coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धन इमानदार नभएको नेकपा एसको गुनासो

सत्ता साझेदार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आबद्ध दलहरूले सोचेजस्तो सहयोग नगरेको निष्कर्ष निकाल्दै असन्तुष्टि जनाएको छ।

स्थानीय तहको निर्वाचनको समीक्षा गर्न शनिबार बसेको पार्टी सचिवालय बैठकमा नेताहरूले गठबन्धनप्रति आफ्ना नेताकार्यकर्ता इमानदार भए पनि गठबन्धनका अन्य दलहरू इमानदार नहुँदा सोचेजस्तो परिणाम नआएको बताएका छन्। बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सम्मानित नेता झलनाथ खनालले गठबन्धनमा खास इमानदारी नदेखिएको बताए।

उनले बैठकमा पनि गठबन्धन फलदायी नभएको र नेकपा एसले धोका पाएको बताएका थिए। उनले गठबन्धनका अन्य सहयात्री इमानदार नभएको देखिएकाले बृहत् समीक्षाको आवश्यकता औंल्याएका थिए। खनालले गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादीले नेकपा एसलाई मतदाता मात्रै बनाएको बताउँदै ती दल मिलेर धोका दिएको उल्लेख गरेका थिए।

‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै सन्तुष्ट हुने आधार देखिन्न। गठबन्धनभित्र सम्मानजनक ढंगले तालमेल हुँदै भएन। त्यो नभएको हुनाले त्यसबारे बृहत् समीक्षा गर्नुपर्ने अवस्था आएको छ। त्यसबारे हामीले पाँच दलभित्र पनि कुरा राखेका छौं। हामी आफैं पनि समीक्षा गर्दैछौं,’ खनालले भने। उनले बैठकमा वामपन्थी गठबन्धनको आवश्यकताबारे पनि धारणा राखे।

वामपन्थी गठबन्धनका लागि मुख्य दल नै सकारात्मक नभएको स्पष्ट पार्दै उनले त्यसका लागि सबैको महत्त्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिए। उनले एमालेको नाम नलिई गठबन्धनमा मुख्य दल सकारात्मक भए वाम गठबन्धन तत्कालै सम्भव रहेको समेत बताएका थिए। सचिवालय बैठकमा अन्य नेताहरूले पनि आफूहरूले इमानदारीपूर्वक मत दिँदा पनि कांग्रेस र माओवादीबाट असहयोग भएको बताएका थिए।

त्यति मात्र होइन, कांग्रेस र माओवादी मिलेर नेकपा एसलाई पाखा लगाउन खोजेको आरोपसमेत उनीहरूले लगाएका थिए। उनीहरूले कांग्रेस र माओवादी मिल्न सक्ने स्थानमा नेकपा एसलाई उम्मेदवारी दिन समेत बन्देज लगाएको आरोप लगाएका थिए। ‘धेरै स्थानमा कांग्रेस र माओवादी मिलेर हामीलाई प्रमुख, उपप्रमुख र वडाध्यक्षमा उम्मेदवारी दिनसमेत बन्देज गरेको पाइयो।

समग्रमा यो गठबन्धन कांग्रेस र माओवादीका लागि मात्रै फलदायी रह्यो,’ बैठकमा सहभागी एक नेताले भने। उनका अनुसार केही नेताले गठबन्धन सफल भएको पनि तर्क गरेका थिए। तर त्यो आवाज नगण्य मात्रमा आएको थियो। गठबन्धनको विषयमा धेरै छलफल भएपछि नेकपा एसको बैठकले सात वटै प्रदेशबाट सूचना संकलनका लागि पार्टीका शीर्ष नेताहरूलाई खटाउने निर्णय गरेको छ।

सचिवालयको बैठकले स्थानीय तह निर्वाचनका लागि गम्भीर ढंगले समीक्षा गर्न सही सूचना आवश्यक रहेको भन्दै विरोधलाई सामान्य पार्न खोजेको छ। सूचना संकलनका लागि सबै प्रदेशमा एकएक जना सचिवालय सदस्य बैठकले खटाएको छ। ‘यो गठबन्धनलाई निरन्तरता दिने गरी प्रस्ताव आएको छ,’ एक नेताले भने, ‘गठबन्धनको ज्यादै विरोध भएपछि सूचना संकलन गर्ने भन्दै सातवटै प्रदेशमा नेता खटाउने निर्णय भएको छ।’

बैठकले पाँच दिनभित्र स्थानीय तह निर्वाचनको सम्पूर्ण सूचना संकलन गर्न प्रदेश १ मा जयन्ती राई, मधेस प्रदेशमा रामचन्द्र झा, वाग्मतीमा गंगालाल तुलाधर, गण्डकीमा प्रमेश हमाल, लुम्बिनीमा विजय पौडेल, कर्णालीमा प्रकाश ज्वाला र सुदूरपश्चिममा वेदुराम भुसाललाई जिम्मेवारी दिएको छ। बैठकमा गठबन्धनभित्र पनि स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी र अन्य पार्टीको भूमिकाको विषयमा गम्भीर ढंगले छलफल गरिएको नेता खनालले बताए।

नेकपा एसका उपमहासचिव गंगालाल तुलाधारका अनुसार स्थानीय निर्वाचनको विषयमा समग्र छलफल बैठकमा भएको थियो। केही सूचनामा कमजोरी भयो कि भनेर यथार्थ सूचना संकलन गर्ने गरी नेताहरूलाई खटाइएको छ,’ तुलाधरले भने। उनका अनुसार निर्मम भएर समीक्षा गर्नुपर्ने भएकाले पनि सूचना संकलनका लागि नेताहरूलाई खटाइएको हो।

'मनवचनले हामी इमानदार हुँदाहुँदै कतिपय स्थानमा धोका भएको हो कि भन्ने महसुस भएको छ। त्यसकारण निर्मम समीक्षा गर्नुपर्ने स्थिति देखिएको हो,’ उनले भने। नेताहरू मार्फत संकलित सूचनालाई सचिवालयबाहेक अन्य कमिटीमा पनि छलफल गर्ने र आगामी रणनीति तय गरिने उनको भनाइ छ। नेकपा एसले स्थानीय तहको निर्वाचनमा कांग्रेस र माओवादी मिलेर पाखा लगाएको आरोप यसअघिदेखि नै लगाउँदै आएको छ।

गत साता बसेको गठबन्धनको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल स्वंयले पनि स्थानीय तहको निर्वाचनमा असहयोग भएको र आगामी निर्वाचनमा त्यस्तो अवस्था नदोहोरियोस् भन्दै गठबन्धनप्रति कांग्रेस र माओवादी गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए। कांग्रेस र माओवादीले नेकपा एससँग धेरै संख्यामा मतदाता र उम्मेदवार उठाउने कार्यकर्ता पनि नभएको निष्कर्ष निकालेर तालमेलको खास अर्थ नभएको भन्दै सो पार्टीलाई धेरै स्थानमा पाखा लगाएका थिए।

प्रकाशित: २२ जेष्ठ २०७९ ०२:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App