कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा २०७४ सालमा जोसँग लडेर पराजित भएका थिए, उसैलाई हराउँदै लोसपाका नेता कमलेश चौधरीले अहिले चुनाव जितेका छन्। २०७४ सालको निर्वाचनमा निसार अहमद खाँसँग झिनो मतले हारेका चौधरीले यसपाली उनलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
गाउँपालिकाको अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कमलेश शरण चौधरी ४ हजार ४८१ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार निसार अहमद खाँले ४१८२ मत ल्याए। यस्तै नेपाली कांग्रेस पार्टीका उम्मेदवार रामनरायण यादवले १८२८ मत पाए। खाँले २०७४ को स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उठेर अध्यक्ष जितेका थिए भने चौधरी निकटम प्रतिस्पर्धी थिए। त्यति बेला खाँले १८ सय ३७ र चौधरीले १७ सय ६३ मत ल्याएका थिए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार विजयी भएका हुन्। गाउँपालिकाको उपाध्यक्षमा भने माओवादी केन्द्रका होमप्रकाश चौधरी (कुर्मी) ५ हजार १०३ मतका साथ विजयी भएका छन्। उनकी प्रतिस्पर्धी जनमत पार्टीकी चाँदनी चौधरीले ३२२३ मत र जसपाकी पुष्पा यादवले २४६८ मत पाएका छन्। ६ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले ३ वटा, जसपाले २ वटा र माओवादी केन्द्रले १ वटा वडा जितेका छन्।
प्रकाशित: ८ जेष्ठ २०७९ १३:४४ आइतबार