८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस इमानदार भएनः माओवादी केन्द्र

नेकपा माओवादी केन्द्र केन्द्रीय समितिको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल। तस्बिरः प्रसन गुरुङ/नागरिक

सत्ता गठबन्धनको एक घटक नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसमाथि इमानदार र गम्भीर नभएको आरोप लगाएको छ।  

माओवादी केन्द्रको आइतबार काठमाडौंमा बसेको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गरेको संक्षिप्त राजनीतिक प्रतिवेदनमा स्थानीय तह निर्वाचनमा कांग्रेसले कतिपय स्थानमा माओवादीलाई हराउन अन्य दलसँग गठबन्धन गरेको आरोप लगाइएको छ।  

‘नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन। जसको परिणाम रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा र सिन्धुपाल्चोकलगायत जिल्ला र हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कैयौं स्थानमा हामीविरुद्ध एमालेसहित अन्य दलसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरू व्यापक रूपमा देखिए,’ प्रतिवेदनमा लेखिएको छ।

माओवादीले स्थानीय निर्वाचनमा कांग्रेसले आफू बलियो भएको स्थानमा अन्य दलको गठबन्धन बन्न नदिने तथा माओवादी र अन्य दल बलियो भएका ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गरेको आरोप लगाएको छ। कांग्रेसले आफू कमजोर भएका ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने र कतिपय स्थानमा गठबन्धनविरुद्ध बागी उम्मेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको माओवादीको आरोप छ। कांग्रेसले गठबन्धनका उम्मेदवारलाई मत नदिने वा आफ्ना उम्मेदवारलाई मात्र जिताउन खोज्दा धेरै मत बदर भएको माओवादीको दाबी छ।  

नेकपा एसले ठूलो भाग खोज्यो

माओवादी केन्द्रका अध्यक्ष दाहालले केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा स्थानीय निर्वाचनमा सत्ता गठबन्धनको अर्काे दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले पनि आफ्नो हैसियतभन्दा ठूलो भाग खोजेको आरोप लगाइएको छ। नेकपा एसले हैसियतभन्दा बढी दाबी गर्दा विभिन्न ठाउँमा सिट बाँडफाँटमा समस्या भएको प्रतिवेदनमा लेखिएको छ। यसैकारण कतिपय स्थानमा गठबन्धनका उम्मेदवार नै पराजित हुनुपरेको माओवादी केन्द्रको निष्कर्ष छ। नेकपा एस आफ्नो आधार बलियो भएका तराईमधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक भएको प्रतिवेदनमा उल्लेख छ। राजनीतिक प्रतिवेदनमा अध्यक्ष दाहालले राष्ट्रिय राजनीति विशिष्ट अवस्थामा रहेको, प्रतिगमनकारी षड्यन्त्र, चलेखेल अझै पनि जारी रहेको र आन्तरिक राजनीतिमा बाह्य शक्तिको दबाब निरन्तर बढेको निष्कर्ष निकालेका छन्।  

आर्थिक सूचकांक नकारात्मक

गठबन्धन सरकारमा अर्थ मन्त्रालयको चाबी समालेको माओवादी केन्द्रले राजनीतिक प्रतिवेदनमा देशको अर्थतन्त्रमा गम्भीर संकटका संकेत देखापरेको जनाएको छ। अर्थतन्त्र संकटग्रस्त हुनुका पछाडि अर्थमन्त्रीको भूमिकासमेत कारक रहेको आरोप लागिरहेका बेला माओवादीले सबैजसो क्षेत्रका आर्थिक सूचकांक नकारात्मक भएको, चालु आर्थिक वर्षको ११ महिनामा व्यापार घाटा १५ खर्ब ७ अर्ब रुपैयाँ पुगेको र विदेशी मुद्रा सञ्चिति पनि निरन्तर घटेको भन्दै चिन्ता व्यक्त गरेको छ। माओवादी केन्द्रले महँगीले सर्वसाधारणको दैनिकी कष्टकर बनेको, आर्थिक असमानता, गरिबी र बेरोजगारी बढेको ठहर गर्दै अर्थतन्त्रमा दलाल र नोकरशाही पुँजीवाद हाबी रहेको जनाएको छ।

प्रकाशित: २० असार २०७९ ०१:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App