८ वैशाख २०८१ शनिबार
राजनीति

राज्यमन्त्री बिमला प्रकरणः सकियो छानविन, प्रतिवेदन तयार गरिँदै

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वलीले एक महिला र नाबालिका माथि कुटपिट गरेको घटना माथि प्रदेश सरकारले छानविन पुरा गरेको छ। प्रदेश सरकारले बनाएको छानविन समितिले घटना बारे आफ्नो अध्ययन सक्काएको र अध्ययन प्रतिवेदन तयार पार्ने काम भैरहेको जनाएको छ।

प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलक शर्माको संयोजकत्वमा ३ सदस्यीय छानविन समिति बनाएको थियो। यो समितिले घटनासंग सम्बद्ध सबैसँग सोधपुछ गरेको थियो। ‘हामीहरुले घटनासँग सम्बद्ध सबैसँग सोधपुछ गर्‍यौँ, घटना बारे बुझ्यौँ,’ छानविन समितिका संयोजक मन्त्री शर्माले भने ‘हामीलाई सरकारले दिएको छानविनको जिम्मेवारी अन्तरगत अब हामी अन्तिम चरणमा छौँ।’

उनका अनुसार पीडित महिला, स्थानीय, महिलाका श्रीमान, राज्यमन्त्री वलीसँग घटना बारे सोधपुछ गरिएको छ। राज्यमन्त्री बिमलाले गत जेठ ३१ गते दाङ तुलसीपुरका एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी श्रीमती मिना भण्डारी बस्नेत र उनकी ६ वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्। यो घटना छानविनका लागि बनेको समितिले आफ्नो अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाउने छ।

यो समितिलाई आगामी १६ गते सम्म प्रतिवेदन बुझाने समय सीमा सरकारले तोकिदिएको छ। ‘सरकारलाई हाम्रो अध्ययन प्रतिवेदन बुझाउँछौँ,’ मन्त्री शर्माले भने ‘१६ गतेसम्म सरकारले हामीहरुलाई समय अवधि दिएको छ, यो अवधिसम्म हामीहरुले अध्ययन प्रतिवेदन बुझाई सक्छौँ।’ तर मन्त्री शर्माले अध्ययनमा देखिएको यथार्थता बारे भने बताउन चाहेनन्।

आफूहरुलाई छानविनको मात्रै जिम्मेवारी रहेको र उक्त छानविन प्रतिवेदन सरकारलाई बुझाएपछि यथार्थता बाहिर ल्याउने नल्याउने सरकारको विषय भएको बताए। ‘हामीहरुले सरकारलाई प्रतिवेदन बुझाएपछि एक्सन लिने नलिने विषय सरकारको हुन्छ, अनि प्रतिवेदन बाहिर ल्याउने नल्याउने विषय पनि सरकारकै हुन्छ,’ उनले भने ‘हामीहरुले त प्रतिवेदन बुझाउने मात्रै हो, तर अध्ययनका क्रममा फेला पारेका तथ्यलाई हामीहरुले भन्न पनि मिल्दैन।’

घरभित्रै प्रवेश गरेर एक महिला र नाबालिकालाई कुटपिट गरेकी राज्यमन्त्री वलीले पदीय मर्यादा विपरीतको कदम चालेको निष्कर्षमा सरकार पुग्ने सम्भावना रहेको सरकार स्रोत बताउँछ। पदीय मर्यादा नाघेर एक व्यक्तिको घरमा प्रवेश गरेर कुटपिट गर्नुलाई ‘सामान्य घटना’ का रुपमा लिन नमिल्ने निष्कर्षमा सरकार पुग्ने सम्भावना रहेको भन्दै स्रोतले भन्यो ‘कारबाही हुने नहुने भन्ने विषय त छानविन समितिको प्रतिवेदन कस्तो आउँछ, त्यस अनुसार सरकारले आफ्नो कदम अघि बढाउँला।’

जेठ ३१ मा महिला र नाबालिका कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय तुलसीपुरले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिएको थियो। उसैदिन उनीमाथि कारबाही प्रक्रिया अगाडि बढाउने भन्दै घोराहीस्थित जिल्ला प्रहरी कार्यालयमा ल्याइएकी राज्यमन्त्री वलीलाई राती बुटवल पुर्‍याइएको थियो।

अनि प्रदेश सरकार मन्त्री परिषद बैठकले राज्य मन्त्री वलीमाथि छानविनका लागि आन्तरिक मामिला तथा सञ्चार मन्त्री शर्माको संयोजतकत्वमा कानुन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती र मुख्य नयायधिवक्ता श्रीकृष्ण सुवेदी सदस्य रहेको छानविन समिति बनाएको थियो। यो समितिले गत बुधकारदेखि छानविन सुरु गरेको थियो। समितिका संयोजकसहित दुई सदस्य गत तुलसीपुरमै आएर घटना बारे अध्ययन गरिन बुटवल फर्किएका छन्।

प्रकाशित: ११ असार २०७९ १३:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App