८ वैशाख २०८१ शनिबार
राजनीति

बजेटमा कुरा नमिल्दा धरानको कार्यपालिका बैठक बीचैमा स्थगित

फाइलतस्बिर

आगामी आर्थिक वर्षको बजेटमा उपमेयर कोषको लागि पनि बजेट विनियोजनको प्रस्तावले धरानको कार्यपालिका बैठकमा विवाद भएपछि बीचैमा स्थगित भएको छ।

शुक्रबार आह्वान गरिएको नगरसभामा प्रस्ततु गर्न नीति तथा कार्यक्रम र बजेट अनुमोदनको लागि बिहीबार बिहान ८ बजेदेखि कार्यपालिका बैठक बसेको थियो। लामो छलफल पश्चात नीति तथा कार्यक्रमलाई बैठकले पारित गरेको थियो। तर, आर्थिक विधेयक र विनियोजन विधेयकमा भने कार्यपालिका बैठकमा सहमति जुट्न सकेन। बिशेष गरि नेकपा एमालेबाट निवार्चित वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले छुट्टै उपमेयर कोष राख्ने प्रस्तावमा आपत्ति जनाएका थिए भने सामाजिक विकास समितिको लागि विनियोजित बजेटप्रति पनि असन्तुष्टी जनाएका थिए।

एमालेबाट निवार्चित वडा नं १९ का वडाअध्यक्ष पुर्ण लिम्बुले सामाजिक विकास समितिमा १ करोड बजेट विनियोजन गर्नुपर्नेमा ७५ लाख मात्र राखिएकोले असहमति जनाएको बताए। यस्तै, उपमेयर कोष पनि अलग्गै व्यवस्था गर्ने प्रस्तावमा आफुहरुको असहमति भएको र सहजीकरण गर्न नसकेपछि बैठक छोडेर निस्किएको अध्यक्ष लिम्बुले बताए। एमालेका वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरु बाहिरिएपछि बैठक बिथोलिएको थियो। मेय हर्कराज राई र उपमेयर अइन्द्रबिक्रम बेघा पनि कार्यक्रममा जाने भन्दै बाहिरिएका थिए भने कांग्रेस, स्वतन्त्र र राप्रपाबाट निवार्चित वडाअध्यक्षहरु अन्योल भएका थिए।  

मेयर र उपमेयरसहित धरानको ३० जनाको कार्यपालिका बैठकमा नेकपा एमालेको बहुमत छ। एमालेबाट १० जना वडाअध्यक्ष र निवार्चित ८ जनासहित १८ जना कार्यपालिका सदस्यहरु छन्। नगरसभामा पनि एमालेकै बहुमत छ। एमालेबाटै निवार्चित वडा नं ७ का अध्यक्ष जीवन सुवेदीले विगतमा उपमेयर कोष छुट्टै राख्ने अभ्यास नभएको र आर्थिक ऐन वमोजिम पनि नभएकोले आफुहरुले असहमति जनाएको बताए। उनले मेयर कोषमा मात्र बजेट विनियोजना गर्न र विगतमा जस्तै मेयर, उपमेयरले मिलेर चलाउन सुझाव दिएपनि नमानेपछि आफुहरु बैठक छोडेर बाहिरिएको बताए। ‘पहिला पनि मेयर कोष मात्र थियो। मेयर र उपमेयरले त्यही कोषबाट मिलेर चलाउथे, यसपाली पनि छुट्टै उपमेयर कोष नराखौं, आर्थिक ऐन विपरीत हुन्छ। मिलेर चलाउनुस् भन्दा मानेनन्, उहाहरुले सहजीकरण गर्न पनि चाहनु भएन, र हामी हिड्यौ।’

नगर कार्यपालिकाका प्रवक्ता एवं वडा नं १७ का वडाअध्यक्ष सुर्यबहादुर भट्टराई (मनोज)ले कार्यपालिका बैठकमा अधिकांश बिषयमा सहमति भइसकेको र विनियोजन विधेयकमा मात्र गृहकार्य गर्न बाँकी भएकोले बैठक स्थगित गरिएको बताए। उनले उपमेयर कोषमा र सामाजिक विकास समितिको बजेटमा विवाद नभै सुझावहरु आएको दाबी गर्दै शुक्रबार बिहान सहमति जुट्ने र नगरसभा पनि हुने बताए। ‘केही कार्यपालिका सदस्यहरुले हामी छलफल गर्नुपर्ने बिषय भयो भनेर जानु भएको छ। गृहकार्य नपुगेको हो। उपमेयर कोष छुट्टै होइन, एउटै मेयर कोषमा बजेट राखेर चलाउनुस् भन्ने सुझाव छ, त्यसलाई ग्रहण गरेर शुक्रबार बिहान सहमति हुन्छ, र नगरसभा पनि हुन्छ,’ उनले भने।  

शुरुमा मेयर कोषमा १ करोड ७० लाख र उपमेयर कोषमा छुट्टै १ करोड ३० लाखको प्रस्ताव गरिएको थियो। पछि मेयर कोषलाई १ करोड २० लाख र उपमेयर कोषमा ८० लाख विनियोजन गरिएको छ। एमालेका कार्यपालिका सदस्यहरुले अलग अलग कोष नबनाई मेयर कोषमा नै पैसा राखेर मिलेर चलाउनुपर्ने प्रस्ताव गरेका छन्। यस्तै, सामाजिक विकास समितिमा ७५ लाख मात्र विनियोजन गरिएकोमा पनि एमालेको असहमति रहेको छ। उनीहरुले १ करोड बजेट हुनुपर्ने अडान राखेका छन्।  

प्रकाशित: ९ असार २०७९ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App