६ वैशाख २०८१ बिहीबार
राजनीति

नेकपा एसको पुरानो टिम बाहिरियो, नयाँ भित्रियो

देउवा मन्त्रिपरिषद् पाँचौंपटक पुनर्गठन

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएपछि नयाँ मन्त्री नियुक्त भएका छन्। पार्टीभित्रको दबाबलाई थेग्न नसकेपछि पुराना मन्त्रीहरूले राजीनामा दिएलगत्तै नयाँ नियुक्त भएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पार्टीको निर्णय कार्यान्वयनमा सहजीकरण गर्ने भन्दै पदबाट राजीनामा दिएका थिए।

मन्त्री पदमा रहिरहन गरिएको अन्तिम प्रयास निरर्थक हुँदा र पार्टीभित्रको दबाब थेग्न नसक्दा आले र झाँक्रीले राजीनामा दिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एसका तर्फबाट सिफारिस गरिएका पाँचजनालाई मन्त्री नियुक्त गरेका हुन्। जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शेरबहादुर कुँवरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा, भवानी खापुङलाई स्वास्थ्य तथा जनसंख्या र मेटमणि चौधरीलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी हीरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठले भने राजीनामा नदिएको अवस्थामा पनि उनीहरूका स्थानमा नयाँ मन्त्री नियुक्त गरिए। नयाँ मन्त्री नियुक्त भएपछि आफूहरू स्वतः पदमुक्त हुने बताउँदै उनीहरूले राजीनामा दिएका थिएनन्।

नेकपा एसको पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठकमा सरकारमा सहभागी चार मन्त्रीले पार्टीको निर्णय नमानेको विषयमा चर्को आलोचना भएको थियो। पार्टीका शीर्ष नेताहरूले समेत ती मन्त्रीहरूले पार्टी निर्णय लत्याएको भन्दै आलोचना गरेका थिए। पार्टीले श्रेष्ठलाई संस्कृति, कुँवरलाई श्रम, खापुङलाई स्वास्थ्य, चौधरीलाई सहरी विकास र केसीलाई स्वास्थ्य राज्यमन्त्रीमा सिफारिस गरेको थियो। उक्त सिफारिस २२ दिनमा बल्ल कार्यान्वयन भएको छ।

प्रधानमन्त्री देउवाले नेकपा एसको सिफारिसअनुसार चारजनालाई मन्त्री र एकजनालाई राज्यमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री देउवाले सरकार सम्हालेयता यो पाँचौंपटक मन्त्रिपरिषद् पुनर्गठन हो। यसअघि स्वास्थ्य राज्यमन्त्री रहेका खापुङलाई स्वास्थ्यमन्त्री बनाउन नेकपा एसले सिफारिस गरेको थियो। सोही सिफरिसबमोजिम खापुङ राज्यमन्त्रीबाट स्वास्थ्यमन्त्रीमा बढुवा भएका हुन्। खापुङलाई बढुवा गरेकोमा धेरै नेताको चित्तदुखाइ छ। दाङ जिल्लाबाट दुई मन्त्री सिफारिस गरेकोमा पनि पार्टीभित्र आलोचना भएको छ। मेटमणि चौधरी र हीरा केसी दुवै दाङका हुन्।

जेठ २२ गते बसेको नेकपा एसको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयलाई लिएर सरकारमा सहभागी मन्त्रीहरूले विरोध गरेपछि निर्णय कार्यान्वयनमा विलम्ब भएको थियो।  

मन्त्रीहरूले आफूलाई हटाए सरकार नै ढल्ने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले पनि पुनर्गठनमा आलटाल गरेका थिए। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठनमा विलम्ब गरेपछि नेकपा एसका शीर्ष नेता झलनाथ खनाल आक्रोशित भएका थिए। पार्टीको स्थायी, पोलिटब्युरो, केन्द्रीय कमिटी सबै तहले मन्त्री हेरफेरबारे चासो राख्दै निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई दबाब  दिएका थिए।

नेकपा एसका मन्त्री फिर्ता बोलाउने निर्णय लागु नगर्न चार मन्त्रीले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमार्फत पार्टी अध्यक्ष माधव नेपाललाई दबाब दिएका थिए। उनीहरूले पार्टीभित्रको निर्णय कार्यान्वन नगराउन भरमग्दुर प्रयास गरेका थिए। उनीहरूले बेला न कुबेला माओवादी अध्यक्ष दाहाललाई भेट्ने गरेको विषयमा पनि पार्टीभित्र आलोचना भएको थियो। अन्तिम समयमा उनीहरूले १० सांसदको हस्ताक्षरसहित संसदीय दलको बैठक माग गरेर निर्णय कार्यान्वयनमा थप जटिलता उत्पन्न गराएका थिए।

‘एक्सन’ मन्त्री भएको आलेको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीबाट हटाइएका प्रेमबहादुर आलेले आफू एक्सनमन्त्री भएको दाबी गरेका छन्। मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आलेले आफू ८ महिना २० दिन मन्त्री भएर काम गरेको र ९० प्रतिशत काममा सफल भएको दाबी गरे। २०७८ असोज २२ गते मन्त्री नियुक्त भएका आले आइतबार सरकारबाट बाहिरिएका हुन्। उनले आफूले २ सय ६३ दिन मन्त्रालयमा बिताएको पत्तो नै नपाएको बताए। ‘प्रक्रियाभन्दा एक्सनमा विश्वास गर्ने राजनीतिक परिपाटीमा हुर्किएको हुँ,’ उनले भने।

झाँक्रीको गहभरि आँसु  

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राजीनामा दिँदै गर्दा गहभरि आँसु पारेकी छन्। आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिएको घोषणा गरिरहँदा उनी भावुक देखिएकी थिइन्। त्यसअघि उनले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासमक्ष राजीनामा बुझाएकी थिइन्। पत्रकार सम्मेलनमा मन्त्री झाँक्रीले आफूलाई सम्हाल्न सकेकी थिइनन्। पत्रकार सम्मेलनमा पटकपटक आफूलाई सम्हाल्ने कोसिस गरे पनि उनी आँसु लुकाउन असमर्थ बनिन्। झाँक्रीले २०७८ असोज २२ गते मन्त्री पदको शपथ लिएकी थिइन्।

प्रकाशित: १३ असार २०७९ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App