७ वैशाख २०८१ शुक्रबार
राजनीति

मिति घोषणा नहुँदै उम्मेदवारी घोषणा गर्ने लहर

प्रतिनिधिसभाको निर्वाचन कहिले हुन्छ अझै निश्चित नभए पनि विभिन्न व्यक्तिहरूले उम्मेदवारी घोषणा गर्न सुरु गरेका छन्। सरकारले असार अन्तिम सातासम्म निर्वाचन घोषणा गर्ने तयारी गरेका बेला काठमाडौंसहितका विभिन्न जिल्लाबाट उम्मेदवारी घोषणा गर्ने लहर सुरु भएको हो।

इन्जिनियर आकर्षण पोखरेलले मंगलबार काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र रूपमा उम्मेदवारी घोषणा गरेका छन्। कपनको साततलेस्थित खुला सडकमा बिहान पोखरेलले उम्मेदवारी घोषणा गरेका हुन्। काठमाडौं–४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा सांसद छन्।

२०६४साल देखि सांसद रहेका थापालाई चुनौती दिँदै पोखरेलले आगामी निर्वाचनमा स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पोखरेललाई समर्थन गर्न पुगेका गायक मानस राजले देशले परिवर्तन खोजेको र परिवर्तनको सुरुवात पोखरेको स्वतन्त्र उम्मेदवारीमा रहेको जिकिर गरेका छन्। काठमाडौं–३ बाट हरिशरण लामिछानेले उम्मेदवारी दिने जनाएका छन्। लामिछाने रेडियो नेपालमा लामो समय कार्यरत थिए।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न स्वतन्त्र व्यक्तिहरूले आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिने गृहकार्यमा जुटेका छन्। काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रबाट समाजका विभिन्न पक्षले उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएका बेला सिंहले प्रतिनिधित्व गर्ने काठमाडौं–१ मा विवेकशीलबाट पुकार बम, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शोभित उप्रेतीले उम्मेदवारी दिने भएका छन्।

पार्टीभित्रैकै एउटा समूह सिंहको विपक्षमा देखिएका बेला वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पत्नी सिर्जना सिंहलाई महानगरपालिका प्रमुखको उम्मेदवार बनाएका थिए। तर, परिणाम आफ्नो पक्षमा पार्न सिंह असफल भएका थिए। त्यसले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीभित्रैबाट असहयोग हुने आकलन गरिएका बेला प्रमुख प्रतिपक्षी एमाले, राप्रपासहित अन्य स्वतन्त्र समूहले पनि सोही क्षेत्रलाई लक्षित गर्दै उम्मेदवारीको तयारीमा जुटेका छन्।

२०७४ निर्वाचनमा सिंहले १० हजार ९ सय ३६ मतसहित निर्वाचित भएका थिए। उनका निकटतम प्रतिस्पर्धी तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत पाएका थिए। स्थानीय निर्वाचनमा काठमाडौं महानगरबाट राम्रो मत हाँसिल गरेका सुमन सायमीले पनि संघीय निर्वाचनमा उम्मेदवारी दिने भएका छन्। कुन क्षेत्रबाट चुनाव लड्ने भन्नेचाहिं निक्र्यौल भइसकेको छैन।

केही विवेकशील साझा पार्टीकी रञ्जु दर्शनाले पनि प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। काठमाडौं क्षेत्र नम्बर ६ बाट गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहेका श्रेष्ठले पार्टीको तर्फबाट अन्यथा स्वतन्त्र रूपमा भए पनि उम्मेदवारी दिने बताएका छन्।

काठमाडौं–८ बाट सुमन सायमीले उम्मेदवारी दिने घोषणा गरेका छन् स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखको उम्मेदवार बनेका सायमी पराजित भएका थिए। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईपुत्री मानुषी भट्टराईले पनि काठमाडौंबाट उम्मेदवारी दिने घोषणा गरेकी छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिन लागेकी उनले काठमाडौंको ५ वा ७ बाट उम्मेदवारी दिने तयारी गरेकी छन्।

काभ्रे २ बाट फिल्म निर्देशक मनोज पण्डितले संघीय निर्वाचनमा उठ्ने घोषणा गरेका छन्। उनले पूर्वमन्त्री गोकुल बाँस्कोटाविरुद्ध उम्मेदवारी दिने बताएका हुन्। ललितपुर–२ बाट दिपेश केसीले स्वतन्त्रबाट उम्मेदवारी दिने जनाएका छन्। 

प्रकाशित: ८ असार २०७९ ०५:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App