७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छः गृहमन्त्री

फाइल तस्बिर।

गृहमन्त्री बालकृष्ण खाँणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन्।

आठौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित योग शिविर तथा उत्प्रेरणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले मानिसको भौतिक शरीर, मानसिक अनुभूति र शारीरिक अवस्थालाई सन्तुलनमा राखी तनाव कम गर्न तथा जीवनलाई शान्त, फलदायी र उत्पादनमूलक बनाउन योग प्रभावकारी हुने उल्लेख गरे।

गृहमन्त्री खाँणले समाजमा हुने विभिन्न प्रकारका घटना, दुर्घटना र अपराधको प्रभावकारी रोकथाम तथा नियन्त्रण गरी समाज र नागरिकलाई सुरक्षित राख्ने जटिल प्रकृतिको जिम्मेवारी बहन गर्ने सन्दर्भमा प्रहरी कर्मचारीको तनाव व्यवस्थापनमा योगाभ्यासको अधिक महत्व रहने विचार व्यक्त गरे।

उनले ‘मानवताका लागि योग’ भन्ने नारालाई आत्मसाथ गरी समाज र राष्ट्रको हित तथा विकासमा आफूलाई समर्पित गर्न पनि आग्रह गरे। उनले योग र प्रणायामको नियमित अभ्यासले मानव शरीर तथा मस्तिष्कलाई सन्तुलित र स्वस्थ राखी सकारात्मक सोच विकास गर्ने चर्चा गरे।

योगाभ्यासलाई प्रशिक्षणमा सीमित नराखी आफ्नो व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्न आग्रह गर्दै उनले भने, 'योग एवं आसन, प्रणायम मात्र होइन एक अनुशासित जीवनशैली पनि हो।'

यस्तै प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योगाभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी शारीरिक विकारबाट मुक्ति दिलाउन मद्दत गर्ने बताए।

प्रकाशित: ६ असार २०७९ ०९:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App