८ वैशाख २०८१ शनिबार
राजनीति

‘जनपक्षीय’ झल्को ‘स्वतन्त्र’मा

पञ्चायतकालमा जनपक्षीय उम्मेदवार पद्मरत्न तुलाधरलाई भोट हालेका काठमाडौँ नाङ्लेभारेका ६७ वर्षीय कृष्णप्रसाद ढकाल अहिलेको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको जितमा खुसी हँुदै छन्। जीवनको उर्वर समय निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा बिताएका ढकाललाई लोकतन्त्रका यी निर्दलीय उम्मेदवार किन प्यारो लाग्यो त?

‘दलहरूको उम्मेदवार चयन र मनोमानीले लोकतन्त्र नै ‘निर्दल’ जस्तो लाग्न थाल्यो,’ उनले भने, ‘त्यसैले स्वतन्त्र उम्मेदवारको विजयमा जनपक्षीय उम्मेदवारको झल्को खोज्दै छौँ।’

२०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यको निर्वाचनमा स्वतन्त्र बामपन्थी उम्मेदवारका रूपमा सूर्य चिह्न लिएर निर्वाचनमा होमिएका पद्मरत्न तुलाधरलाई देख्दै नदेखेका ढकालले उनको गाउँबाट छसय मत जनपक्षीयको पक्षमा खसेको सुनाए।

‘क्यासेटमा तुलाधरको भाषण सुन्न गाउँमा भिड लाग्थ्यो,’ उनले भने, ‘देशमा को जित्दै छ भन्दा पनि जनपक्षीय उम्मेदवारले कति मत ल्याए भन्ने चासो बढी हुन्थ्यो।’

२०४३ सालको निर्वाचनमा तुलाधारसँगै चितवनका जागृतप्रसाद भेटवाल, झापाका द्रोणाचार्य क्षेत्री, इलामका नोबेलकेमी राई र कास्कीका सोमनाथ अधिकारी ‘प्यासी’लगायत राष्ट्रिय पञ्चायतमा विजयी भएका थिए। उनीहरूले राष्ट्रिय पञ्चायतमै रहेर पञ्चायत विरोधी अभियान सञ्चालन गरेका थिए।

चितवन भरतपुरका ७० वर्षीय रामप्रसाद घिमिरे पनि यतिबेला स्वतन्त्र उम्मेदवारको जितले खुसी ल्याएको सुनाउँछन्। आफ्नो क्षेत्रमा स्वतन्त्र भएर उठेकाले सोचेजस्तो मत ल्याउन नसके पनि परम्परागत नेतृत्व विरुद्ध कतिपय ठाउँमा एकप्रकारको विद्रोहजस्तै भएको उनको बुझाइ छ। ‘उतिबेला भेटवाललाई भोट हालेका हौँ,’ नागरिककर्मीसँगको टेलिफोनवार्तामा उनले भने, ‘अहिले स्वतन्त्रको खोजीमा छौँ।’

आफ्नो स्थानमा स्वतन्त्र सफल नभए पनि धरानका हर्क राई, जनकपुरका मनोज साह, धनगढीका गोपाल हमाल र काठमाडौँका बालेन साहहरूमा पञ्चायत जितेका जनपक्षीय उम्मेदवारको झल्को देखिएको उनले सुनाए।

तीन दशक लामो पञ्चायती व्यवस्थाका विरुद्ध उठेका जनपक्षीयजस्तै यतिबेला कतिपय स्वतन्त्रले तीन दशकदेखि ‘एकछत्र’ राज गर्दै आएका ठूला भनिएका लोकतन्त्रवादी दललाई पराजित गरेको उनको बुझाइ छ।

उनले भनेजस्तै धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार रहेका गोपाल हमाल २६ हजार ८ सय ६५ मत ल्याई विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार नृपबहादुर वडलाई १२ हजार ४८ मतान्तरले पराजित गरे।

त्यस्तै हर्क राई २० हजार ८ सय २१ मत प्राप्त गर्दै धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवारका रूपमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपालीका कांग्रेसका किशोर राईले १६ हजार ५९ मत प्राप्त गरेका छन्।

राई लामो समयदेखि धरान उपमहानगरपालिकाभित्र रहेर विभिन्न स्थानीय तथा राष्ट्रिय मुद्दाहरूमा अभियन्ता बनेर आन्दोलन गरिरहेका थिए।

परम्परागत दलबाट पर रहेर स्वतन्त्र रूपमा उठेका काठमाडाँै महानगरका बालेन शाहले नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई भारी अन्तरले पराजित गरे। लौरो बोेकका यी युवा अहिले तराईदेखि पहाड सबैतिर प्रिय बन्दै छन्। अझ खासगरी सामाजिक सञ्जालमा धरानका राई र काठमाडौँका शाहको त निकै चर्चा छ। उनीहरूले बोलेका प्रत्येक कुरा भाइरल बन्न थालेका छन्। यस पटकको चुनावमा मेयरबाहेक पालिकका अन्य थुपै्र पदमा पनि स्वतन्त्रहरूले विजय हासिल गरेका छन्।

‘लामो समयदेखि यथास्थितिमा रहेको समाजमा केही परिवर्तन होला जस्तो छ,’ घिमिरेले थपे, ‘यस्तै आशाको सञ्चार हामीलाई पञ्चायतकालमा जनपक्षीयले जित्दा हुने गथ्र्यो।’ 

ढकाल र घिमिरेका जस्तै बुझाइ थुप्रैको रहेको छ। लोकतान्त्रिक दलहरू साचो अर्थमा लोकतन्त्रवादी हुन नसक्दा मुलुकका कुनाकुनाबाट थुप्रैले निर्दलीय उम्मेदवारमा ‘स्वतन्त्रता’ खोज्न थालेका छन्।

समाज परिवर्तन हुँदै जानु तर नेतृत्व परिवर्तन नहुँदा साँचो अर्थमा लोकतन्त्रको अनुभूत गर्न नसकिएको राजनीतिशास्त्री चन्द्रदेव भट्ट बुझाइ छ।

‘दलहरूले अझै नेतृत्वमा मात्र ध्यान दिए तर नीतिमा दिएनन्,’ राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘त्यसैले लोकतन्त्रमा पनि लोकतन्त्र अनुभूत गर्न सकिएन।’ लोकतन्त्रमा लोकतन्त्र अनुभूत गर्न नसकिनुको नतिजा पक्कै पनि सुखद् हुन सक्दैन। जनता निराश भएरै होला, सूर्यलाई मत खसाल्ने कृष्णप्रसाद ढकालको नगरपालिका शङ्खरापुरमा राप्रपाको हलोले यसपटक मेयर पद जितेको छ। ढकालले हलोले जित्नु र सूर्यले हार्नुमा केही सरोकार नरहेको सुनाए।

उनलाई फेरि पनि एउटै जिज्ञासा छ– ‘उतिबेलाका जनपक्षीय विजेताले त निर्दलविरुद्ध लडे, अहिलेका स्वतन्त्र विजेताले केका विरुद्ध लड्लान्?’

प्रकाशित: १४ जेष्ठ २०७९ ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App