१६ असार २०७९ बिहीबार
राजनीति

‘भोट दिएर जितायौं, अब बासको व्यवस्था गरिदेऊ’

तातोपानीस्थित गल्फा विस्थापित शिविरमा आफ्नो पालमुनि बसिरहेका बाढीपीडित सर्जन टमट्टा। नगेन्द्र/नागरिक

सर्जन टमट्टा थातथलो छाडेर गल्फाको जंगलमा बस्न थालेको आठ वर्ष भयो। सालको रूखमुनि पाल टाँगेर बस्नु उनको रहर नभएर बाध्यता हो। २०७१ साउन २८ गते राति टमट्टाको नौजनाको परिवार पञ्चपुरी नगरपालिका १० स्थित तातापानीको घरमा मस्त निद्रामा थिए। भेरीमा आएको ठूलो बाढीले उनको पूरै परिवार बगायो। सर्जन मजदुरीका लागि कालापहाड (भारत) गएका थिए र बाँचे।

‘राति सुत्ने बेला जहान (श्रीमती) सँग फोनमा कुरा भएको थियो। चाँडै आउनु भन्थिन्’ सर्जनले भने, ‘बिहानै बाढीले बगाएको खबर सुन्नुपर्‍यो।’ श्रीमती, तीन छोरा, दुई बुहारी, एक छोरी र दुई नाति गुमाएका सर्जन त्यसयता गल्फा जंगलमा बस्न थालेका हुन्।

यसपटकको स्थानीय तह निर्वाचनमा उनी सक्रिय भएर लागे। आफूले मत दिएको पार्टी स्थानीय सरकारको नेतृत्व गर्न आइपुग्यो। स्थानीय सरकारले अब थालथलो फर्काइदिन्छ कि भन्ने ठूलो आशा उनमा छ। ‘आठ वर्षदेखि जंगलको बास छ’ टमट्टाले भने, ‘हामीले भोट दियौं, अब जितेकाले घरबास दिन्छन् भन्ने आशामा छौं।’ एकसरो च्यातिएको पालभित्रबाट आकाश देखिन्छ। ‘पाल नाम मात्रैको छ, घाम र पानी छेक्दैन’ सर्जनले भने, ‘हाम्रा (बाढीपीडितका) समस्या समाधान गर्छौं भनेर बाचा गरेकाले भोट दिएर जिताएका छौं, जनप्रतिनिधिले वाचा पूरा गर्नेमा आशावादी छौं।’  

२०७१ साउन २८ र २९ गते आएको बाढीपहिरोले सुर्खेतमा ११५ जनाले ज्यान गुमाए। अर्बौंको क्षति भयो। अहिले पनि जिल्लाका विभिन्न आठवटा स्थायी शिविरमा एक हजार ४५ परिवार कष्टकर जीवन बिताइरहेका छन्। यो अवधिमा संघ र प्रदेश सरकारले बाढीपीडितका नाममा २५ करोड बढी खर्च गरिसकेका छन्, तर बाढीपीडितको अवस्था भने फेरिएको छैन। गल्फाको जंगलमा अहिले ११० जनाको परिवार बसिरहेको छ।

भेरीमा बाढी नआउँदासम्म हरिहरपुर ४ की पूजा गन्द्रमाको जीवन सुखी र खुसी थियो। कमाउन कतार गएका श्रीमान् महिना–महिनामा पैसा पठाउँथे। गाउँमा खरको छानोको घर थियो। उब्जनी हुने जमिन थियो। २०७१ साउन २८ गते राति भेरीमा आएको बाढीले उनको खुसी लुट्यो। बाढीबाट उनीहरू बाँचे, तर घर र सम्पत्ति जोगाउन सकेनन्। बाढीले घरबार बगाएपछि गाउँलेसँगै उनी पनि काखे छोरा, आँखा नदेस्ने ससुरा र कान सुन्न नसक्ने सासू ल्याएर कर्णाली राजमार्ग किनारको गिरीघाट शिविरमा बस्न आइन्।

बाढीपहिरोले परिवार घरबारविहीन भएको खबर सुनेपछि कतारमा रहेका जीवन आइपुगे। ‘दुःखजिलो गरेर परिवार चलाउँला चिन्ता नमान भन्नुहुन्थ्यो, घरबार बगाए पनि दुःखमा साथ दिने श्रीमान् पाएकी थिएँ’ पूजाले भनिन्, ‘पतिको साथ र खुसी पनि धेरै समय रहन पाएन।’ २०७१ असोजमा फर्किएका जीवनले फागुनमा गाउ“मा बाढीले घर बगाएको ठाउँनजिकै आत्महत्या गरे।  

पूजा हरिहरपुरको आफ्नै जमिनमा सरकारले घर बनाइदिए फर्किने बताउँछिन्। राज्य पुनर्संरचनापछि पहिलोपटक निर्वाचित भएका प्रतिनिधिले आफूहरूको थातथलोको व्यवस्था नगरेको दुःखेको उनको छ। ‘फेरि गाउँ–नगरमा हामीले चुनेर पठाएका जनप्रतिनिधि आएका छन्’ पूजाले भनिन्, ‘हामीले दिएको भोटले जितेकाहरूले हाम्रो व्यवस्थापनमा पनि ध्यान दिनेमा आशावादी छौं।’

गिरीघाट शिविरका अगुवा नरेन्द्र खत्रीले घर–आँगनको सरकारबाट आफूहरूका अपेक्षा र आशा धेरै रहेको बताए। ‘संघ र प्रदेशले पैसा पठाए पनि कार्यान्वयन गर्ने त स्थानीय सरकार हो’ उनले भने, ‘नगरमा अहिले युवा नेतृत्व आएको छ, हाम्रा समस्या सम्बोधन हुने अपेक्षामा छौं’, उनले अधिकांश बाढीपीडितले पहिलो र दोस्रो किस्ताको रकम पाइसकेको बताउँदै तेस्रो किस्ताका लागि निर्वाचित जनप्रतिनिधिले तत्कालै पहल गर्नुपर्ने बताए। ‘सडक किनारको जंगलमा हामीलाई कष्टकर दैनिकी बिताउन रहर छैन’ उनले भने, ‘सरकारले घोषणा गरेको रकम स्थानीय सरकारले तत्काल व्यवस्थापन गरिदिए हामी आफ्नै थातथलोमा फर्किन्छौं।’

प्रकाशित: ९ जेष्ठ २०७९ १०:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App