८ वैशाख २०८१ शनिबार
राजनीति

बिमलालाई नफापेको ‘ओहदा’

गत असोज २४ गते भएको लुम्बिनी प्रदेशको मन्त्रीपरिषद् बिस्तारले छुट्टै चर्चा पायो। ३ राज्य मन्त्रीसहित ७ मन्त्रीले सपथ लिएको त्यो दिन मन्त्री पद र बिमला ओलीको राजनीतिक ‘पृष्ठभूमि’को नापजोख भयो। राजनीतिक पृष्ठभूमि शून्य रहेकी बिमलालाई त्यो बेला मन्त्री पद ‘चिठ्ठा’ परेको भनेर बिश्लेषण गर्ने एमाले पक्षधरहरुको ठूलो कित्ता सकृय बन्यो। 

बिमला स्वास्थ्य राज्यमन्त्री नियुक्त भएकी थिईन्। हुन पनि राजनीतिक पृष्ठभूमि शून्य प्रायः रहेकी बिमला शंकर पोख्रेलको सत्ता ढाल्ने ‘हिरो’ बनेकै कारण उनलाई मन्त्रीको ‘ओहदा’ दिईएको चर्चा उनकै दल माओवादीकै सांसदहरुबाटै चलेको थियो।  

माओवादी स्रोतका अनुसार शंकर पोख्रेल नेतृत्वको सरकारका बिपक्षमा मतदान गर्नका लागि मन्त्री पदको ‘सौदाबाजी’ माओवादीले बिमलासंग गरेको थियो। पोख्रेलले आफ्नो नेतृत्वको सरकार बचाउका लागि आफूलाई ‘बन्धक’ बनाएको भनेर आरोप लगाएकी बिमलाले त्यसअघि भने आफू एमालेमै फर्किएको भनेर बिज्ञप्ती जारी गरेकी थिईन्।  

तर पछि आफू भागेर माओवादीको सम्पर्कमा आउन सफल भएको र आफू माओवादीमै रहेको भनेर पत्रकार सम्मेलनमा सार्वजनिक हुनुले पनि उनको मन्त्री पदको ग्यारेण्टि माओवादीले गरेको सहजै आँकलन गर्न सकिन्थ्यो। उनै बिमलाको निर्णायक मतकै कारण माओवादीले सत्ताको नेतृत्व गर्न पाएको अवसरलाई उसले बिर्सने कुरै भएन।  

फेरि उनै बिमलासँग गरिएको सौदाबाजी कार्यान्वयन नहुँदा बिमला पुनः एमालेमै फर्कन सक्ने र सत्ता अल्पमतमा पर्न सक्ने खतरा देखि माओवादी सजग हुनु स्वाभाविकै थियो। फलतः बिमलालाई राज्यमन्त्रीको ‘ओहदा’ मा पुर्याएर सरकारको जग बलियो बनाउने माओवादीको दिर्घकालीन योजना बन्यो र बिमलालाई राज्यमन्त्रीमा बिराजमान गराइयो। तर राजनीकि ज्ञानले अपूर्ण बिमलालाई यो ओहदा धेरै ‘भारी’ भएको भनेर गरिएको चर्चाले सँगै प्रश्न पनि उब्जाएको थियो-बिमलालाई यो ओहदा कति फाप्ला? नभन्दै आफ्नो ओहदालाई उनि आफैँले चिन्न सकिनन्। मन्त्री जस्तो उच्च पदीय मर्यादालाई उनले कायम राख्न सकिनन्।  

आवेशलाई ‘काबु’ मा राख्न नसकेर एक व्यक्तिको घरभित्रै प्रवेश गरि ति व्यक्तिकी श्रीमती र नाबालिका छोरीलाई कुटपिट गर्ने ‘अमर्यादित’ राज्यमन्त्री बिमलालाई आफ्नो ओहदा फापेन। फलतः आफैँलाई भारी परेको राज्यमन्त्रीको ओहदा उनकै गलत हर्कतका कारण बुधबारदेखि खोसिएको छ। ‘उहाँले राजीनामा दिईसक्नु भएको छ, मैले उहाँको राजीनामा स्वीकृत गरिसकेँ,’ बुधबार बिमलाको राजीनामा बारे संसदलाई जानकारी गराएका मुख्यमन्त्री कुलप्रसाद केसीको भनाई उदृत गर्दै स्रोतले भन्यो।  

तर बिमलाले भने राजीनामा बुझाउन नमानेको र उनलाई मन्त्री पदबाट हटाउने पक्का छ। स्रोतका अनुसार बिमलाले आफूले राजीनामा नदिने र सरकार आफैँले कारवाही गरेर पदमुक्त गर्न भनेकी छिन्। ‘म राजीनामा दिन्नँ, तपाईहरुले नै कारवाही गरेर पदबाट हटाउनुस् भन्नु भयो,’ स्रोतले भन्यो ‘उहाँले आफै राजीनामा नदिने भएपछि अब उहाँलाई पदमुक्त गर्ने पक्का भएको छ।’ बिमलाले आफूले मन्त्री पदबाट राजीनामा दिनु परे सांसद र पार्टीबाट समेत राजीनामा दिने धम्की समेत दिएकी थिईन्। 

नागरिकसंगको कुराकानीमा पनि बिमलाले आफूले मन्त्री पदबाट मात्रै नभई सांसद र पार्टीबाट पनि राजीनामा दिने बताईन्। ‘मलाई मन्त्री पदबाट राजीनामा दिनु पर्यो राजीनामा लेख्नुस् भन्न आउनु भएको थियो,’ बिमलाले भनिन्, ‘तर मैले मन्त्रीबाट मात्रै हैन, सांसद र पार्टीबाट पनि एकैपटक राजीनामा दिन्छु भने पछि उहाँहरु जानु भएको हो।’ उनले आफूले राजीनामा पत्रमा हस्ताक्षर गरेर कसैलाई पनि नबुझाएको तर राजीनामा दिएको भनेर कसरी भनियो? भन्दै प्रश्न समेत गरिन्। ‘मैले राजीनामा पत्रमा कतै हस्ताक्षर गरेको छैन, तर राजनामा दिएको भनेर उहाँहरुले कसरी भन्नुभयो मलाई थाहा छैन,’ उनले भनिन् ‘राजीनामा दिनै परे मैले मन्त्रीबाट मात्रै दिन्नँ।’ अब मुख्यमन्त्रीले पदमुक्त गरेको खण्डमा पनि सांसद र पार्टीबाट राजीनामा दिने तयारीमा बिमला छिन्। 

तपाईँलाई राजीनामा दिनका लागि दबाब दिईएको हो? यो प्रश्नमा बिमलाले भनिन्, ‘राजनीति फाईदाको खेल हो भन्ने तपाईँलाई थाहैछ, यही फाईदाको खेलमा अनेकन घटना हुन्छन् , यो भन्दा बढी म अहिले केही बोल्दिनँ।’  

त्यसो त, उनको राजनीतिक अज्ञानताकै कारण सत्ता निर्माणको जोडघटाउमा ‘तानातान’ मा पर्दै आएकी बिमलाको राजनीति कति ‘हल्का’ बन्दै गईरहेको छ भन्ने छनक देखिईरहेको थियो।

प्रदेश सांसद श्रीमान उत्तर कुमार ओलीको निधनपछि बिमला प्रतिको सहानुभूती प्रकट गर्न तत्कालीन नेकपाले उपनिर्वाचनका लागि टिकट दियो। उनले जितिन् पनि। यो जीत उनको राजनीतिक ‘करिअर’ को सुरुवाती बिन्दु थियो। किनकी उनका श्रीमान जिवित छँदा बिमला शून्य राजनीतिमा थिईन्। 

उनको श्रीमानको निधनपछि उनलाई राजनीतिमा उदय गराईदिने तत्कालीन नेकपाको निर्णयले नेपाली राजनीतिमा बिमलाको नाम उदय भयो। उपनिर्वाचन मा जीत निकालेर प्रदेशसभा भित्रिएपछि ‘माननीय’ को ‘बिल्ला’ भिर्नु बिमलाको राजनीतिक करिअरको सुखद सम्भावना देखियो। तर सर्वोच्चको फैसलापछि तत्कालीन नेकपा बिघटन भई एमाले र माओवादी पुरानै अवस्थामा फर्किएपछि बिमलाको सुरुवाती राजनीतिक ‘ओज’ हल्का बन्दै जान थाल्यो। संविधानतः दल रोज्ने अधिकार पाएकी बिमलाले माओवादीमा मारेको फड्कोलाई एमालेले ठूलो प्रतिशोधको बिषय बनायो। अनि सत्ता टिकाउने र गिराउने दुई समूहको ‘बार्गेनिङ’ को प्रमुख केन्द्र उनै बिमला बनिन्। 

घरी माओवादीमा प्रवेश गरेको, पुनः एमालेमा फर्किएको र फेरी माओवादीमै कायम रहेको भनेर फरक-फरक सूचना प्रवाह गरेकी बिमलाको राजनीतिक ओज ध्वस्त बन्दै जान थालेन मात्रै उनको आगामी राजनीतिक यात्रामा पूर्णबिराम लाग्ने अड्कलबाजी हुँदै गए। तथापी शून्य राजनीतिबाट प्रदेश सांसदको ‘उकालो’ सम्म छलाङ मारेको बिमलाको राजनीति राज्यमन्त्रीको उचाईसम्म पुग्नु उनको सुखद राजनीतिको भबिष्य कोरिरहेको मान्न सकिन्थ्यो। तर मन्त्री ओहदालाई भूलेर तुलसीपुरका एकराज बस्नेतको घरमा प्रवेश गरि बस्नेतकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीमाथि गरेको अभद्र/अमर्यादित ब्यवहारले बिमलाको राजनीतिमा पूर्णबिराम लाग्ने र पुनः उनको सुखद राजनीतिक सम्भावना शून्यमा झर्ने संकेत देखाईदिएको छ। 

किनपनि भने राज्यमन्त्रीको पदबाट मुक्त गरेर माओवादीले बिमलालाई कारवाही गर्न खोजेको छ। यो कारवाहीको अन्तर्य ‘बिमला माओवादीमा नभएपनि फरक पर्दैन’ भन्ने पनि हो। अनि राज्यमन्त्री पदबाट राजीनामा दिए वा हटाईए सांसद र पार्टीबाट समेत राजीनामा दिने बिमलाको आफ्नो निर्णयले पनि उनको राजनीतिक सम्भावना के हुने भन्ने संकेत गरिरहेको छ।

 माओवादी पार्टीबाटै राजीनामा दिए बिमलाको राजनीति कहाँ कुन पार्टीमा समेटिएला? भन्ने प्रश्न भने स्वाभाविकै रुपमा उब्जन्छ। उनलाई एमालेले स्वीकार्न सके उनी जाने भनेको पहिलो बिकल्प भनेको एमाले नै हुन सक्छ। तर एमालेले उनलाई भित्रने मौका दिएपनि उनलाई राजनीतिक अवसरमा एमालेले कति साथ दिन्छ? भन्ने बिषय बिमलाका लागि पेचिलो बन्ने छ। किनकी आफ्नो नेतृत्वको सरकार गिराउन निर्णायक बनेकी बिमलालाई पुनः एमालेमा स्थान दिने कि नदिने भन्ने बिषय सहज छैन। प्रवेश दिई हालेपनि ‘अप्ठेरोमा धोका’ दिएकी बिमलालाई एमालेले कुन स्थानमा राख्ने भन्ने बिषयमा एमाले पक्कै पनि उदार बन्ने छैन।      

प्रकाशित: १५ असार २०७९ १२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App