८ वैशाख २०८१ शनिबार
राजनीति

संघीयता संस्थागत गर्न प्रणाली सुधार्नु जरूरीः थापा

धनगढीमा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा। तस्बिरः पुष्पराज/नागरिक

संघीयतालाई संस्थागत गर्न संघीय प्रणालीमा सुधार गरेर अघि बढ्नुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बताएका छन्।

शनिबार धनगढीमा आयोजित ‘वर्तमानका चुनौती र विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अहिलेको अवस्थामा संघीय स्वरूपलाई सुधारेर अघि बढ्न आवश्यक रहेको बताएका हुन्। जनताको माझमा राप्रपा नेपाल अभियान लिएर धनगढी आइपुगेका थापाले संघीय सरकारलाई बलियो बनाउँदै स्थानीय तहलाई बढीभन्दा बढी अधिकार दिई दुई तहको सरकार बनेमा संघीयता थप संस्थागत हुने बताएका हुन्।

कार्यक्रममा बोल्दै थापाले व्यक्तिको इमानदारिता र लगनशीलतामा आएको कमीका कारण संविधानले स्थायित्व पाउन नसकेको पनि बताए। ‘२००७ सालदेखि २०७९ सम्मको ७२ वर्षको अवधिमा पनि संविधानले स्थायीत्व पाएन,’ उनले भने,‘गतल व्यक्ति र प्रवृत्तिकै कारण संविधानले स्थायीत्व पाउन नसकेको हो, यसका लागि अब सम्वर्द्धनवाद आउनु जरुरी छ।’  

कम्युनिष्ट तथा अन्य ठूला दलमा वैचारिक विचलन देखापरेको बताउँदै उनले भने,‘साम्यवाद, समाजवाद र पुँजीवाद दर्शन हावी हुँदा ठूला दलको विचारमा विचलन आएको छ, अब यसको विकल्पमा सम्वर्द्धनवादको दर्शनलाई पार्टीले अघि बढाउँछ।’ सम्वद्र्धनवाद भनेको सनातन धर्मको रक्षा र परम्परागत संस्कारलाई अँगाल्दै अघि बढ्ने दर्शन रहेको कार्यक्रममा औँल्याए। ‘परम्परागत सनातन धर्मको रक्षा गरेर पनि देशको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याउन सकिन्छ,’ उनले भने,‘त्यही भएर सम्वर्द्धनवादको दर्शन राप्रपा नेपालले अघि बढाएको हो।’  

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले अब कुनै पनि पार्टीसँग एकता नहुने बताएका छन्। राप्रपाबाट छुट्टिएर राप्रपा नेपालको संगठन विस्तारमा रहेको बताउँदै उनले भने,‘अब पनि हामी अन्य पार्टीसँग एकता गर्दैनौं।’ पार्टी एकीकरण गर्दा विचार, सिद्धान्तमा विकृति र विसंगति बढ्ने भएकाले कसैसँग पार्टी एकता नगर्ने उनले बताए। राप्रपा नेपाल फरक विचार, मार्गदर्शन र देशको वैकल्पिक पार्टीका रुपमा स्थापना भएको समेत उनले बताए।

पार्टीभित्रको गलत वैचारिक प्रवृति, विकृति र विसंगति समाधान प्रयास गर्न दिएको सुझाव नमानेपछि राप्रपाबाट अलग्गिएर अर्कै पार्टीको स्थापना गरेको उनले बताए। हिन्दू धर्मको संस्थागत विकास गर्ने लक्ष्यसहित स्थापना भएको पार्टीप्रति जनताले ठूलो विश्वास लिएको बताउँदै उनले भने,‘अब हुने निर्वाचनबाट यो राष्ट्रिय पार्टी बन्छ, त्यसका लागि आवश्यकता अनुसार अन्य राजनीतिक दलसँग चुनावी तालमेल पनि गर्न सक्छौं।’

प्रकाशित: ११ असार २०७९ १४:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App