८ वैशाख २०८१ शनिबार
राजनीति

त्रियुगा १२ को मतदानबारे निर्वाचन आयुक्तले राय बुझे

मतदानकेन्द्रमा अधिकृतले टाँसेको चुनाव स्थगित गरिएकोबारे सूचना र आयुक्त भण्डारी। तस्विर/ महेश्वर

निर्वाचन आयोगले उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका १२ मा रोकिएको मतदानबारे स्थानीयको राय बुझेको छ। शुक्रबार साँझ उदयपुर आएका आयुक्त रामप्रसाद भण्डारीले शनिबार सरोकारवालाहरुसँग छलफल गरेर राय लिने काम गरेका छन्।

उनले मुख्य निर्वाचन अधिकृत, स्थानीय राजनीतिक दलहरु, उम्मेदवारहरु, नागरिक समाजका अगुवाहरु, सुरक्षाकर्मी, प्रशासनलगायत सरोकारवाला निकायका व्यक्तिहरुसँग छुट्टाछु्ट्टै र सामुहिक भेटेर छलफल गरेको बताइएको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार आयुक्त भण्डारीले रोकिएको चुनाव सुचारु गर्ने या गणना गर्ने भन्ने कुनै निष्कर्ष भने सुनाएका छैनन्।

‘माननीय आयुक्त ज्यु हिजै आउनु भएको हो, उहाँले आज पनि दिनभर सम्बन्धित व्यक्ति र दलहरुसँग भेटघाट र छलफल गर्नु भएको छ’ जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले भने ‘राजनीतिक दल, उम्मेदवार, मुख्य निर्वाचन अधिकृत, मतदान अधिकृतहरु, प्रशासन र सुरक्षाकर्मीहरुसँग छलफल गरेर फर्कनु भएको छ।’ आयुक्तले घट्नास्थलको बस्तुस्थिति बुझेर काठमाडौं फर्केको र छिट्टै आयोगले घट्नाबारे निर्णय सुनाउने अपेक्षा गरिएको कोईरालाले बताए।

पुरानो गाईघाटस्थित जनप्रेमी आधारभूत विद्यालयको प्रांगणमा वैशाख ३० गते भईरहेको चुनाव बिबाद भएपछि रोकिएको मतदान सुचारु हुन त हुन सकेको छैन नै, खसेको मतको गणना पनि भएको छैन। प्रत्यक्षदर्शीका मतदाताका अनुसार मतदान अधिकृतसहित कर्मचारीले बेईमानी गरेपछि त्यहाँ बिबाद भएको हो।

घण्टौँ लाईन लागेर उभिएका मतदाताहरु बुढी औँठाको नङमा चिन्ह (संकेत) लगाईसकेकोमा पानी पर्न थालेपछि तितरबितर भएको र वर्षा रहेपछि मत हाल्न आउँदा उनीहरुको नामको मतपत्र नभेटिएपछि कर्मचारीको धाँदलीको रहस्य खुलेको प्रत्यक्षदर्शीको आरोप छ।

बिबाद उत्पन्न भएपछि उम्मेदवारहरु, दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुख समेतको उपस्थितिमा मतदान अधिकृतले ४ः३० बजेदेखि मतदान स्थगित भएको सूचना टाँसेर खसेको मत सुरक्षित गरेको छ। तर, सातादिन बितिसक्दासम्म पुनः मतदान गराउने कि गणना गर्ने भन्ने विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले टुंगो लगाउँदा १२ मात्र नभएर सिंगो नगरको मत गणना अन्यौल भएको छ।

सुरुमा सबै दल र उनीहरुका प्रतिनिधिले पुन मतदान गर्नुपर्ने सहमति जनाए पनि पछि केहीले गन्नुपर्ने र केहीले सुचारु गर्नुपर्ने अडान लिन थालेपछि १२ नं. को समस्या सिंगो नगरपालिकाका लागि अनिर्णयको बन्दी सावित हुँदै गएको छ। ३ हजार २ सय हाराहारी मतदाता रहेको सो केन्द्रमा लगभग १ हजार ७ सय अर्थात ५२ प्रतिशत हाराहारी मत खसेको जनाइएको छ।

यसैबीच खसेको मतगणना गर्न र पुनः मतदान गरिपाउँ भन्दै छुट्टाछुट्टै मुद्धा अदालतमा परिसकेको छ। एउटा पक्षले उच्च अदालत विराटनगरमा मतगणना गरिपाउँ भन्दै परेको रिटको सुनुवाई नहुदै अर्को पक्षले उच्च अदालत र सर्वोच्चमा मतदान सुचारु गर्न माग गर्दै शुक्रबार रिट हालेको स्थानीय मतदातासमेत रहेका कानुन व्यवसायी हरिकुमार राईले बताए।

प्रकाशित: ७ जेष्ठ २०७९ १४:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App