coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महानगरवासीका ‘बाहुबली’

को हुन् बालेन्द्र?

काठमाडाैं महानगरपालिका–६, बौद्धका राजकुमार बराइलीलाई एसएस राजामौली निर्मित हिन्दी चलचित्र ‘बाहुबली’ को दोस्रो भागको प्रतीक्षा अति नै गरेजस्तै लाग्थ्यो। तर उनलाई त्योभन्दा बढी अधीर बनायो काठमाडौं महानगरपालिकाको चुनावी नतिजाले। ‘यो कुनै सिनेमा थिएन तर प्रत्येक पल युद्ध जितेजस्तै भइरहेको थियो,’ बसमा अंकित बाहुबलीको चित्रतर्फ मतदान गरेको बुढी औंलाको चिनो देखाउँदै बराइलीले भने, ‘यतिबेला बालेन्द्र मेरो सपना पुरा गर्ने बाहुबली बनेका छन्।’  

हिन्दी चलचित्र ‘बाहुबली’ मा आफ्नो पहिचान खोज्दै आएका अमरेन्द्र बाहुबलीले नयाँ साम्राज्य निर्माण गरेजस्तै पहिचानकै खोजीमा निस्केका बालेन्द्र साहले समानताको नयाँ महानगरपालिका रचना गर्ने उनको विश्वास छ। बराइली मात्र होइन, बहुमत महानगरवासीको विश्वासलाई साकार बनाउँदै स्वतन्त्र उम्मेदवार बालेन्द्र काठमाडौं महानगरको मेयरमा चुनिएका छन्। कुल खसेको १ लाख ९१ हजार १ सय २५ मतमध्ये ६१ हजार ७६७ मत ल्याएर उनी विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत प्राप्त गरिन्। त्यस्तै एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे। अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १३ हजार ७७० मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मतसहित निर्वाचित भएकी छन्।

चुनावअघिसम्म निकै कमजोर आकलन गरिएका बालेन्द्रले मतगणनामा अग्रता कायम गरिरहे। अन्य प्रतिस्पर्धीलाई भारी मतान्तरले पछाडि पारेर उनी अघि बढिरहे। नतिजा आउँदै गर्दा उनले २०७४ सालको स्थानीय निर्वाचनका दिन आफ्नो सामाजिक सञ्जालमा लेखेको स्टाटस पनि निकै चर्चित रह्यो। उनले लेखेका थिए, ‘मैले आज भोट गरिनँ, म उम्मेदवार थिइनँ, मैले सिभिल इन्जिनियरिङमा स्नातक गरें, म स्ट्रक्चरल इन्जिनियरिङको मास्टर्सको आधा बाटोमा छु। मलाई देश बनाउन आउँछ। म अर्कोपटक भोट गर्छु र आफैंलाई भोट दिन्छु। म मेरो देशको विकास गर्छु। मलाई अरू कसैको भर लाग्दैन।’

सबैभन्दा बढी विश्वास आफैंलाई गर्ने बालेन्द्रको चामत्कारिक उदयले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको छ। धेरैले उनको नामसँग ‘बाहुबली’ शब्द जोडेका छन्। कतिपयले उनलाई ‘नायक’ सिनेमाको नायकसँग तुलना गरेका छन्। ‘हार्दिक बधाई, सफल कार्यकालको शुभकामना बालेनजी, उपत्यकावासीको मात्रै नभएर सिंगो नेपालीको आशा अब तपाईंमाथि छ,’ सामाजिक सञ्जालमा धर्मनन्द देवकोटा लेख्छन्, ‘परिवर्तनको सुरूवात अब काठमाडौंबाट।’

एमाले नेता योगेश भट्टराईले बालेन्द्रको उदय दलप्रतिको पुरै वितृष्णा नभए पनि यो खतराको घन्टी भने भएको बताएका छन्। ‘जनताले पुरै दललाई नकार्दैछन् भन्ने होइन,’ एक टेलिभिजन अन्तर्वार्तामा उनले भने, ‘तर यसले दलहरूको कमजोरीलाई ढकढकाएको भने छ।’ स्वतन्त्र रूपमा उठेका बालेन्द्रलाई जवाफदेही बन्न मुस्किल हुने तर्क राख्दै राम्रो कामको पक्षमा भने एमालेका उपमेयरदेखि वडाध्यक्षसम्मले सघाउने भट्टराईले बताए।  

राजनीतिशास्त्री भने दलहरूलाई सशक्त र जवाफदेही बनाउनेतर्फ ध्यान जानुपर्ने बताउँछन्। ‘दलीय सोचभन्दा पनि माथि उठेर राम्रो काम गर्ने उम्मेदवारलाई चयन गर्दा आफ्नो ठाउँको परिवर्तन हुन्छ,’ राजनीतिशास्त्री चन्द्रदेव भट्ट भन्छन्, ‘यही क्रमबाट बिस्तारै समाज परिवर्तनको बाटोमा जानेछ।’ यसका लागि दलहरूले पनि समाजको हितमा लाग्ने योग्य उम्मेदवारको खोजी गर्नुपर्ने उनले बताए।

‘कोर’ क्षेत्रमा अल्झेको सप्ताह

मतगणनाको सुरुवाती दिनदेखि नै बालेन्द्रले दोब्बर मतसहित अग्रता कायम गरे पनि महानगरको पुरानो बस्तीबाट परम्परागत पार्टी नेपाली कांग्रेस र एमालेका उम्मेदवारलाई बढी मत आउने हल्ला चलिरह्यो।

यो हल्ला बालेन्द्र विजयको निकै नजिक पुग्दासम्म पनि चलिरह्यो। बालेन्द्रका समर्थक भने मतदानपछि उनी विजयी हुनेमा ढुक्क थिए। ‘नतिजा आउन बाँकी भए पनि उनले हाम्रो मन जितिसके,’ काठमाडौं–१४ कलंकीकी रितिमा तिमल्सिनाले केही दिनअघि नागरिकसँग भनेकी थिइन्, ‘हामी उनले साँच्चिकै चुनाव जितेको हेर्न आतुर छाैं।’ स्नातक तहमा अध्यनरत तिमल्सिनाले अन्य दलप्रति वितृष्णा बढेको समयमा बालेन्द्र आशाको किरण बनेर उदाएको सुनाइन्। उनले चाहेजस्तै भयो। अन्ततः पुरानो बस्तीबाट बोलन्द्रलाई मत आउँदैन भन्ने हल्ला बन्दाकोवीमा गुदी खोजेजस्तै अर्थहीन बन्यो। उनले प्राप्त गरेको मतले पनि यही देखाउँछ। महानगरका किनारी क्षेत्र ३२ नम्बर वडा (कोटेश्वर) बाट खसेको १२ हजार मतमध्ये ५५ सय २३ मत हासिल गरेर अग्रता लिएका उनले महानगरको ‘कोर’ बस्तीबाट पनि सम्मानजनक मत हासिल गरे।

काठमाडौंका कोरक्षेत्र मानिएका जनबहालबाट ७१७, मखनबाट ६०२, नरदेवीबाट ५२३, टेबहालबाट ६७९, महाबौद्धबाट ५५२, भीमसेनस्थानबाट ५१६ मत पाएका कारण उनको अग्रतासहितको विजय यात्रा कतै रोकिन पाएन। अझ कोर क्षेत्रबाट दलका उम्मेदवारलेभन्दा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले १० हजारभन्दा बढी मत पाएपछि बालेन्द्रको विजय यात्रा झनै सहज बन्न पुग्यो।  

‘बाहिरी क्षेत्रमा अन्य उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै अग्रता लिएका बालेन्द्रले कोरक्षेत्रमा पनि सम्मानजनक मत पाए,’ नरदेवीका मनीष कुलीले भने, ‘सिंगो महानगरका घर–घरबाट पाएको मत नै उनको विजयको आधार हो।’  

को हुन् बालेन्द्र?

बालेन्द्र साहको नामबाट चुनाव जितेका उनी संगीत जगतमा बालेनका नामले चिनिन्छन्। उनको पुख्र्याैली घर महोत्तरी जिल्लाको एकडारा–१ हो। उनका हजुरबुबा मुनिलालका चार छोरामध्ये एक रामनारायणका कान्छा छोरा बालेन्द्र हुन्। बालेन्द्रका पिता रामनारायण आयुर्वेद डाक्टर हुन्। उनी करिब चार दशकअघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रूपमा काम गर्न महोत्तरीबाट आएका थिए। सोही बेलादेखि साह परिवार यतै छ। बालेन्द्रकी पत्नी सविना जनस्वास्थ्य क्षेत्रमा काम गर्छिन्। उनका दाजु कुशल चार्टर्ड एकाउन्टेन्ट हुन् भने भाउजू बैंकमा काम गर्छिन्। उनकी बहिनी चित्रकार हुन्।

पुख्र्यौली घर मधेस भए पनि २०४७ सालमा काठमाडौंको गैरीगाउँमा जन्मिएका बालेन्द्र पेसाले इन्जिनियर हुन्। सानैदेखि संगीततर्फ झुकाव राख्ने उनी स्ट्रकचरल इन्जिनियर, ¥यापर, अभिनेता, संगीत निर्माता–निर्देशक, गीत लेखक, कवि इत्यादिको रूपमा परिचित छन्। उनले सार्वजनिक गरेको चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको कल्पना गरिएको छ। शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन्।

धन्यवाद र्‍याली

चुनाव जितेका अन्य दलले विजय जुलुस वा र्‍याली निकाल्दै गर्दा बालेन्द्रका समर्थकले भने धन्यवाद र्‍याली निकाल्ने घोषणा गरेका छन्। चुनावमा जित–हार मतगणनासँगै सकिएको बताउँदै उनीहरूले घोषणापत्रका प्रतिबद्धता व्यवहारमा लागु गर्न सकेका दिन विजय र्‍याली मनाउने बताएका छन्। ‘अहिले विजय जुलुस भनेर अरूलाई पराजित भन्ने संकेत गरिन्नँ,’ बालेन्द्रले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘जुन दिन बोलेका वाचा पूरा गर्न सक्छौं, त्यो दिन सबै मिलेर विजयोत्सव मनाइनेछ।’ बालेन्द्रले समर्थकलाई आ–आफ्नो ठाउँमा धन्यजाद ¥याली निकाल्न आग्रह गरेका छन्।

प्रकाशित: १३ जेष्ठ २०७९ ००:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App