७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्नः लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन?

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे/नरहेको सम्बन्धमा प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष ओलीले अमेरिकी विदेश सहायकमन्त्रीको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थी भएको गुम्बामा गएको भन्दै आपत्ती जनाए।

सरकारले विदेशी कुटनीतिज्ञ तथा मन्त्रीहरुको भ्रमणलाई कुटनीतिक मर्यादा र अन्तर्राष्ट्रिय मान्यता अनुकुल बनाउन नसकेको उनले बताए। उनले सरकारले छिमेक सम्बन्धका संवेदनशीलताहरुलाई बुझ्न नसकेको बताए। अध्यक्ष ओलीले नेपाल एक चिन नीतिमा रहे नरहेको सम्बन्धमा जवाफ दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे।

उनले सरकार नेपाली भूमि अरु कसैको विरुद्धमा प्रयोग नगर्ने नीतिमा अडिग भए नभएको पनि जवाफ दिनुपर्ने बताए। अध्यक्ष ओलीले नेपाल सरकारले इपिजीको प्रतिवेदन बुझेर जनतालाई प्रतिवेदनको बारेमा बताउनुपर्ने बताए। भारतीय प्रधानमन्त्रीले इपिजी प्रतिवेदन नबुझेपनि नेपालको प्रधानमन्त्रीले प्रतिवेदन बुझ्नुपर्ने उनको भनाइ छ।

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रममा बिआरआई परियोजनाको सम्बन्धमा चर्चा नगरेकोप्रति प्रश्न गरे। बिआरआईबाट प्राप्त हुने ऋण अथवा सहयोग सरकारले लिने कि नलिने स्पष्ट रुपमा भन्नुपर्ने बताए। अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भनेर सरकारले भन्न सक्नुपर्ने बताए। उनले प्रधानमन्त्री देउवालाई सो जमिन फिर्ता ल्याउन सक्ने कि नसक्ने स्पष्ट भाषामा जवाफ दिन आग्रह गरे।

उनले भने, ‘लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन? सरकार यति नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन? प्रधानमन्त्रीज्यूबाट जवाफ स्पष्ट भाषामा हामी चाहन्छौँ।’ उनले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई नेपाली नक्सामा समावेश गराइएको भएपनि वर्तमान सरकारले सो भूमि आफ्नो भन्न नसकेको बताए। 

प्रकाशित: १२ जेष्ठ २०७९ १२:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App