coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

धरानः न कम्युनिष्ट गढ रह्यो, न कांग्रेस

धरानको नगर प्रमुखमा निर्वाचित हर्क साम्पाङ (दाँया) र उपप्रमुखमा निर्वाचित इन्द्रबिक्रम बेघा (दाँया)। तस्बिरः रोहित राई

गत वैशाख २५ गते भानुचोकमा आयोजित चुनावी सभामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले भनेका थिए, ‘चुनावपछि धरान स्वतन्त्र हुनेछ।’ उनले पार्टीले जितिरहने तर जनता हारिरहने प्रवृत्तिको अन्त्य गर्ने र पार्टीको लगाम तोडेर धरान स्वतन्त्र भाई बाँच्ने दाबी गरेका थिए।  

जनसरोकारको बिषयमा र जनताको समस्यालाई एक्लै भएपनि निरन्तर उठाउँदै आइरहेका साम्पाङसँग न कार्यकर्ता थियो, न कुनै बलियो संगठन। त्यसैले राजनीतिक दलहरुले उनको चुनावी सभा र अभिव्यक्तिलाई महत्व दिएनन्। तर, तिनै साम्पाङले बोलेको कुरा पूरा गरे। आइतबार धरानको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वार साम्पाङ निवार्चित भएका छन्।

आइतबार दिउँसो अन्तिम मतपरिणाम घोषणा हुँदा साम्पाङले निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले पराजित गरे। साम्पाङले २० हजार ८२१ मत प्राप्त गरे भने गठबन्धनबका राईले १६ हजार ६९ मत प्राप्त गरेका छन्। प्रमुखमा एमालेबाट उम्मेद्वार रहेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत मात्र प्राप्त गरिन्। उपप्रमुखमा लोकतान्त्रिक बाम गठबन्धनबाट अइन्द्रबिक्रम बेघा निर्वाचित २० हजार ५१० मत प्राप्त गरेर निवार्चित भए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम इस्वोले १७ हजार ६०६ मत प्राप्त गरे।

पञ्चायतकालमा पनि जनपक्षीय उम्मेद्वार जिताएको धरान २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना पछि कम्युनिष्ट गढ अर्थात लालकिल्लाकोरुपमा रह्यो। २०४९, २०५४ र २०७४ को स्थानीय तह निर्वाचनमा धरानले एमाले उम्मेद्वारहरुलाई बहुमतका साथ जितायो। २०४८ को आम निर्वाचन, २०५१ को मध्यावधी, २०५६ को निर्वाचनमा एमाले सांसद जिताएको धरानले २०६४ मा माओवादी र २०७० मा संविधानसभा निर्वाचनमा पुनः एमालेलाई जिताएर लालकिल्लाकोरुपमा स्थापित गर्यो। यस्तै, २०७४ को संघ र प्रदेशको निर्वाचनमा पनि धरानले एमालेलाई नै जितायो।

सधैं कम्युनिष्ट जिताउदै आएको धरानले २०७६ को उपनिर्वाचनमा पहिलो पटक परिवर्तनको नारा दिएको कांग्रेसलाई प्रमुख पदमा जितायो। २०७४ मा निवार्चित नगर प्रमुख तारा सुब्बाको एक वर्षमै निधन भएपछि उपनिर्वाचन भएको थियो। उपनिर्वाचनमा गुमेको विरासत फिर्ता गर्ने एमालेको सपना एक जना स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले चकनाचुर बनाइदिए। सत्ता गठबन्धन गरेर वलियो भएको कांग्रेस यसपाली पनि कम्युनिष्ट विरासत फर्कन नदिने दाउँमा थियो। कम्युनिष्टसँगै गठबन्धन गरेको कांग्रेस धरान यसपाली पनि नगर प्रमुख पदमा जितेर धरान लालकिल्ला नभएको सन्देश दिन चाहन्थ्यो। तर, मतदाताको मनसाय भने अर्कै थियो। निर्वाचनको नतिजाले धरान न अब कम्युनिष्ट गढ रह्यो, न कांग्रेसकै भयो। चुनावी सभामा साम्पाङले भनेजस्तै, धरानका जनताले पार्टीहरुको लगाम तोडेर स्वतन्त्रमा भोट दिए।

खानेपानी एजेण्डा बोकेर कम्युनिष्टकै भोटले जिते

गरिब, दुःखी र निमुखाहरुको पक्षमा कम्युनिष्ट हुन्छन् भन्ने आम बुझाई छ। सुकुम्बासी, निम्न वर्गको मुद्दा उठाएर कम्युनिष्टहरु सत्तामा पटक पटक पुगेका छन्। ठूला सपना देखाएर जुन वर्गको भरोसा जितेर सत्तामा पुगे, कम्युनिष्टहरुले उनीहरुलाई नै बिर्सिए।  

२०७६ को उपनिर्वाचनमा कांग्रेसलाई पनि जिताएको धरानले भनेजस्तो नतिजा पाउन सकेन। कम्युनिष्ट र कांग्रेस दुवैले जनताको मुद्दा उठाउन छोडेपछि धरानले यसपाली स्वतन्त्र उम्मेद्वार साम्पाङलाई जितयो। नवनिवार्चित नगर प्रमुख साम्पाङको प्रमुख चुनावी एजेण्डा खानेपानी हो। खानेपानी अभाव धराने जनताको सबैभन्दा ठूलो समस्या हो। यहाँका राजनीतिक दलहरुले मिलेर एसियाली विकास बैंकको ऋण तथा अनुदान सहयोगमा २२ मिलियन डलरको खानेपानी परियोजना ल्याएका थिए। २०७४ को निर्वाचन र २०७६ को उपनिर्वाचनबाट दुवै पार्टी नगरको नेतृत्वमा पुग्यो, तर न खानेपानी परियोजना पुरा भयो, न धरानबासीहरुले पानी पिउन पाए।  

जनताको खानेपानी समस्या, विपी प्रतिष्ठानको उपचार खस्कदो उपचार सेवा र बेथिती, उपमहानगरको अनियमितता, सडकको खाल्डाखुल्डीजस्ता जनजिविकासँग जोडिएको मुद्दा उठाउदै सुशासन, पारदर्शिताको आवाज साम्पाङले निरन्तर उठाइरहे। राजनीतिक दलहरुको एजेण्डा नै बोकेका साम्पाङलाई धराने जनताले विश्वास गरे। यसपाली प्रमुख, उपप्रमुख र वडाका उम्मेद्वारहरुले पाएको मत हेर्दा साम्पाङलाई कम्युनिष्ट मतदाताहरुले नै जिताएका छन्।  

धरानको २० वटा वडामा एमालेका वडाअध्यक्षहरुले पाएको कुलमत २२ हजार ९९ पुग्छ। तर, नगर प्रमुखमा उम्मेद्वार बनेकी मञ्जु भण्डारीले मात्र १२ हजार ८२५ मत प्राप्त गरिन्। प्रायः सबै वडामा उनलाई वडाका जनप्रनिनिधिहरुले भन्दा थोरै मत पाएकी छिन्। एमालेको उपप्रमुख र वडाको प्यानलमा भोट दिएका मतदाताहरुले प्रमुखमा भने साम्पाङको चुनाव चिह्नमा दिएका छन्।  

महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेशकुमार यादव ‘विद्रोही’ धरानका मतदाताहरुले यसपाली विवेकपुर्ण मतदान गरेको बताउँछन्। दलहरुप्रति जनताले हरेक पटक विश्वास गरेको तर अपेक्षा पुरा नभएपछि आक्रोशपूर्ण अभिव्यक्ति मतदानमार्फत गरेको उनले बताए। ‘जनताको सपना ठुलो छैन। नेताहरुले नै ठुलो सपना देखाएर पुरा नगर्दा जनतामा निराशा छाएको छ,’उनले भने,‘खानेपानी, शिक्षा, स्वास्थ्य, महंगी नियन्त्रणजस्तो जनजिविकाको सवालमा ध्यान दिए पुग्छ।’ राजनीतिक दलहरुले टिकट दिदैमा उम्मेद्वारले जित्छ भन्ने नभएकोले टिकट दिदा पनि जनताको माझमा झिजेको व्यक्तिलाई दिनुपर्ने उनले बताए।

१० वटा वडामा खुम्चियो एमाले

२०७४ सालमा बहुमत वडा जितेको नेकपा एमाले यसपाली भने १० वटा वडामा खुम्चिएको छ। २०७४ को चुनावमा एमालेले नगर प्रमुख र उपप्रमुखसहित १४ वटा वडा जितेको थियो। यसपाली प्रमुख र उपप्रमुख दुवै गुमायो भने ४ वटा वडा पनि गुमाउन पुग्यो।

एमालेले वडा २, ४, ५, ७, ८, १०, १२, १३, १५ र १९ मात्र जितेको छ। कम्युनिष्ट गढ मानिएको वडा २० विष्णुपादुका र वडा १६ पनि यसपाली गुमाउनु पर्दा एमालेलाई ठुलो धक्का पुगेको छ। यस्तै, वडा नं ३ पनि गुमयो भने वडा ६ मा वडाध्यक्ष स्वतन्त्र उम्मेद्वारले जितेको छ।  

गठबन्धनमा रहेको नेपाली कांग्रेसले यो चुनावमा नगर प्रमुख जित्न सकेन। तर, वडा २ वटा बढी वडा जितेको छ। कांग्रेसले वडा १, ३, ९, ११, १६, १८ र २० मा जितेको छ। गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले उपप्रमुख र वडा नं १७ जितेको छ। २०७४ को चुनावमा भने माओवादी केन्द्रले वडा नं १७ मात्र जितेको थियो।

प्रकाशित: ८ जेष्ठ २०७९ १५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App