६ वैशाख २०८१ बिहीबार
राजनीति

इटहरीका बाढी पीडितः नयाँ जनप्रतिनिधिसँग तटबन्ध निर्माणको आशा

इटहरी उपमहानगरपालिकाका वडा नं. १० की पार्वती यादवको घर बुढी खोला नदीदेखि २५ मिटर दुरीमा पर्छ। घरको आँगनमा निस्निेबित्तिकै अगाडिबाट खोला छ। खोला देख्नेबित्तिकै झण्डै पाँच वर्ष अघि बाढीले घरसहित सम्पूर्ण सम्पति नष्ट गरेको याद आउँछ। बर्खाको बेला जेठ अन्तिमदेखि असोजसम्म त यहाँका बासीन्दा रातभर जाग्राम बस्छन्।

‘खोलामा तटबन्ध बाध्ने आशैआशामा पाँच वर्ष पुग्न लागि सक्यो,’ उनले भनिन, ‘अहिलेसम्म केही भएको छैन्।’ उनका अनुसार बर्खाका बेला राति पानी पर्दा कोही पनि गाउँले नसुतिकन खोला हेरेर बस्छन्। ‘२०७४ सालमा बाढी आउँदा त कम्मर कम्मर पानी घरमा पस्ने बित्तिकै भागेर बाँचियो,’ उनले भनिन्, ‘बर्खाको बेला रातभर बत्ती बालेर खोला नहेर्दा त भाग्नै पाइदैन्।’

२०७४ साउन २७ गते आएको बाढीले इटहरीका वडा नं. ३, ४, ९ र १० वडाका वस्ती तहसनहस पारिदिएको थियो। त्यो बेलाको पीडा भुल्न नसकेको बेला फेरी २०७८ कात्तिक २ गते आएको बेमौसमी वर्षाले इटहरीमा ठूलै धनजनको क्षती गर्‍यो। यसरी पटक पटक आउने गरेको बाढीले इटहरीका बासीन्दा समस्यामा छन्।

‘खोलामा तटबन्ध भयो भने रातभरी आनन्दले निन्द्रा लाग्छ,’ वडा नं. ९ का रिक्सा चालक डिल्ली दाहालले भने। बाढी पीडितले अघिल्लोपटक (२०७४ सालमा) निर्वाचित जनप्रतिनिधिसँग आफ्ना समस्या पूरा हुने आशा गरेका थिए। तर, आशा गर्दागर्दै समय बित्यो । फेरी वैशाख ३० गते स्थानीय निकायको चुनाव भएर नयाँ जनप्रतिनिधि छानेर पदभार पनि ग्रहण गरिसकेका छन्।

अबको जनप्रतिनिधिसँग बाढीपीडितको एउटै माग छ, ‘तटबन्ध निर्माण।’ वैशाख ३० गते भएको निर्वाचनमा इटहरीका सबै राजनीतिक दलहरुका उम्मेदवारहरुले बाढी पीडितको समस्या समाधान गर्ने संकल्प गर्दै घर घरमा मत माग्न पुगेका थिए। स्थानीयबासीले आफ्ना समस्या समाधान गर्ने संकल्प गर्नेमध्ये पूरा गर्ने विश्वासिलो व्यक्तिको खोजी गरेर मतदान गरी जिताएर पदभार ग्रहण गरिसकेका छन्।

स्थानीय बाढी पीडितले एकै दलले मात्र माग पूरा नगर्ने आशामा मेयरमा नेपाली कांग्रेसका उम्मेदवार र वडामा एमालेका उम्मेदवारलाई जिताएको वडा नं. १० का बाढी पीडित डिल्लीशेर राईले बताए। ‘जनता अब लाटा छैनन्, यसपटक हामीले वडामा एमालेलाई मेयरमा कांग्रेसलाई जिताऔं,’ उनले भने, ‘अब फेरी पाँच वर्ष काम नगर्दा दुवै दलको पत्तासाफ हुन्छ।’

२०६५ सालदेखि ऐलानी जग्गा ओगटेर बस्न थालेका यस वस्तीमा बग्रेल्ती घर परिवार छन्। बर्खा लाग्नासाथ यहाँका बासीन्दा त्राहीमाम हुने गरेका छन्। इटहरीको वडा नं. ३, ४, ९ र १० को बुढी खोला नदीको तटीय क्षेत्रमा बसोबास गर्नेलाई हरेक राजनीतिक दलले भोट बैंकको रुपमा प्रयोग गर्ने गर्छन्।

बाढी पीडितका अरु ठूला माग केही नभएर तटबन्ध निर्माण गरिदिए पुग्ने अर्की वडा नं. १० कै पीडित मित्रदेवी कार्कीले बताइन्। ‘अघिल्लोपटकको बाढीबाट त धन्न बाँच्यौं, अब सधैंभरी बाढीकै त्रासमा बस्न नपरोस्। हामी सबै बाढी पीडितको एउटै माग छ, वस्तीमा बाढी नपसोस्, खोलामा बेलैमा तटबन्ध होस्।’

बाढी पीडितलाई सुरक्षित राख्ने पहिलो काम अहिले निर्वाचित जनप्रतिनिधिले गर्नैपर्ने कार्कीले बताइन्। ‘हामीलाई जित्नेले बाढीबाट सुरक्षित बनाए हुन्छ, अरु केही आशा छैन,’ उनले भनिन्। इटहरीमा २०७४ साउन २७ गते राति आएको बाढीले इटहरी वडा नं. ३, ४, ९ र १० मा तहसनहस पारेको थियो।

नदीमा आएको बाढीले इटहरी क्षेत्रमा मात्र नौं जनाको मृत्यु समेत भएको थियो। पछिल्लो कात्र्तिक पहिलो साता आएको वेमौसमी बाढीले पनि सबैभन्दा बढी बाढीले इटहरी क्षेत्रमा क्षती गरियो। जसमा बाढीले बगाउँदा चार जनाको मृत्यु हुन पुगेको थियो। वेमौसमी बाढी आएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी आएर क्षतीको विवरण समेत लिएका थिए।

चार वर्षअघि आएको बाढी पीडित सय घर परिवारलाई ऐलानी वा सरकारी जग्गा खोजी गरेर व्यवस्थित कार्यपालिकाको निर्णय पनि अहिलेसम्म कार्यान्वयन भएको छैन। अब नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि आशा जागेको वडा नं. ९ की ६३ वर्षीया गीता राईले बताइन्।

‘यसपटक चुनावमा जित्नेले बेलैमा बाढी पीडितको समस्या समाधान गरिदिए अरु हामीलाई केही चाँहिदैन,’ उनले भनिन्। इटहरीमा वर्षेनी आकाशबाट परेको पानीको निकास नहुँदा वस्तीका घरहरुमा पानी प्रवेश गरेर क्षती गर्ने गरेको छ।

अर्कातिर अविरल रुपमा परेको वर्षासँगै आएको बाढी बुढी र टेङ्ग्रा खोलाको पानी ओभरफ्लो भएर वस्तीमा प्रवेश गर्ने गरेको छ। इटहरीमा खोला कटान तथा डुबान नियन्त्रण सम्बन्धी कुनै पनि काम नभएको भने होइन। वर्षेनी मोटो रकम खर्च हुने गरेको छ। तर पनि परिणममुखी नतिजा भने आउन सकेको छैन।

यहाँका सबै राजनीतिक दलहरुले इटहरी नगरलाई बाढी तथा डुबानको जोखिमबाट मुक्त गर्न नगर क्षेत्र भएर बग्ने शेरा र टेङ्ग्रा खोलालाई स्थायी रुपमा डाइसर्भन गरी व्यवस्थित गर्ने पनि उल्लेख गर्छन्। तर, अहिलेसम्म ठोस काम भने हुन सकेको छैन, जसले गर्दा पनि यसपटक निर्वाचित जनप्रतिनिधिहरुबाट भने स्थानीय बासीले आफ्ना माग पूरा हुने आशा गरेका छन्।

प्रकाशित: १२ जेष्ठ २०७९ ११:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App