८ वैशाख २०८१ शनिबार
राजनीति

अन्योलमा बुढीगंगा नगरपालिकाः न निर्वाचनको मिति घोषणा, न मतगणना गर्ने आँट

बुढीगंगा नगरपालिकामा चुनावी अन्योलता छाएको छ। वैशाख ३० गते सम्पन्न निर्वाचन रद्द गर्न निर्वाचन आयोगको विवादित निर्णयसँगै सिंगो पालिकामा चुनावी अन्योलता छाएको हो। मतदान गरिएका मतपेटिका प्रहरीको सुरक्षा घेरामा भएपनि गणना हुने कि, चुनाव भन्नेमा अन्योल देखिएको छ।

निर्वाचन आयोगले बुढीगंगा नगरपालिकामा पुनः मतदानको निर्णय गरेको छ। पाँच जना आयुक्त मध्ये तीन जनाको बहुमत संख्याको आधारमा गरिएको निर्णय आयोगभित्रै विवादित बनेको छ। ७५३ मध्ये ७५२ पालिकामा निर्वाचन परिणाम आइसकेको छ। तर बुढीगंगा नगरपालिकामा अनिश्चित बनेको अवस्था छ।  

नेकपा एमाले र एमालेका उम्मेदवारले विधि प्रक्रिया र पद्धती पूरा गरेर सम्पन्न निर्वाचनलाई रद्द गर्न नमिल्ने र मतगणना हुनै पर्ने अडानमा छन्। नेपाली काँग्रेस र काँग्रेसका उम्मेदवारले धाँधली भएको मतदानलाई स्वीकार्न नसकिने दाबी गरिरहेका छन्।

निर्वाचन आयोगले स्थलगत अध्ययनका लागि पठाएको आयुक्त सगुन समशेर जबराको टोलीको प्रतिवेदन विपरित निर्णय गरेको छ। टोलीले प्रक्रिया पूरा भएको निर्वाचन रद्द गर्न नपाइने र गणना हुनु पर्ने सिफारिस गरेको भएपनि निर्णय जबरजस्ती सरकारको दबाबमा गर्न लगाइएको आरोप एमालेको छ।

नेकपा एमालेका उम्मेदवारले गणनाको मागसहित उच्च अदालत दिपायल र सर्वोच्च अदालत काठमाडौंमा उजुरी हालेका छन्। अदालतले कुनै आदेश जारी गरेको छैन। निर्वाचन गर्ने निर्णय गरेको आयोगले पनि मिति तोक्ने हिम्मत गरेको छैन। नेकपा एमालेले अदालतको आदेश कुरेपनि गणनाको माग गरिरहेको छ।

आफन्त जिताउन राज्यको सम्मानित पद दुरुपयोग गरेर गर्न लगाइएको निर्णय स्वीकार्न नसकिने अडान राख्दै आएका छन्। सरकारका महान्यायाधिवक्ता खम्म खातीले आफ्नै सहोदर दाई रंगबहादुर खाती जिताउन सत्ताको शक्ति प्रयोग गरेको आरोप लागेको छ। सगुन समशेर जबराको प्रतिवेदनमा समेत खातीकै निर्देशनमा प्रहरी प्रशासनलाई प्रभावमा पार्ने काम गरेको विषय उल्लेख छ।

निर्वाचन गर्न आदेश जारी गरेको आयोगले मिति तोक्ने विषय स्थानीय राजनीतिक दलबीचकै सहमतिमा तोक्नु पर्ने अडान निर्देशन दिने गरेको छ। तर बाजुरामा मुख्य निर्वाचन अधिकारीसहित निकाय र दलबीचका बैठकहरु निष्कर्षविहीन सकिने गरेका छन्।  

व्यक्ति जिताउनका लागि गरिएको विधि विरोधी कार्य र सत्ता दुरुपयोगको धम्कीका विरुद्ध एमाले सतशाल झै उभिने र सर्वोच्चले निर्णय नदिएसम्म पुनः मतदानका बारेमा एमालेले सोच्न समेत नसक्ने एमाले सचिव भरत थापाको भनाई छ। काँग्रेसले चुनावको मिति तोक्नु पर्ने माग गरिरहेको छ।

निर्वाचन आयोगले पनि जेष्ठ महिनाभित्रै निर्वाचनको मिति तोकेर निर्वाचन सम्पन्न गर्न ताकेता गरेको श्रोतको दाबी छ। तर दलहरुबीचको आपसी सहमति नभएसम्म नहुने अवस्था देखिएको छ। हालसम्म २ वटा बैठक निष्कर्षविहीन सकिएका छन् भने एक बैठकमा एमाले सहभागी नै नभएपछि बस्दै नबसी टुंगिएको छ।  

शुक्रबार मार्तडीमा बसेको बैठक पनि मंगलबार फेरि बस्ने गरी टुंगिएको प्रमुख जिल्ला अधिकारी प्रकाश राज अधिकारीले बताएका छन्। बाजुरामा चुनावकै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरु फेरिएका छन्।

बुढीगंगाका १० वटा वडा मध्ये ६ वटामा विवाद छ। १, ६, ८ र १० मा निर्वाचन शान्तिपूर्वक भएकोमा दुबै पक्ष सहमत छन्। बाँकी २, ३, ५ र ९ मा एमाले र ४ र ७ मा काँग्रेसले कब्जा गरेर धाँधलीका साथ चुनाव गरिएको दुबै दलले एक अर्कालाई आरोप प्रत्यारोप लगाइरहेका छन्। चुनावमा नेकपा एमालेबाट रामबहादुर बाँनीया र माया कुँवर, नेपाली काँग्रेसबाट रंगबहादुर खाती र रिता शाही उम्मेदवार छन्।  

उसोत बुढीगंगा नगरपालिका चुनावी चर्चामा मात्र छैन। अन्योलता र असहमतामा पनि छ। स्थानीय तहका जनप्रतिनिधिविहीन अवस्थामा बुढीगंगा नगरपालिका छ। बुढीगंगाले आफ्नो पालिकामा जनप्रतिनिधि निर्वाचित नगर्दा विकास निर्माणका काम समेत रोकिएका छन्। स्थानीयलाई सेवा सुविधा लिन समस्या छ।

प्रकाशित: २७ जेष्ठ २०७९ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App