४ वैशाख २०८१ मंगलबार
राजनीति

रौतहटमा मधेसवादी खस्किँदा वामपन्थीलाई 'फलिफाप'

स्थानीय तहको चुनावको रौतहटमा अन्तिम नतिजा सार्वजनिक हुँदा मधेसवादी दललाई अकल्पनीय घाटा भएको छ भने वामपन्थी दलको फलिफाप भएको देखिएको छ।

वैसाख ३० मा स्थानीय तहको निर्वाचन हुनुभन्दा पहिले जिल्लामा दुई एमाले र एक माओवादी गरी तीन पालिकाको नेतृत्व गरिरहेको वामपन्थीहरु अहिले आठ पालिका प्रमुख तथा अध्यक्षमा निर्वाचित भएका छन्।

पहिले मौलापुर र कटहरिया गरी दुई नगरपालिकामा सीमित रहेको नेकपा एमाले अहिले मौलापुर, देवाही गोनाही र गरुडा नगरपालिकामा विस्तार भएको छ। यसैगरी माधवकुमार नेपालको नेतृत्वमा नयाँ निर्माण भएको पार्टी नेकपा एकीकृत समाजवादीले गौर, राजदेवी, बौद्धिमाई र वृन्दावन नगरपालिकामा जित हासिल गरेको छ। यसैगरी नेकपा माओवादी केन्द्रले दुर्गा भगवती गाउँपालिका वर्चस्व कायम गरेको छ। चुनावअघि नेकपा माओवादी केन्द्रले यमुनामाई गाउँपालिकामा नेतृत्व गरेको थियो।

रौतहटमा मधेसवादी पहिचानको दलभन्दा राष्ट्रिय दलप्रति नै मतदाताको विश्वास देखिएको छ। १८ स्थानीय तह रहेको रौतहटमा वामपन्थीहरुले आठ पालिकामा जित हासिल गर्दा नेपाली काँग्रेस सात पालिकामा विजयी भएको छ। चन्द्रपुर, फतुवा विजयपुर, कटहरिया, गढीमाई, माधव नारायण, परोहा र राजपुर नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। यसअघि नेकाले रौतहटको आठ पालिकामा जित हासिल गरेको थियो।

पहिलो स्थानीय तह निर्वाचनमा निकै बलियो शक्तिको रुपमा देखिएको मधेसवादी दल यसपटकको चुनावमा तीन पालिकामा सीमित भएको छ। रौतहटको ईशनाथ नगरपालिका र यमुनामाई गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल विजयी भएको छ भने पहिले रौतहटमा ठूलो शक्तिको रुपमा चिनिएको उपेन्द्र यादव नेतृत्वको जसपा एक मात्र पालिका सीमित भएको छ। जसपाले गुजरा नगरपालिकामा आफ्नो जितलाई दोहोर्‍याएको छ।  

रौतहटमा सबैभन्दा बढी सफलता वामपन्थीले हात पारेको देखिँदा जसपालाई ठूलो क्षति भएको छ। जसपाको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले रौतहटमा विकास निर्माणको काममा सिन्को पनि नभाँची निरन्तर हेपिरहेको र प्रदेश सरकारमा रौतहटबाट राज्यमन्त्री रहेका योगेन्द्र राय यादवको तानाशाही शैलीका कारण जिल्लामा जसपाले कल्पनै नगरेको हार बेहोरेको जसपा कार्यकर्ताहरु बताउँछन्। राज्यमन्त्री यादवको व्यवहारले रौतहटमा मधेसवादी नेताको पहिचान बनाएका धेरै नेता कार्यकर्ताहरु जसपाबाट पलायन भइसकेका छन्।  

केन्द्रमा स्थानीय तहको निर्वाचनमा गठबन्धन भएको भए पनि रौतहटमा खासै गठबन्धन नहुँदा पनि वामपन्थी पहिलो र नेका दोस्रो शक्ति बन्न पुगेको छ।

प्रकाशित: १२ जेष्ठ २०७९ ११:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App