१६ असार २०७९ बिहीबार
राजनीति

बुटवललाई विकासमा अग्रणी र स्वाभिमानी सहर बनाउने लक्ष्य छः नवनिर्वाचित मेयर पाण्डे

नेपाली कांग्रेसले बुटवल उपमहानगरपालिकामा २५ बर्ष अघिदेखि गुमेको आफनो शाख फर्काउँदै एमालेको बिरासत ढलाउन सफल भएको छ। बुटवल उपमहानगरपालिकाको प्रमुखमा भारी मत अन्तरले नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन।  बुटवलका नवनिर्वाचित मेयर पाण्डे संग बुटवल स्थित नागरिककर्मी रेखा भुसालले गरेको कुराकानी  । 

तत्काल कामहरु के के गर्ने योजना बनाउनुभएको छ?  

मलाई मत दिएर विजयी बनाउनुहुने बुटवलका सम्पूर्ण बासिन्दालाई धेरै धेरै धन्यवाद र बधाई भन्न चाहन्छु। यो जित मेरोमात्रै जित होइन, यो जनताको जित हो। मलाई मत दिने र मलाई मत नदिनेहरुको पनि जित हो यो। बुटवलको विकास, समृद्धिका लागि बुटवलका बासिन्दाले मलाई जुन रुपमा प्रतिनिधि बनाएर उपमहानगरपालिकामा पठाउनुभएको छ त्यसलाई मैले पाँच वर्षसम्म जनताकै प्रतिनिधि बनेर काम गर्नेछु । शासकको रुपमा हैन सेवकको रुपमा काम गर्ने छु। जसरी यो ५ वर्ष जनतामाझ रहेर समस्याहरु सुनिरहेको थिएँ, समाधानको प्रयत्न गरिरहेको थिएँ, त्यसबाट मलाई जनताले निर्णय गर्नसक्ने स्थानमा पुर्‍याउनुभएको छ। त्यसको भरपूर रुपमा सदुपयोग गरेर जनताका समस्यालाई आवश्यकता र प्राथमिकताका आधारमा क्रमैसँग समाधान गर्दै अघि बढ्नेछु। बुटवललाई कुनै एउटा दल विशेष या गठबन्धन विशेषको कार्यालय बनाउने छैन। सबैको साझा फुलबारी बनाउनका लागि मेरो भूमिका रहनेछ। घोषणापत्रमा उल्लेख भएका योजनाहरु स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँग सहकार्य, समन्वय गरेर कुन ठाउँबाट अघि बढ्दा प्रभावकारी हुन्छ र अधिकार रहेको छ त्यसैगरी नै अघि बढाइनेछ।  

तपाइँ निर्णय गर्ने स्थानमा पुगेपछि चरणबद्ध रुपमा गर्ने काम के के हुन्?  

शुरुमा त मैले बुटवललाई सबै नागरिकको, सबै दलको, बुटवलबासीको साझा थलो बनाउनेछु। नागरिकले बुटवललाई आफ्नो कार्यालय हो भन्ने महसुस गराउने छु। दलहरुलाई त्यसको महसुस गराउन मिलन केन्द्र बनाउनेछु। हाम्रा नेताहरु वीपी कोइराला, पुष्पलाल, बुटवलका मेयर स्वर्गीय सूर्यप्रसाद प्रधानको शालिक बनाउनेछु। यसअघिका मेयरहरुलाई आउने, सल्लाह लिने, दिने थलो बनाउनेछु।  

विकासका हिसाबले मैले यसअघि जनतामाझ पुगेर भन्दै आएको कुराहरु चरणबद्ध रुपमा पूरा गर्दै जानेछौं। बुटवलको मुख्य समस्या राजमार्ग चौराहादेखि गोलपार्क सम्मको सडकको समस्या समाधान गर्नेछौं। ज्योतिनगरको पहिरोबाट समस्या भोगिरहेका बासिन्दाको समस्या समाधान गर्नेछौं। तिनाउ दानव करिडोरमा पर्ने बासिन्दाको समस्या पहिल्याएर जनताको पक्षमा हुनेगरी समाधान गर्नेछौं। मोतीपूर औद्योगिक क्षेत्रमा स्थानीयको माग पूरा हुने गरी स्थानीयलाइ बिस्थापित हुन नदिइ उनीहरुको उचित व्यवस्थापन पछि औद्योगिक क्षेत्रको काम अघि बढाउन नगरले खेल्न सक्ने र पर्ने भूमिका निर्वाह गर्नेछौं। सुकुम्बासी र अव्यवस्थित बसोबासलाई अल्पकालीन र दीर्घकालीन रुपमा समाधान खोजिनेछ। बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको पानी ल्याउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेछु र वडास्तरमा भूमिगत श्रोतबाट पानी निकालेर स्वच्छ खानेपानी वितरण हुनेछ। फोहोरमैला व्यवस्थापनमा दीर्घकालीन समाधानको योजना छ। त्यसलाई पूरा गर्नेछु। घोषणापत्रमा भनेका कामहरुलाई चरणबद्ध रुपमा पूरा गर्न म प्रतिबद्ध छु।  अर्को महत्वपूर्ण प्रतिवद्धता भनेको भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न। नगरको सेवा सुविधालाइ चुस्त दुरुस्त बनाउने छु। नगरलाइ विकास र समृद्धिको बाटोमा डोर्याउँदै सफा,सुन्दर र स्वाभिमानी शहर बनाउने मेरो लक्ष्य छ।

साना व्यवसायी, हाटबजार व्यवसायीलगायतको करमा छुट दिने, घटाउने कुरा गर्नुभएको थियो, यो पूरा गर्ने के योजना छ?  

व्यवसाय करको दर व्यापारको प्रभावका आधारमा निर्धारण गर्ने, पालिकाले लिदै आएको घरबहाल कर, ई रिक्सा सवारी कर, हाटबजार बैठकी करलगायतका करका दर एवम् सिफारिस शुल्क घटाउने काम अघि बढाउनेछु। घरेलु फोहोर संकलन बापत लिइदै आएको दस्तुर घटाइने छ। घोषणापत्रमा पनि हामीले भनेका थियौं, त्यसअनुसारले नै काम अघि बढ्छन्। केही कामहरु तत्काल गर्न सकिने कामहरु छन् भने केही कामहरु चरणबद्ध रुपमा गर्दै जाने खालका छन्। ती कामलाई त्यसरी नै अघि बढाइनेछ।  

बुटवलबासीलाई अरु केही भन्नुछ?

म बुटवलबासीलाई खुलेर भन्न चाहन्छु, तपाइँको प्रतिनिधि बुटवलको प्रमुख बनेको छ। बुटवलका बासिन्दा रहेर अन्यत्र गई बसेको व्यक्ति हुनुहुन्छ भने म बुटवलमा आउनका लागि अनुरोध गर्छु। बुटवललाई हामीले राम्रा कामको उदाहरणीय शहर बनाउनुछ। त्यसका लागि मलाई पाँच वर्ष बुटवलबासीको साथ चाहिएको छ। मलाई निरन्तर सल्लाह, सुझाव चाहिएको छ। यहाँका हरेकले बुटवललाई कस्तो बनाउने भन्ने चासो र सरोकार राख्नुपर्छ। म सबैलाई बुटवललाई राम्रो बनाउनका लागि सल्लाह सुझाव दिन आह्वान गर्छु। बुटवलले क्षमता भएका व्यक्तिलाई कदर गर्छ र अरु धेरै क्षमतावान् व्यक्ति उत्पादन गर्छ भन्ने बनाउनुछ। हामी सबै मिलेर बुटवललाई हाम्रो बुटवल राम्रो बुटवल बनाउने हो। त्यसका लागि म अगुवाई गर्छु, नेतृत्व गर्छु, साथ सहयोग तपाइहरुको हो। हामी सबै साथसाथ अघि बढ्नेछौं। फेरि एकपटक बुटवलबासीलाई हार्दिक धन्यवाद दिदै उहाँहरुलाइ बधाई दिन चाहन्छु, संगै खुशीयाली मनाउन अनुरोध गर्छु र मलाई प्रतिनिधि चुन्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु।  

प्रकाशित: ७ जेष्ठ २०७९ २२:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App