१५ चैत्र २०८० बिहीबार
राजनीति

ऐतिहासिक तोप फर्काउन पहल गरिन्छ: गौर नगरप्रमुख साह

रौतहटको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गौरको ऐतिहासिक सम्पदाको रुपमा चिनिएको तोपलाई पुनः गौर भन्सारमा फर्काउन तत्काल पहल गरिने बताएका छन्। 

रौतहट सदरमुकाम गौरको दशौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख साहले नेपाल अंग्रेजसँग सम्बन्धित रहेको ऐतिहासिक तोपलाई पुनः गौर फर्काउन तत्काल पहल गर्ने घोषणा गरेका छन्।  

सन् १८१४ डिसेम्बर ३१ मा रौतहटमा अंग्रेजसित भएको युद्धको क्रममा अंग्रेज पक्षलाई हराएर स्थानीयबासीले तोपसहित थुप्रै हातहतियार खोसेका थिए। रौतहटेली वीरताको प्रतीकको रुपमा दशकौँदेखि नेपाल भारत सीमानजिक गौर भन्सारमा तोपलाई राखिएको थियो। 

नेपालमा माओवादी द्वन्द्व सुरु भएपछि तोपलाई गौर भन्सारनजिकको प्रहरी चौकीबाट उठाएर वीरगंजस्थित एसएसपि कार्यालयमा लगिएको थियो। अहिले स्थानीय सरकार गठन भएपछि नवनिर्वाचित नगर प्रमुख साहले आफ्नो पहिलो नगरसभालाई सम्बोधन गर्दै गौरको सम्पत्तिको रुपमा रहेको ऐतिहासिक तोपलाई पुनः यथास्थानमा फर्काउन तत्काल पहल थालिने घोषणा गरेका हुन्।

यसैबीच नगरसभामा नगर प्रमुख साहले आगामी आर्थिक वर्षका लागि ५२ करोड ८५ लाख ५९ हजार रुपैयाको बजेट पेश गरेका छन्। नगर प्रमुख साहले “सोच बिनाको स्रोत व्यवस्थापन हुँदैन र स्रोत बिना सोच कार्यान्वयन हुँदैन” कुरालाई ध्यानमा राखेर बजेट निर्माण गरिएको बताएका छन्।

शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा जनताको आधारभूत आवश्यकतालाई विशेष ध्यान दिएर पूर्णतया कार्यान्वयनमा ल्याइने बजेटलाई कार्यान्वयनमा पूर्णतया पारदर्शी बनाइने पनि बताएका छन्।

नगर प्रमुख साहले नगर प्रमुखको हैसियतमा आफूले कुनै पनि सुविधा नलिने र आफूले पाउने सुविधालाई नितान्त गरिबका छोरीको बिहेमा दिने घोषणा पुनः सार्वजनिक गरेका छन्।  

नगरसभालाई सम्बोधन गर्दै प्रदेश सांसद तथा गौर नगरपालिकाका प्रथम नगर प्रमुख बाबुलाल साहले सबैले मिलेर जिल्लाको पहिलो नगरपालिकालाई सभ्य, समुन्नत र गौरव गर्न लायकको बनाउनु पर्ने बताएका छन्।

प्रकाशित: १० असार २०७९ १४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App