१६ चैत्र २०८० शुक्रबार
राजनीति

माओवादी केन्द्रमा संगठानात्मक समस्याः केन्द्रीय सदस्य चयनमा नातावाद–कृपावाद हाबी

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा सोमबार अध्यक्ष दाहाले आइतबार प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्। केन्द्रीय समतिको बैठकमा आफ्नो मत राख्ने केन्द्रीय सदस्यहरूले पार्टीभित्रको विकृति तथा हालै भएको केन्द्रीय सदस्य चयनका बारेमा पनि आवाज उठाएका छन्।  

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टीमा संगठनात्मक समस्या देखिएको र केन्द्रीय सदस्यको चयनमा योग्यता भन्दा नातावाद, कृपावाद र धनवाद हाबी भएको आरोप लगाएका छन्। पार्टी आफ्नो मूल्य मान्यताबाट स्खलित भएका कारण यस्ता समस्या देखिन लागेको केन्द्रीय सदस्यहरूको आरोप छ।  

सोमबारको बैठकमा आफ्ना धारण राख्दै पार्टी केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले केन्द्रीय समिति बैठकमा कतिपय पर्नै नहुने व्यक्ति परेको भन्दै त्यसको पनि विरोध गरेका थिए। ‘केन्द्रीय समिति बैठकमा हालै चयन भएका व्यक्तिहरू पर्नै नहुने, सार्वजनिक रूपमा विवादित र अयोग्य पनि परेका छन्। त्यसो हुनुको पछाडि नातावाद, सम्पत्ति र निकटताले पनि काम गरेको देखियो,’ उनले भने।  

अध्यक्ष दाहालले आइतबार आफ्ना छोरी ज्वाइँलाई समेत केन्द्रीय सदस्यमा चयन गरेपछि त्यसको केन्द्रीय समिति बैठकमै विरोध भएको छ। उनले यस अघी नै छोरी ज्वाइलाई केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेपनि चर्काे आलोचना भए पनि उक्त प्रस्ताव फिर्ता भएको थियो। केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले नयाँ केन्द्रीय सदस्य नियुक्तिमा देखिएको विकृतिको सांकेतिक विरोध गरेको न्यौपानेले जानकारी दिए। केन्द्रीय सदस्यहरूले नयाँ केन्द्रीय सदस्य चयन प्रक्रियामा प्रश्न उठाएपछि अध्यक्ष दाहालले आफूले प्रदेश पार्टीले गरेका आधारमा आफूले केन्द्रीय सदस्य चयन गरेको बताएका थिए।  

केन्द्रीय समिति बैठकमा बोल्दै नेताहरूले पार्टी तथा जनवर्गीय संगठनहरू विधान अनुसार सञ्चालन हुन नसक्दा विद्यार्थी, युवा र पार्टी महाधिवेशनमा समस्या आएको बताएका छन्। उनीहरूले पार्टी वा भ्रातृ संगठनहरूले विधान बनाउन नसक्ने वा विधान बने पनि कार्यान्वयन गराउन नसक्दा पार्टीभित्र संगठानिक समस्या आएको बताएका हुन्। केन्द्रीय सदस्यहरूले पार्टीले हाल गरिरहेको गठबन्धन वर्गीय र समाजवादका हिसाबले सही दिशामा नभएकाले वाम गठबन्धनमा जोड दिएका थिए।  

केन्द्रीय समिति बैठकमा नेता न्यौपानेले संसारमा कहीँ पनि माओवाद र संसदीय व्यवस्था एकै ठाउँमा नहुने भएकाले दुईमध्ये एउटा रोज्नुपर्ने प्रस्ताव गरेका थिए। यसो नगरेमा पार्टी लक्ष्यअनुसार अघि बढ्न नसक्ने उनको भनाइ थियो। न्यौपानले पार्टी केन्द्रीय सदस्यहरू कुन श्रम उत्पादनबाट बाँचिरहेका छन्। खर्चको स्रोत के हो भन्ने कुरा पनि प्रस्तावमा आउनुपर्ने कुरा उठाएका थिए।  

बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले पार्टी अब कसरी अघि बढ्छ भनेर प्रश्न गरेका थिए। त्यस्तै कतिपय केन्द्रीय सदस्यहरूले स्थानीय निर्वाचनमा कांग्रेसले गठबन्धनको मर्म नबुझेकाले पार्टी आफ्नै खुट्टामा उभिनुपर्ने सुझाव दिएको केन्द्रीय सदस्य हिमाल शर्माले जानकारी दिए। बैठकमा वाम गठबन्धनको कुरा र आगामी निर्वाचनमा पार्टीले अबलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमका बारेमा पनि केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेको उनले बताए। सोमबारको केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको अध्यक्ष दाहालले मंगलबारको बैठकमा जवाफ दिने कार्यक्रम रहेको छ।

पदाधिकारी चयन आज  

मंगलबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले पार्टीको केन्द्रीय पदाधिकारीको नाम पनि प्रस्ताव गर्ने कार्यक्रम रहेको छ। महाधिवेशन सकिएको लामो समयसम्म पनि पदाधिकारी चयन हुन नसकेको अवस्थामा केन्द्रीय सदस्यहरूले बैठक लम्बाएरै भएपनि पदाधिकारी, स्थायी सदस्य र पोलिटव्यूरो सदस्य चयन गर्न दबाब दिएका छन्। ‘मंगलबार अध्यक्ष दाहालले पदाधिकारीको नाम प्रस्ताव गर्ने कार्यक्रम रहेको छ। ती नाममा सर्वसम्मत भए ठिकै छ नभए केन्द्रीय समिति बैठकले निर्णय गर्छ,’ नेता शर्माले भने। पार्टी भित्र को सिनियर र जुनियर भन्दा पनि लोकतान्त्रिक प्रक्रियाबाट पदाधिकारी छनोट गर्नु उपयुक्त हुने शर्मा बताउँछन्।

‘पार्टी पदाधिकारी हुने योग्यता कसले कति भोटो फटाल्यो भन्ने होइन। हामी पनि भूमिका लिन तयार छौँ। त्यसका लागि लोकतान्त्रिक ढंगले चयन गर्दा राम्रो हुन्छ,’ उनले भने। केन्द्रीय सदस्य न्यौपानेले पनि पार्टी नेतृत्वले सर्वसम्मत रूपमा पदाधिकारी प्रस्ताव गर्न नसके निर्वाचनमा जान ढोका खोल्नुपर्ने बताए।

प्रकाशित: २१ असार २०७९ ०३:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App