७ वैशाख २०८१ शुक्रबार
राजनीति

धनगढीका जनताका ढुकढुकी ‘गोपाल हमाल’, बन्दैछन् मेयर

टिनको बाकस बनाउने व्यवसायदेखि मेयरसम्मको यात्रा

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित सुनिश्चित भएको छ।

७ हजार ४ सय ८९ मात्र मत गणना वाकी हुदाँ स्वतन्त्र हमाल ११ हजार ७ सय ५८ मतान्तरले अगाडि छन्। मत गणना शनिवार राती सम्म सकिने भएको छ। तर गणना बाँकी मत भन्दा हमालको मतान्तरण बढी भएकाले मत गणना सम्पन्न हुन अघि नै धनगढी उपमहानगरपालिकाको मेयर को बन्ने भन्ने टुंगो लागेको हो।

५६ हजार २ सय २६ मत गणना हुदाँ हमालले २४ हजार ५ सय २९ मत प्राप्त गरेका छन्। गठबन्धनका तर्फबाट नेपाली काग्रेसका उम्मेदवार नृप वडले १२ हजार ७ सय ७१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३ सय ८६ मत प्राप्त गरेका छन्। ६३ हजार ७ सय १५ जनाले मतदान गरेका थिए।  

व्यवसायिक र उद्योगी पृष्ठभूमि भएका गोपाल हमालले भ्रष्टाचार नगर्ने र धनगढीको नमुना विकास गर्ने एजेण्डालाई पत्याएर मतदाताले उनलाई मत हालेको पाइएको छ। २०२० सालमा कैलालीको तत्कालिन मनिकापुर गाविसको झन्झटपुरमा जन्मेका हमालले धनगढी स्थित त्रिनगर माध्यमिक विद्यालयमा अध्ययन गरे। 

उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसमा गरे। प्रमाणपत्र तहको अध्ययन गरेका हमाल भारत्तोलनका राष्ट्रिय खेलाडी पनि हुन्। धनगढीमा टिनको वाकस बनाउन सुरु गरेर व्यवसाय थालेका उनी धनगढीका सफल व्यवसायी र उद्योगी बने।

उनले नेपाल उद्योग वाणिज्य सँघ कैलालीको अध्यक्ष र नेपाल उद्योग वाणिज्य महासँघको केन्द्रिय सदस्य गरेर १४ बर्ष जिम्मेवारीमा बसे। उद्योग वाणिज्य संघको अध्यक्ष हुदाँ राज्यवाट पछाडी पारिएको सुदूरपश्चिमको विकासका लागी २१ बुदे माग राखेर राष्ट्रपति र प्रधानमन्त्रीलाई बोलाएर २१ किलोको माला लगाउने अभियान उनले सुरु गरे। यो अभियानले सुदूरपश्चिमका बिकासका मुद्धा सम्बोधन गर्नलाई सत्तामा बसेका राजनीतिक दलका नेतालाई दवाव सृजना गर्यो।

धनगढीमा हुने क्षेत्रिय कार्यक्रम पनि नेपालगंज हुने गर्थे। धनगढीमा कालोपत्रे भएको बिमानस्थल थिएन । हमाल लगायतका व्यक्तिले बिमानस्थलमा कालोपत्रे गर्न एक रुपैया अभियान चलाए। रिक्सा चालक समेतले एक रुपैया दिए। यो अभियानले धनगढी बिमानस्थल कालोपत्रे गर्न सरकारलाई दवाव पर्यो। हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठ लगायतका कलाकार ल्याएर सांस्कृतिक कार्यक्रम गरि संकलन भएको रकमबाट धनगढीमा ब्लडबैंकको शुरुवात आफूहरुले गरेको हमाल बताउँछन्।  

राज्यले सुदूरपश्चिमलाई सुदूरको व्यवहार गर्‍योभनेर सुदूरपश्चिमका विभिन्न रमणीय स्थलको आकर्षक तस्विर व्याण्डिङ गरेर सुन्दर सुदूरपश्चिमको अभियान उनले सुरु गरे। शिवपुरी धाम नजिक कपडा बैकं स्थापना गरेर असहाय, नहुने र गरिव व्यक्तिलाई निशुल्क लुगा कपडा उपलब्ध गराउन उनले नै शुरु गरे। हुनेखानेले नयाँ वा लगाउन मिल्ने खालका लुगा त्याहाँ दान गर्ने गर्छन् भने नहुनेले त्यहाँबाट निशुल्क गर्छन ।  

धनगढीका जनताको मन जितेको उदाहरणिय अर्को काम उनले संचालन गरेको महाप्रस्थान यान हो। आफन्तको मृत्यु हुदाँ धेरैले पैसा तिरेर पनि शव वोक्ने गाडी पाउन समस्या थियो। गाडी हुनेले लास बाेक्न गाडी दिन मान्दैनथे। पैसा तिरेर ट्रयाक्टरमा शव बाेकेर आर्यघाट सम्म लैजानुपर्ने अबस्था थियो। आफन्तको महाप्रस्थान यात्रा जोकोहीले सम्मानजनक ढंगले गर्न चाहान्छ।  

अगाडी ठूलो तस्विर, फुलमाला सजाएर शवलाई आर्यघाट सम्म पुगाउन हमालले व्यक्तीगत रकममा गाडी किनेर महाप्रस्थान यान बनाए। कुनै व्यक्तिको मृत्यु भएको जानकारी पाउने बित्तिकै फूलले सजाएको यान घरमा पुगेर आर्यघाट सम्म निशुल्क शव पुगाउने व्यवस्था उनले गरेका छन्। 

मतदानका दिन वडा नं १२ जुगेडामा भेटिएका एक मतदाताले भन्दैथिए,‘उनले करोडको गाडी किने । मान्छे मर्ने बित्तिकै कात्रो बाेकेर त्यही गाडी घरमै ल्याएर आउँछन, एक मत उनलाई दिने भनेर दिए’।

धनगढी उपमहानगरपालिकाले अघिल्लो ५ बर्षमा  जनताको चाहना बमोजिम विकासका काम गर्न नसकेकोले जनतामा असन्तुष्टि थियो । बर्षातमा धनगढीमा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुने, समान्य बर्षा हुदाँ पनि खोलानाला अतिक्रमणका कारण धनगढी नगर डुवानमा पर्ने समस्याले यहाका बासिन्दालाई पिरोलेको थियो। 

यसैगरी सामान्य आधारभुत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्यसमेत उपमहानगरपालिका भएर पनि स्थानियले नपाएको गुनासो गर्दै आएका थिए। समाजिक सेवाका काम गर्दै आएको, सुन्दर सुदूरपश्चिमको अभियन्ता भएर यहाँको विकासको लागी वकालत गर्दै आएका थिए।

नगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिई धनगढीको नमुना विकास गर्ने हमालको ऐजेण्डा पत्याएर जनताको राम्रो मत पाएको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउछन्।

मेयर भएपछि पहिलो प्राथमिकतामा वडा क्लिनक शुरु गर्ने उनले बताए। ‘कुखुरा बेचेर, कर्जा गरेर औषधी गर्न सदरमुकाम आउनुपर्ने जो अवस्था छ,’ उनले भने,‘अव गाउँमै निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउछु।’ एउटा क्यालेण्डर बनाएर प्रत्येक वडामा अल्टासाउण्ड, ईसिजी लगायतको जाँच निशुल्क र बिशेषज्ञ चिकिस्तक सहित क्लिनक संचालन गर्ने उनको योजना छन्। ‘स्थानिय सरकार गाउँमा छ भन्ने आभास जनतालाई होस’उनले भने । यसैगरि एक वडा एक उत्पादन गर्ने उनको योजना छ।

सार्वजनिक शौचालय, रेष्टुरेन्ट सहितको पार्किङ स्थल बनाउने, श्रद्धान्जली बन बनाउने, सडक वरिपरि बृक्षरोपण गर्ने, प्लाष्टिक मुक्त नगर बनाउने पनि प्राथमिकतामा रहेको उनी बताउछन्। ‘पहुँचको आधारमा नभई आवश्यकताको आधारमा काम गर्छु’उनले भने।

सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढी शैक्षिक, औद्योगिक, व्यवासायिक केन्द्रका साथै प्रधानमन्त्री धर्मपत्नी आरजु राणाको संघिय संसंदिय निर्वाचन क्षेत्र पनि हो । सुदूरपश्चिमको चुनावी शभालाई सम्वोधन गर्न आएका देउवा मतदान सम्म करिव एक साता सुदूरपश्चिममा रहदाँ अधिकाशं समय धनगढीमा बिताएका थिए। आरजुको निर्वाचन क्षेत्र भएकाले धनगढीको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडलाई चुनाव जिताउन देउवाले धनगढीमा विशेष ध्यान दिएका थिए।

प्रकाशित: ७ जेष्ठ २०७९ १५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App