६ वैशाख २०८१ बिहीबार
राजनीति

कांग्रेसले आत्मविश्वास गुमाइसक्योः पोखरेल

फाइल तस्बिर

 नेकपा (एमाले) महासचिव शंकर पोखरेलले नेपालमा विकास र समृद्धिका लागि नीतिगत नेतृत्वको आवश्यक भएको बताएका छन्।

प्रेस चौतारी नेपालले काठमाडौंमा आयोजना गरेको ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै विकास र समृद्धिमा नीति र नेतृत्वमा एकै व्यक्तिको आवश्यकता रहेको बताएका हुन्। ‘दुनियाँको राजनीतिक इतिहास पढ्दा प्रष्ट हुन्छ दलहरू मिलेर व्यवस्था बदलेका छन्। तर, दलहरू मिलेर राष्ट्र बनाएको कतै पाइँदैन,’ उनले भने, ‘हामी नेपालमा विकास र समृद्धिको कुरा गर्छौ भने त्यहाँ नीतिगत नेतृत्वको आवश्यक पर्छ। त्यसैले नेपाललाई विकास र समृद्धिको बाटोमा हिँडाउने हो भने राजनीतिक ध्रुवीकरण आवश्यक छ।’

उनले नेपालको राजनीतिमा अहिले दुई कित्तामा बाँडिएको सन्दर्भ पनि प्रस्तुत गरेका थिए। ‘एउटा बुर्जुवा शक्तिले नेतृत्व गरेको पुँजिवादतर्फको कित्ता र अर्को वामपन्थी शक्तिले नेतृत्व गरेको समाजवादतर्फको कित्ता। अरू सबै विचार र शृंखला भनेका त्यसैको वरिपरी छन्,’ पोखरेलले भने, ‘फरक विचारबीच धु्रवीकरण गर्ने हो भने यी दुई शक्तिबिचको धु्रविकरण ऐतिहासिक आवश्यकता हो। जसले समृद्धिको नेतृत्व गर्न सक्छ।’

उनले नेपाली कांग्रेस आफ्नो विचारको आधारमा शक्ति निर्माण गर्ने आत्मविश्वास गुमाइसकेको राजनीतिक दलका रूपमा रहेको पनि बताए। ‘ नेपाली काँग्रेस यति हतोत्साही र निरास छ कि ऊ गठबन्धन बाहेकको तरिकाबाट राजनीतिको नेतृत्व गर्न सकिन्न भन्छ,’ महासचिव पोखरेलले भने ‘तर, गठबन्धनले नीतिगत विचलन पैदा गर्छ। गठबन्धनले राजनीतिक अस्थिरता पैदा गर्छ।’

उनले गठबन्धनले राजनीतिक अवसरवाद पैदा गर्ने र वैदेशिक हस्तक्षेप र चलखेललाई आमन्त्रण गर्ने पनि दाबी गरे। ‘जुन राष्ट्रको समृद्धिको वाधक हो। त्यसैले नेपाललाई समृद्धिको बाटोमा अघि बढाउने हो भने नीतिगत नेतृत्वको प्रश्नमा आधारित भएर नीतिगत नेतृत्व निर्माण गर्ने कुरा नेपालको राजनीतिको आजको मिशन बन्नसक्नुपर्छ,’ महासचिव पोखरेलले भने। मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको मार्गदर्शन सिद्धान्तको आधारमा समाजवादको आधार तयार गर्ने उदेश्यका साथ समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्ष पूरा गर्नका लागि बलियो राष्ट्रिय पार्टीका रूपमा नेकपा (एमाले)नै भएको दाबीसमेत गरे।  

कार्यक्रममा सम्बोधन गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले विश्वबाटै कम्युनिस्ट व्यवस्था संकटको अस्थामा गुज्रिरहेको बेला भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट अघि बढाएको बताए। ‘मदन भण्डारीले ४१ वर्षको युवा उमेरमै धेरै कुरा सम्पन्न गरेर हामीबाट बिदा हुनुभयो,’ उनले भने, ‘पार्टी नेतृत्वमा उहाँ जम्माजम्मी चार वर्ष मात्रै रहनुभयो। संसदीय राजनीतिमा उहाँ करिब २ वर्ष मात्रै रहनुभयो। तर, उहाँले छोटो समयमै नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराउने काम गर्नुभयो।’

छोटो समयमै नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बीचमा स्थापित गराउने र झड्का दिने काम पनि मदले गरेको रिजालले स्मरण गराए कर्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पनि सम्बोधन गरेका थिए।

प्रकाशित: १४ असार २०७९ ०१:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App