coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

प्रदेश १ को बजेट अधिवेशन सुरू: पेचिलो बन्दै प्रदेशको नामाकरण

प्रदेश १ को नामाकरणको विषय पेचिलो बन्दै गएको छ। सोमबारको प्रदेश सभा वैठकमा दलका नेताहरूले प्रदेशको नामाकरणको विषयमा सबै जसो दलका नेताहरूले कुरा उठाए पनि नामाकरणको प्रस्ताव संसदमा कसले लाने भन्ने विषयमा दलहरूनै अन्यौलमा रहेको देखिएको छ।  

प्रदेश १ का मुख्य मन्त्री राजेन्द्र राईले प्रदेशको नामाकरणको प्रस्ताव प्रदेश सरकारले संसदमा नलैजाने घुमाउरोपाराले  बताए। उनले प्रदेशको ठूलो दल नेकपा एमाले भएकाले एमालेलाई नामाकरणको  नेतृत्व लिन आग्रह गरे। राईले प्रदेशको नामाकरणको विषयमा स्वास्थ्य मन्त्रीको संयोजकत्वमा समिति गठन गरेको भए पनि उक्त समितिले नामाकरणको विषयमा उल्लेख्य काम गर्न सकेको छैन। प्रदेश १ मा गठबन्धनको सरकार गठनसँगै मुख्यमन्त्री राजेन्द्र राईले यहि कार्यकालमा प्रदेशको नामाकरण टुंगो लगाउने दाबी गर्दै आएका थिए। तर,मुख्यमन्त्री भएपछि उनले प्रदेशको नामाकरणको विषयलाई ठोस पहल गर्न सकिरहेका छैनन्।

सोमबारको बैठकमा राईले दुई तिहाइको सरकार हुँदा नामाकरण नगरेको एमालेले अहिले पनि दायित्व लिन नचाहेको आरोप लगाए। उनले नामकै कारण प्रदेश सरकार बदनाम भएको उनले बताए। ‘नामकै कारण सरकारको बदनाम भयो,’ राईले भने, ‘नामाकरणकै कारण अहिले सबैको निधारमा कालोटिका लागेको छ।’ मुख्यमन्त्री राईले जसरी पनि नाम टुंगोलगाउनु पर्ने भएकाले सहमति नभए प्रक्रियाबाट भएपनि टुंगो लगाउन संसदहरूलाई आग्रह गरे।

९३ सदस्यीय प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमाले सबैभन्दा ठूलो दलका रुपमा रहेको छ। प्रदेश १ मा ५ दलीय गठबन्धनको सरकार भए पनि प्रदेशको नामाकरणका लागि प्रतिपक्षी दल नेकपा एमालेको सहयोग विना संभव छैन। प्रदेशको नामाकरणका लागि साधारण बहुमतले नहुने भएकाले पनि सरकारलाई प्रदेशको नाम राख्न सहज देखिंदैन। यहिकारण मुख्यमन्त्री राईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नामाकरणको नेतृत्व लिन सोमबारको संसद वैठकमा पटक–पटक आग्रह गरे। संसदको कार्यकाल सकिंदै जाँदा सत्ता पक्षका सांसदहरू पनि नामाकरणको विषय चाँडो टुंगो लगाउन सरकारलाई आग्रह गर्दै आएका छन्। सोमबारको प्रदेशसभा वैठकमा सम्बोधन गर्ने सबैजसो दलका नेताहरूले नामाकरणको विषय संसदमा पेश गरेर छलफल गरेर चाँडो टुंगो लगाउनुपर्ने धारणा राखे।  

यता प्रतिपक्षी दल नेकपा एमालेका संसदीय दलका नेता भीम आचार्यले नामाकरणका लागि प्रदेश सरकारले स्वाङ्मात्रै पारीरहेको बताए। उनले चर्का कुरा गर्ने, नामका विषयमा पहल नगर्ने खाली स्वाङ्मात्रै पारेर सरकारले जनतालाई अलमल्याइरहेको आरोप लगाए। उनले भने, ‘चर्का कुरा गर्ने, पहल नगर्ने, स्वाङमात्रै पार्ने सरकारको प्रबृत्तीले प्रदेशको नामाकरण हुन सक्दैन।’

आचार्यले  प्रदेशको नाम राख्न ३ जना संसद भएको जनतासमाजवादी पर्टीका नेता जयराम यादवलाई जिम्मेवारी दिएकै वेला यो सरकारले नामाकरण गर्न सक्दैन भन्ने आफूलाई लागको स्पष्ट पारे। उनले यो सरकारका गलत क्रियाकलाप र प्रवृत्तिका कारण प्रदेश सरकार किन चाहियो भन्ने प्रश्न उठ्न थालेको बताए। प्रदेश सरकारको अनुभुति गर्न जनताले नपाएकै कारण दुई तहको सरकारमात्रै आबश्यक भएको आवाज उठ्न थालेको बताए।

आचार्यले चुनावको मुखमा निती कार्याक्रमका नाममा झुम्राका पुतली नचाउने कार्यक्रम नल्याउन प्रदेश सरकारलाई आग्रह गरे। उनले सुरु गरिएका योजनाहरू पूरा गर्ने र निरन्तरता दिने गरी बजेट ल्याउन प्रदेशसकारलाई सुझाव दिए।

प्रकाशित: १६ जेष्ठ २०७९ १४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App