८ वैशाख २०८१ शनिबार
राजनीति

रौतहटको गरुडामा एमालेलाई कठिन जित

रौतहटको गरुडा नगरपालिकामा मिश्रित परिणामसहित नेकपा एमाले विजयी भएको छ। नेकपा एमालेका कन्थमनिप्रसाद कलवार गरुडा नगरपालिकाको मेयर बनेका छन्। नेकपा एमालेका कलवारले नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेससँग निकै कडा संघर्षमा कठिन जित निकाल्न सफल भएको छ।

गरुडा नगरपालिकाको प्रमुखमा नेकपा एमालेका कन्थमनिप्रसाद कलवारले ४ हजार ५ सय ६४ मत ल्याइ जित निकाल्दा नेकपा एकीकृत समाजवादीका बृजकिशोर यादवले ४ हजार ५ सय २६ मत ल्याएका छन् भने कांग्रेसका सुनिलकुमार यादवले ४ हजार ४ सय ९८ मत प्राप्त गरेका छन्।

गरुडा नगरपालिकाको उपप्रमुखमा भने कांग्रेसले निकै फराकिलो मतान्तरले जित हासिल गरेको छ। उपप्रमुखमा कांग्रेसकी पुनमकुमारी चोधरीले ६ हजार ७ सय ३ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी नेपाल (जसपा)की बिन्दुकुमारी देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरेकी छन्।

गरुडा नगरपालिकाको वडा नम्बर १ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेख वहाब, वडा नम्बर २ मा जसपाका कृष्ण नन्दन सहनी, वडा नम्बर ३ बाट नेकपा माओवादी केन्द्रका अम्बिका सहनी, वडा नम्बर ४ बाट एकीकृत समाजवादीका सुनिलकुमार जयसवाल, वडा नम्बर ५ बाट नेकपा माओवादी केन्द्रका राम विनोदप्रसाद जयसवाल, वडा नम्बर ६ बाट एमालेका रामबाबुप्रसाद साह, वडा नम्बर ७ बाट नेकाका प्रवीण सिंह यादव, वडा नम्बर ८ बाट जसपाका वशिष्ठ राय यादव र वडा नम्बर ९ बाट नेकाका राजेशकुमारी सहनी निर्वाचित भएका छन्।

गत वैशाख ३० एउटा मतदान केन्द्रको मतपेटिकामा विवादका कारण क्षति पुगेपछि जेग ४ मा पुनः मतदान भएको गरुडा नगरपालिका ९ मा अन्तिम मतगणना चलिरहँदा पनि विवाद भएको थियो। विवादका कारण कांग्रेस र नेकपा एकीकृत समाजवादीले पुनः मतगणना हुनुपर्ने माग राखी निवेदन दर्ता गराएका थिए र पालिका निर्वाचन कार्यालयले पुनः मतगणनाको मागलाई अस्वीकार गर्दै एमाले उम्मेदवार कलवारलाई नगर प्रमुखमा विजयी भएको घोषणा गरेको थियो।

प्रकाशित: १२ जेष्ठ २०७९ १०:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App