८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेस महाधिवेशनपछिका ६ महिना: नीति र विधि दुवै अन्योलमा

नेपाली कांग्रेसको विधानको धारा ६० मा लेखिएको छ-पार्टीको सबै तहमा विभाग/समिति/विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ। पार्टीको १४औं महाधिवेशनबाट मंसिर २८ गते शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका थिए। यसलाई आधार बनाउने हो भने पार्टी विधानको व्यवस्थाअनुसार देउवाले सबै निकायलाई पूर्णता दिँदै संगठनलाई चुस्त र दुरुस्त बनाउनुपर्ने हो। तर महाधिवेशन भएको ६ महिना पूरा हुँदा उनले केन्द्रीय समितिलाई पनि पूर्णता दिन सकेका छैनन्।  

मुलुकभित्र मात्र होइन, बाहिर पनि लोकतान्त्रिक दलको छवि बनाएको कांग्रेस पार्टी विधान कार्यान्वयनमा सधैं कमजोर देखिँदै आएको छ। शक्तिशाली सभापतिका रूपमा दोस्रो कार्यकालको जिम्मेवारीमा पुगेका देउवाले यसपटक विधि, विधानको परिपालनासहित संगठन सञ्चालन गर्ने धेरैको बुझाइ थियो। पार्टी विधि, विधान र पद्धतिअनुसार सञ्चालन हुनुपर्ने आवाज उठाउँदै पदाधिकारीमा चुनिएका युवाले पनि सभापति देउवालाई विधान पालना गर्न÷गराउन दबाब दिने धेरैको अपेक्षा थियो। तर महाधिवेशन भएको ६ महिनासम्म कांग्रेस नेतृत्व विधान पालना गर्न÷गराउन र संगठनलाई चलायमान बनाउन असफल देखिएको छ।

पार्टी महाधिवेशनलाई नेता छान्ने थलो मात्र बनाएको कांग्रेसभित्र नीति तथा कार्यक्रमसहित विधि, विधानका कुरा उठ्न छाडेका छन्। पार्टीका सबै नेताको ध्यान आफू र आफ्ना मान्छेको व्यवस्थापनमा मात्र केन्द्रित हुँदा सांगठनिक संरचनाहरू निकम्माप्रायः बन्न पुगेका छन्। १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा अहिलेसम्म कोषाध्यक्षसहित २० सदस्य मनोनीत गर्न बाँकी छ।  

पार्टी उपसभापतिको नेतृत्वमा रहने प्रशिक्षण प्रतिष्ठानसहितका झन्डै चार दर्जन विभाग गठनको गृहकार्यसमेत सुरु भएको छैन। निर्वाचनमा उम्मेदवार छनोटका लागि गठन गर्नुपर्ने संसदीय समिति पनि गठन भएको छैन। संसदीय समिति गठनबिनै स्थानीय तह निर्वाचनमा महानगरपालिकाहरूको उम्मेदवार छनोट गरियो। कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र प्रतिनिधिसभा निर्वाचन तयारीमा सरकार छ।

कांग्रेस सभापति देउवाको नेतृत्वमा सरकार छ। विधानको व्यवस्थाअनुसार कांग्रेसले उम्मेदवार टुंगो लगाउन संसदीय समिति गठन गर्नुपर्छ। तर अहिलेसम्म उक्त संरचना निर्माणमा सभापति देउवासहित संथापन पक्षले मात्र होइन, विधि र विधानको वकालत गर्दै आएको इतर पक्षले पनि चासो देखाएको छैन। स्थानीय तह निर्वाचनअघि सभापति देउवाले कार्यसम्पादन समिति गठन गरेका छन्। कार्यसम्पादन समितिमा अझै १० जना थप गर्न बाँकी छ।

कांग्रेस केन्द्रीय सदस्य गोविन्द पोखरेलले सभापति देउवाले विधानअनुसार पार्टी सञ्चालनमा ध्यान नदिएको आरोप लगाए। केन्द्रीय समितिमा झण्डै ८५ प्रतिशत देउवानिकट रहेकाले उनले चाहे काम गर्न कुनै समस्या नरहेको बताउँदै पोखरेलले थपे, ‘पहिला जस्तो पदाधिकारी मिलाउनुपर्ने अवस्था पनि छैन तर संगठन सञ्चालनमा बेवास्ता देखियो।’ पार्टी संगठनभन्दा सत्ता गठबन्धन टिकाउने र जोगाउने गृहकार्यमै नेतृत्वले धेरै समय खर्च गरेको उनको बुझाइ छ। ‘जसोतसो गठबन्धन टिकाउने र चुनाव जित्ने कुरा मात्र प्रधान हुन पुग्यो,’ पोखरेलले भने, ‘पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गरौं, संगठन मजबुत बनाऔं भन्ने चिन्ता कम देखियो।’ मुलुकमा देखिएका समस्या समाधान गर्न र युवालाई कांग्रेसमा आकर्षित गर्न विधि र विधानअनुसार पार्टी चल्छ भन्न भरोसा दिलाउने काम गर्न नेतृत्व चुकेको बताउँदै उनले थपे, ‘जुन कांग्रेसका लागि शुभसंकेत होइन।’

तर अर्का केन्द्रीय सदस्य श्यामकुमार घिमिरे पार्टीको १४औं महाधिवेशनलगत्तै सबैको ध्यान स्थानीय तहको निर्वाचनमा केन्द्रित हुन पुग्दा आन्तरिक संरचनालाई पूर्णता दिन नसकिएको बताउँछन्। ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ सहितका अभियान लिएर कांग्रेस स्थानीय तह निर्वाचनअघि जनता माझ गएको जनाउँदै घिमिरेले भने, ‘केही नै भएन भन्ने होइन, निर्वाचनमा सबैको ध्यान केन्द्रित हुँदा आन्तरिक संरचनालाई पूर्णता दिन नसकिएको हो।’

१४औं महाधिवेशनले तल्लो तहसम्म देखिएको गुटगत विवादलाई मेटाउँदै कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर फागुन २९ गतेबाट एक महिनासम्म ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान सञ्चालन गरेको थियो। तर उक्त अभियान जिल्ला सदरमुकाममै सीमित हुन पुगेको थियो। पार्टीभित्रको आन्तरिक सन्तुलन र भागबन्डा मिलाएर जानुपर्ने बाध्यताले पनि विधानको व्यवस्था अनुसार सबै संरचना गठन हुन नसकेको बताउँदै केन्द्रीय सदस्य घिमिरेले भने, ‘सबैलाई मिलाएर जाने हाम्रो परम्पराले विधानको व्यवस्था प्रभावित हुने गरेको छ।’ स्थानीय तह निर्वाचनले गर्दा पार्टी विधानको व्यवस्थाअनुसारका संरचना गठनमा ढिलाइ भएको स्विकार्दै कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले भनिन्, ‘पार्टीका सबै संरचनाले अब छिट्टै पूर्णता पाउँछन्।’  

२०७४ सालको तुलनामा अहिले भएको स्थानीय तह निर्वाचनमा कांग्रेसको अवस्था सुधार भए पनि पार्टीका सबै संरचना चुनावमा परिचालन हुन नसकेको प्रतिवेदन केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वको अनुगमन समितिले दिएको छ। पार्टीभित्रको गुटबन्दीले १ सय २० भन्दा बढी स्थानीय तहमा कांग्रेस उम्मेदवार पराजित भएको प्रतिवेदनमा छ।  

पार्टीका सबै भ्रातृ तथा शुभेच्छुक संगठनको आवधिक महाधिवेशन गराउन पनि कांग्रेसले चासो दिएको छैन। नेपाल विद्यार्थी संघको पृष्ठभूमिबाटै पार्टी राजनीतिमा उदाएका नेताहरू नेतृत्वमा पुगे पनि अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठन नेतृत्वविहीन छन्। चैत ९ गते नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको अध्यक्ष तोके पनि फागुन ३ गते बसेको कार्यसम्पादन समितिले विघटन गरेका अन्य आठ भ्रातृ संगठनको नेतृत्व कांग्रेसले अहिलेसम्म तोक्न सकेको छैन।

आफूनिकटलाई नेतृत्वमा पुर्‍याउने संस्थापन र इतर पक्षका नेताहरूको हानाथापले नेपाल महिला संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघ अहिले केन्द्रीय नेतृत्वविहीन छन्। त्यति मात्र होइन, शुभेच्छुक संगठनहरूको अवस्था पनि भ्रातृ संगठनको भन्दा कम छैन।

प्रकाशित: २९ जेष्ठ २०७९ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App