६ वैशाख २०८१ बिहीबार
राजनीति

मतदाता नामावली व्यवस्थित हुन नसक्दा सास्ती

निर्वाचन आयोगले संघीय र प्रदेश निर्वाचनलाई लक्षित गरेर असार १ गतेदेखि देशभर मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सञ्चालन गरिरहेको छ। आयोगले मतदाता नामावाली संकलन व्यवस्थित गर्न नसक्दा सर्वसाधारणले सास्ती पाइरहेका छन्।

वैदेशिक रोजगारको क्रममा १० वर्ष मलेसियामा बिताएकी हेटौंडाकी पानु तामाङ छुट्टीमा नेपाल आएको मौकाको सदुपयोग गर्दै मंगलबार काठमाडौंको अनामनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेकी थिइन्।

‘नेपाल आएको बेलामा मतदाता नामावलीमा नाम दर्ता गराउन लाइनमा मात्र झन्डै तीन घण्टा बस्नुपर्यो,’ उनले गुनासो गरिन्, ‘झन् चाँडो हुन्छ भनेर यहाँ आएको थोरै कम्प्युटर, सिकारु कर्मचारी र जनशक्ति अभावका कारण दिनभर पनि नाम दर्ताको प्रक्रिया सकिएको छैन। सरकारले सरकारी सेवा छिटो र छरितो बनाउने भने पनि मतदाता नामावली संकलन व्यवस्थित गर्न नसक्दा हामी सर्वसाधारणले सास्ती पाउन बाध्य छौं।’

राजधानीको अनामनगरमास्थित जिल्ला निर्वाचन कार्यलय, काठमाडौं र जिल्ला समन्वय समितिको कार्यालयबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सर्वसाधारणहरू लाइन लागेर पालो कुरिरहेका छन्।

आयोगले १८ वर्ष पूरा भएर पनि मतदाता नामावलीमा नाम नभएकाहरूदेखि विभिन्न पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेका व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन गरिरहेको हुँदा जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा सर्वसाधारणको चाप बढेको छ।

विराटनगरका प्रवीण पोखरेलले राजधानीको सिनामंगलमा विगत १३ वर्षदेखि किराना पसल सञ्चालन गरेर बसिरहेका छन्। मतदाता नामावलीमा नाम दर्ता गराउन विराटनगर जाने फुर्सद निकाल्न नसकेका उनी जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा छोरीसहित मतदाता नामावलीमा नाम दर्ता गराउन लाइनबद्ध थिए।

‘पसलबाट फुर्सद निकाल्न नसक्दा विशेष चाडपर्वमा मात्र गइन्छ,’ उनले भने, ‘पारिवारिक जमघटमा व्यस्त भइन्थ्यो र काठमाडौं फर्कन हतार हुन्थ्यो। मतदाता परिचय बनाउन नभ्याएको हुँदा अहिलेसम्म मतदान गर्नबाट वञ्चित भइयो। यसपटक काठमाडौंबाट मतदाता नामावलीमा नाम दर्ता गराउन पाइने भएपछि छोरीसहित कार्ड बनाउन यहाँ आएको तर सरकारी काम व्यवस्थित हुन नसक्दा दिनभरीजस्तो लाइनमा छौं।’

बागलुङकी मीना परियार मतदाता नामावलीमा नाम दर्ता गराउन अफिसबाट आधा दिनको छुट्टी लिएर त्यहाँ पुगेकी उनी दिनभरीमा पालो नआउँदा आक्रोशित थिइन्। ‘मतदाता नामावलीमा नाम छुटेको कारण स्थानीय तह निर्वाचनमा मतदान गर्न पाइँन,’ उनले भनिन्, ‘प्रविधिको युगमा दिनभर सर्वसाधारणलाई नाम दर्ता गराउन लाइनमा उभ्याएर सरकारले दुःख दिइरहेको छ। अनलाइनबाट फारम दर्ता गर्ने व्यवस्था गरिदिएको भए यक्तिको झन्झड बेहोर्नु पर्दैनथ्यो।’

त्यस्तै जिल्ला समन्वय समितिको कार्यालयमा मतदाता नामावलीमा नाम दर्ता गराउन पुगेका राजधानीको माहंकाल शिशिर दाहाल स्थानीय तह निर्वाचनमा युवा उम्मेदवारको उत्साहका कारण नाम दर्ता गराउन पुगेको बताए। ‘अहिलेसम्म मतदान गरेको छैन,’ उनले भने, ‘स्थानीय तह निर्वाचनमा युवाहरू सहभागी भइरहँदा आफूसँगचाँहि मतदाता परिचयपत्र समेत छैन भन्ने महसुस भएर नाम दर्ता गराउन यहाँ आएको हुँ। सरकारी काम व्यवस्थित हुन नसक्दा आजित भइयो।’

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका अनुसार हाल काठमाडौंमा जिल्ला निर्वाचन कार्यालय, शंखरापुर र दक्षिणकाली इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयबाट फोटोसहितको मतदाता नामावली संकलन भइरहेको छ। जिल्ला निर्वाचन कार्यालय, काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईका अनुसार मतदाता नामावली संकलन कार्यलाई व्यवस्थित गर्न जनशक्ति थपेर काम भइरहेको दाबी गर्छन्।

‘मतदाता नामावली तथा अद्यावधिकका लागि जनशक्ति थपेर धमाधम काम भइरहेको छ,’ उनले भने, ‘प्राविधिक कारणले ढिलासुस्त भएजस्तो देखिएपनि लाइनमा बसेका मतदाताहरूको नाम दर्ता गराएर पठाएका छौं। काठमाडौंमा प्रत्येक दिन झन्डै १२ सय हाराहारीले मतदाता नामावलीमा नाम दर्ता गरिरहेका छन्। मतदाता नामावली तथा अद्यावधिक कार्यक्रमलाई व्यवस्थित गर्न आयोगसँग सहकार्य गरिरहेका छौं।’

हाल ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालयमार्फत मतदाता नामावली संकलन र अध्यावधिक कार्य भइरहेको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन मिति घोषणा भएपश्चात् गत माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलनलाई असार १ गतेदेखि फेरि सञ्चालन गरिएको जानकारी गराए।

‘अहिले नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुटेका सबै नेपाली नागरिकहरूले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आ–आफ्नो नाम दर्ता गराउन सक्नेछन्,’ उनले भने, ‘हाल नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिर्वतन गर्न, मतदान स्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ।

त्यस्तै आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको व्यक्तिहरूले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन्।’ स्थानीय तहको निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। निर्वाचनको मिति घोषणा भएपछि नामावली संकलन गर्न नमिल्ने कानुनी व्यवस्था भएकाले आयोगले असार १ देखि मतदाता नामावली संकलन गरिरहेको छ।

प्रकाशित: १५ असार २०७९ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App