७ वैशाख २०८१ शुक्रबार
राजनीति

वडाध्यक्षहरुले बहिष्कार गरेपछि कार्यपालिका बैठक स्थगित

खोला उत्खनन गर्न नहुने भन्दै बिहीबार धरान उपमहानगरपालिकाअघि भएको प्रदर्शन। तस्बिरः रोहित राई

मेयर हर्कराजन राई (साम्पाङ) का समर्थकहरुले धरान उपमहागनरपालिकाको मेनगेटअघि प्रदर्शन गरेपछि वडाध्यक्षहरुले कार्यपालिका बैठक बहिष्कार गरेका छन्।

आफूहरुलाई लक्षित गरेर प्लेकार्डसहित विरोध प्रदर्शन भएको भन्दै वडाध्यक्षहरु नआएपछि बिहीबार कार्यपािलका बैठक बस्न नसकी स्थगित भएको छ। जेठ २२ गते बसेको पहिलो बैठकले बिहीबार दिउँसो २ बजे बस्ने गरि बैठक स्थगित भएको थियो। बिहीबार बैठक सुरु हुनुअघि करिब साढे १ बजेदेखि मेयर साम्पाङको समर्थनमा प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन भएको थियो। मेयर साम्पाङको निर्देशनमा उनको समर्थकहरुले आफूहरुविरुद्ध प्रदर्शन गरेको भन्दै वडाध्यक्षहरु असन्तुष्ट छन्।

मेयर साम्पाङको खोला उत्खनन गर्न ठेक्का लगाउन नहुने एजेण्डाप्रति समर्थन जनाउँदै प्रदर्शन भएको थियो। साथै, वडाध्यक्षहरुले मेयर साम्पाङको एजेण्डा अस्वीकृत गर्दे खोला ठेक्का लगाउने पक्षमा उभिएको भन्दै प्रदर्शनमा आएकाहरुले आलोचनासमेत गरेका थिए। उनीहरुले वडाध्यक्षहरुलाई लक्षित गरेर प्लेकार्डसमेत बोकेका थिए।

अघिल्लो कार्यपालिका बैठकमा जथाभावीरुपमा दोहोन भएको भन्दै खोला उत्खनन गर्न ठेक्का नलगाउने एजेण्डा प्रस्तुत गरेका थिए। वडाध्यक्षहरुको विमतिको कारण उनको एजेण्डा पारित हुन सकेन र अध्ययन गर्न मेयरकै संयोजकत्वमा एक कार्यदल बनाउने निर्णय भएको थियो।  

वडाध्यक्षहरुले विकास निर्माणको लागि नदीजन्य पदार्थ आवश्यक पर्ने साथै, खोला च्यानलिङ नगर्दा बस्तीमा बाढी बसेर क्षति हुने भएकोले अध्ययन गरेर मात्र खोला ठेक्का लगाउने कि नलगाउने निर्णय गर्नुपर्ने अडान लिएका थिए। मिडियालाई लाइभ गर्न अनुमति दिइएको बैठकमा वडाध्यक्षहरुको अभिव्यक्ति सार्वजनिक भएपछि मेयर साम्पाङका समर्थकहरुले चर्को आलोचना गर्दै भिडियो काँटछाट गरेर भाइरल बनाइरहेका छन्।

बिहीबार प्रदर्शनकै बीच पनि केही वडाध्यक्षहरु उपमहानगरपालिकामा प्रवेश गरेका थिए। संसदीय दलका नेताहरु नआएपछि उनीहरु पनि फर्किएका थिए। बैठक बस्न नसकेको बिषयमा मेयर साम्पाङले वडाध्यक्षहरु नआउनुको कारण आफूलाई थाह नभएको बताए। साथै, उनले विरोध प्रदर्शन पनि आफूले गर्न नलगाएको जिकिर गरे। ‘यो सार्वजनिक ठाउँ हो, यहाँको बारेमा विरोध पनि हुन्छ, समर्थनमा पनि प्रदर्शन हुन्छ। तर आजको बारेमा मलाई थाह भएन,’ मेयर राईले भने,‘वडाध्यक्षहरु पनि बैठकमा किन आउनु भएन भनेर थाह भएन। उहाँहरुलाई नै सोध्नुपर्छ।’  

मेयर राईले बैठक राख्नको लागि आफ्नो तर्फबाट समन्वय र पहलकदमी भइरहेको पनि बताए। उनले नियमअनुसार ७२ घण्टा भन्दा अघि नै कार्यपालिका बैठकबारे सदस्यहरुलाई जानकारी गराउनुपर्ने भएकोले सोही अनुसार बिहीबार नै पत्राचार गर्ने पनि बताए। ‘मिलेर नै काम गर्नुपर्छ, म उहाँहरुलाई पनि आग्रह गर्छु, सबैले जिम्मेवार हुनुपर्छ,’उनले भने,‘मबाट हुनुपर्ने समन्वय, पहलकदमी म लिन्छुँ।’

एमाले संसदीय दलका नेता तथा वडा नं १५ का अध्यक्ष नरेश इवारमले बैठकमा आउँदै गर्दा उपमहानगरपालिकाको मेनगेटमा वडाध्यक्षहरुको विरुद्धमा प्लेकार्डसहित जुलुस देखेपछि फर्किनु बाध्य भएको बताए। त्यसबारेमा मेयर, उपमेयरलाई पनि सम्पर्क गर्दा कुनै जवाफ नआएकोले वडा कार्यालयमा नै फर्किएको पनि उनको भनाई थियो। ‘हामी सबै बैठकको लागि जादै थियौं। गेटमा प्ले कार्ड बोकेर जुलुस बसेको देखेपछि के हो, के हो भयो। मेयरलाई फोन गर्दा सम्पर्क भएन। उपमेयरलाई सम्पर्क गर्दा म बुझ्छुँ भन्नु भयो,’ इवारमले भने, ‘साढे ३ बजेसम्म पर्खियौ, कतैबाट खबर नभएपछि वडातिर गयौं।’

स्थगित भएको बैठक २९ गते दिउँसो २ बजे बोलाउने निर्णय भएको जानकारी आएको पनि उनले बताए।

प्रकाशित: २६ जेष्ठ २०७९ १४:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App