८ वैशाख २०८१ शनिबार
राजनीति

युवाले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन हुँदैन: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुले स्वतन्त्रबाट चुनाव जित्नुलाई समग्र सत्यको रुपमा लिन नहुने बताएका छन्।

बिहीबार टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। उनले युवाहरु स्वतन्त्र उम्मेदवार भएर विजयी हुनुलाई अपवादको रुपमा लिनुपर्ने बताए। अध्यक्ष ओलीले नेपालमा मुख्यरुपमा दुईवटा मात्र राजनीतिक पार्टी रहेको भन्दै उनीहरुले राम्रो काम नगरे त्यसको अपवादको रुपमा नयाँ शक्तिले जन्म लिने बताए। 

उनले राजनीति र राजनीति संगठनमा विचारको महत्व बढी हुने भन्दै गन्तव्य र उद्देश्यको लागि विचार आवश्यक रहेको बताए। अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रति घृणा नभइ आकर्षण बढेको उल्लेख गरे।

अध्यक्ष ओलीले भने, ‘यो गतिशील दुनियाँ हो। जो स्वतन्त्र रुपमा युवाहरु उम्मेदवार हुन्छु भन्छन्, काहीँ जित्छन्, यसलाई अपवादको रुपमा लिनुपर्छ। यसलाई समग्र सत्यको रुपमा होइन, यो आंशिक सत्यको रुपमा लिनुपर्छ। म यो पनि भन्दिन की, नेकपा एमाले घामजुन रहुन्जेल रहन्छ, नेपाली काँग्रेस घामजुन रहुन्जेल रहन्छ भन्ने होइन। अहिलेको यथार्थ के हो भने नेपालमा आधारभुत, मुख्यरुपमा दुईवटा पोल्टिकल पार्टी छन्, एमाले र नेपाली काँग्रेस। यिनीहरुले ठिक काम गरेनन् भने, कोही पनि ठिक काम नगरेर पनि लोकप्रिय भइरहने, अघि बढीरहने, जनताले विश्वास गरिरहने, माया गरिरहने, साथ दिइरहने निस्क्रिय भएपनि, यो भन्दा राम्रो काम गर्ने अर्को आयो भनेपनि  त्यसलाई अस्वीकार गर्ने भन्ने कुरा हुँदैन। समय गतिशील छ। राजनीति र राजनीति संगठनमा विचारको महत्व हुन्छ। गन्तव्य र उद्देश्यको महत्व हुन्छ। प्रजा परिषद् विचार, उद्देश्य  गन्तव्यले सफल भएको हो। त्यसकारण विचार चाहिन्छ। युवाहरुमा राजनीतिप्रति व्यापक फ्रस्टेशन छ भन्नेकुरा एकदुई वर्ष अघिसम्म सबैले युवाहरुले राजनीतिमा घृणा गर्न थाले भन्थे। त्यो कुरा सत्य होइन।’

अध्यक्ष ओलीले युवाहरुमा राजनीतिप्रतिको आकर्षण सही भएको बताए। उनले युवाहरुसम्म राजनीतिक पार्टी नपुग्नुले पनि युवाहरुले आफ्नो संगठन बनाएर राजनीतिमा लागिरहेको बताए।

प्रकाशित: ९ असार २०७९ १३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App