २०८१ बिहीबार
राजनीति

बाजुराको बुढीगंगामा चुनावी तयारी पूरा, सुरक्षा कडाईका नाममा नागरिकलाई त्रास

बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचनका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ। भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिएका छन्। १० वटा वडाका सबै मतदान केन्द्र वरिपरी र राजमार्ग क्षेत्रमा व्यापक प्रहरी परिचालन गरिएको छ। बुढीगंगाका १० वडामा १९ वटा मतदान स्थल राखिएका छन्। एक वटा केन्द्रमा कम्तीमा १ सय जना बढी सुरक्षाकर्मी परिचालन गरिएको छ।  

चारवटै संयन्त्रका सुरक्षाकर्मी चुनावमा खटिएको जिल्ला निर्वाचल कार्यालय बाजुराले बताएको छ। बर्दी बाहेक सिभिलमा समेत गाउँगाउँमा सुरक्षाकर्मी परिचालन गरिएको स्थानीयले बताएका छन्। गाउँमै पुगेर सुरक्षाकर्मीले मतदातालाई समेत निगरानी गर्ने, २ जनालाई समेत जम्मा हुन नदिने गरेको गुनासो सर्वसाधारणको छ।

खेतबारीमा काम गर्न जाने र सामूहिक फर्किने अवस्था नै नरहेको र प्रहरीले धम्की दिने र थर्काउने गरेको आरोप सर्वसाधारणको छ। उनीहरुले सुरक्षाकर्मीबाटै त्रासको वातावरण फैलाउन प्रयास गरेको गुनासो गरेका छन्। यता प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले भने सुरक्षाका तर्फबाट त्यसो नभएको बताएका छन्।

मौन अवधी भएकोले मतदानस्थल वरपर सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएपनि नागरिकलाई त्रास फैलाउने काम नभएको दाबी गरेका छन्। हामी सुरक्षाका लागि खटिएका हौं, नागरिककै सुरक्षाका लागि खटिएको प्रहरीले थर्काउने र त्रास फैलाउने काम नगर्ने प्रहरी नायव उपरिक्षक थापाको भनाई छ।

साँफे मार्तडी सडकमा सर्वसाधारणलाई सहज आवत जावतमा नभएको र गाउँमा समेत सुरक्षाकर्मीबाटै असुरक्षाको मावल सिर्जना गरिएको गुनासो सर्वसाधारणको छ। शक्ति र सत्ताको चरम दुरुपयोग गरिएको आरोप समेत केही स्थानीयको छ।  

केही व्यक्ति जिताउन सिंगो राज्य सत्ता लाग्नु राम्रो होइन्, निर्वाचन भन्दामाथि समाज र मानवीय सम्बन्ध छ, आफ्ना र आफन्त छन्, स्थानीय वुद्धिजीवीहरुको भनाई छ। अनुहार र आस्था हेरेर पनि सुरक्षाकर्मीले थर्काउने र फरक व्यवहार गर्ने गरेको आरोप छ। तर प्रहरी प्रशासनले यो कुरा गलत र भ्रमीत भएको बताएको छ।  

जितका लागि जे सुकै गर्ने परिपार्टी अन्त्य नहुने भए निर्वाचनको अर्थ नै हुँदैन्, यसमा जनस्तरबाटै प्रतिवाद हुने आक्रोश समेत समुदाय स्तरमा छ। मतदाता भन्दा बढी सुरक्षाकर्मी खटाएको दृश्यले नै राज्यशत्ता विधी जिताउन नभई व्यक्ति जिताउन लागेको महशुस भएको उम्मेदवारहरुले नै बताउने गरेका छन्।

हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा नै शान्ति सुरक्षा प्रक्रिया अघि बढाएको सुरक्षा निकायको दाबी छ। सबै मतदानस्थल र मतदान केन्द्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट सिनियर अधिकृतको कमाण्डमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताएका छन्।

मतदानस्थलमा खटिएका सुरक्षा अधिकारीका अनुसार भने माथिको आदेश मान्नु पर्ने बाध्यता रहेको बताएका छन्। हामी सरकारको आदेश पालक हो, माथिल्लो निकायबाट आएको निर्देशन मान्नै पर्छ, जे गर भन्छन्, त्यही गरेको एक सिनियर सुरक्षा अधिकारीले नागरिकसँग बताएका छन्।  

बुढीगंगामा भोलि बिहीबार निर्वाचन हुने भएको छ।वैशाख ३० को निर्वाचन रद्द गरिएको थियो। निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेका छन्। निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ।

बुढीगंगा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् भने उपमेयरमा काँग्रेसका रिता शाही र एमालेका माया कुँवर छन्। एमालेको एकल उम्मेदवारी छ भने काँग्रेसले एकीकृत समाजवादीलाई पनि वडा अध्यक्ष दिएर चुनावी साँटगाँठ गरेको छ। बुढीगंगा नगरपालिकामा १३६५९ मतदाता रहेका छन्। रद्द गरिएको वैशाख ३० को चुनावमा १० हजार ३ सय २४ जनाले मतदान गरेका थिए।  

प्रकाशित: २२ असार २०७९ ११:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App