coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ताप्लेजुङमा एमालेको गढ गठबन्धले भत्कायो भने कांग्रेसको एमालेले

वडा तहमा पनि भत्किए एक अर्काका गढ

स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा एमाले र कांग्रेसका गढहरु एक अर्काले भत्काउँदा माओवादी केन्द्रले आफ्नो प्रभाव बलियो बनाएको छ। एमालेका बलिया गढहरु गठबन्धनले भत्काउँदा कांग्रेसको गढमा भने एमाले उदाएको छ।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा फुङलिङ नगरपालिकाको प्रमुख पद जितेको एमालेलाइ यसपटक गठबन्धनकोतर्फबाट कांग्रेसले पराजित गर्‍यो। कांग्रेसले मेरिङदेन र सिरिजङ्गा गाउँपालिकाको अघिल्लो विरासत कायम राख्दा एमालेले भने पाथीभरा याङ्वरकमा मात्र आफ्नो अघिल्लो विरासत जोगाउन सक्यो।

यसअघि एमालेले जितेको फक्ताङ्लुङ, मिक्वाखोला र मैवाखोला गाउँपालिकामा यसपटक गठबन्धन विजयी भएको छ। फक्ताङ्लुङ र मैवाखोलामा माओवादी केन्द्र र मिक्वाखोलामा कांग्रेस विजयी भयो। कांग्रेसले जितेको सिदिङ्वा र आठराइ त्रिबेणी गाउँपालिका यसपटक एमालेले खोसेको छ।

एमालेले २०७४ सालमा जितेका ४ पालिकाको प्रमुख पदमध्ये २ कांग्रेस र २ माओवादी खोसेका छन्। त्यसमा फुङ्लिङ, मिक्वाखोला, फक्ताङ्लुङ र मैवाखोला रहेका छन्। तर कांग्रेसले यसअघि जितेका २ पालिकामा भने एमाले विजयी भएको छ।

अघिल्लो निर्वाचनमा प्रमुख पदमा जीत हासिल नगरेको माओवादीले उतिबेला जितेको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्ष पद यसपटक पनि कायम राख्दा फुङ्लिङ नगरको उपप्रमुख गुमाएको छ। तर, सिरिजङ्घा र मिक्वाखोला गाउँपालिकाको उपाध्यक्ष पद भने माओवादीले थप गरेको छ। गठबन्धनका कारण मिक्वाखोला र सिरिजङ्गाको उपाध्यक्ष पद गुमाएको कांग्रेसले यसपटक मैवाखोला र फक्ताङ्लुङबाट त्यसको क्षतिपूर्ति उठाएको छ।

एमालेले फक्ताङ्लुङ, मैवाखोला र मेरिङ्देन गाउँपालिकाको उपाध्यक्ष पद गुमाउँदा फुङलिङ नगरको उपप्रमुख पद लिएको छ। एमालेबाट विभाजन हुँदा मेरिङ्देन र आठराइ त्रिबेणीको उपाध्यक्ष पदसहित लिएर गएको नेकपा एसले मेरिङ्देनको उपाध्यक्ष पद सुरक्षित गरेको छ। गठबन्धनका कारण नेकपा एसले आठराइ त्रिबेणीमा उम्मेदवारी दिएको थिएन।

त्यहाँ माओवादी केन्द्रको भाग परेपनि एमालेले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ। यसअघि कांग्रेसले सिरिजङ्गा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद जित्दा एमालेले मैवाखोला, फक्ताङ्लुङ र पाथीभरा याङ्वरकमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो। एमालेले त्यो विरासत कायम राख्दै आठराइ त्रिबेणीकमा पनि दुवै पद सुरक्षित गरेको छ।

वडातहमा पनि भत्किए एक अर्काका गढ

२०७४ सालको स्थानीय तहको निर्वाचनमा यहाँका ६१ वडामध्ये एमालेले २९, कांग्रेसले २६, माओवादी केन्द्रले ५ र नयाँ शक्ति पार्टीले १ वटा वडाको वडाध्यक्ष जितेको थियो। यसपटक एमालेले २९, कांग्रेसले १५, माओवादी केन्द्रले १०, स्वतन्त्रले ४, नेकपा एसले २ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वटा वडाध्यक्ष जितेको छ।

प्रमुख पदको विरासत गुमाएको एमाले वडातर्फ भने समग्रमा अघिल्लो पटकको नतिजा बराबर नै गर्दा प्रमुख पदमा गत निर्वाचनको परिणाम बराबर भएको कांग्रेस वडातर्फ भने यसपटक केही कमजोर देखिएको छ। विपरीत गठबन्धन दल मओवादी प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडासदस्यमा अघिल्लो पटक भन्दा निकै राम्रो सुधार गर्न सफल भएको छ।

वडातर्फ फुङ्लिङ नगरपालिकामा यसअघि एमालेले जितेको वडा नं १, वडा नं २, वडा नं ५ र वडा नं १० एमालेले गुमाउँदा एमालेले कांग्रेसबाट वडा नं ३, वडा नं ७ र वडा नं ९ खोसेको छ। वडा नं १ कांग्रेसले, वडा नं २ नेकपा एसले र वडा नं ५ र १० माओवादी केन्द्रले जितेका छन्।

यसअघि कांग्रेसले जितेको वडा नं ६ र ८ तथा माओवादी केन्द्रले जितेको वडा नं ११ को नतिजा यसपटक साविककै दलका हातमा पुगेको छ। यसअघि माओवादी केन्द्रले जितेको वडा नं ४ मा यसपटक एमालेले वडाध्यक्ष जितेको छ। मिक्वाखोलाको वडा नं १,२ र ३ एमालेले कांग्रेसबाट खोस्दा वडा नं ४ को वडाध्यक्ष एमालेबाट कांग्रेसले खोसेको छ। वडा नं ५ मा यसअघि नयाँ शक्तिले जितेकोमा अहिले माओवादी केन्द्रले जितेको छ।

यसअघि ६ वटै वडाध्यक्ष जितेको मैवाखोलाका ६ मध्ये ५ वडाध्यक्ष यसपटक एमालेले गुमाएको छ। वडा नं ६ मा मात्र एमालेले विरासत जोगाउँदा वडा नं ३ र ४ कांग्रेसले १ र ५ माओवादी केन्द्रले र २ नेकपा एसले खोसेका छन्। मेरिरङदेनमा वडा नं १,२ र ६ को विरासत एमालेले कायम राख्दा वडा नं ३ गुमाएको छ भने त्यसको सट्टा वडा नं ५ थपेको छ। वडा नं ४ को विरासत कांग्रेसले कायम राख्दा वडा नं ३ थपेर वडा नं ५ गुमाएको छ।

एमालेले यसपटक आठराइ त्रिबेणीमा सुधार गरेको उसले कांग्रेसबाट वडा नं १ र वडा नं २ खोसेको छ। एमालेले वडा नं ३ र ४ को विरासत कायम राख्दा वडा नं ५ को विरासत माओवादी केन्द्रले कायम राखेको छ। वडाध्यक्षमा त्यहाँ कांग्रेस निल भएको छ। सिरिजङ्गाको वडा नं १ को विरासत कायम राखेको एमालेले कांग्रेसबाट वडा नं २ खोसेर वडा नं ३ बुझाएको छ।

वडा नं ४ मा माओवादी केन्द्रले आफ्नो विरासत कायम राख्दा कांग्रेसले वडा नं ५, ६ र ८ को विगतको वर्चश्व कायम राखे। यसअघि वडा नं ७ कांग्रेसले जितेको स्थानमा अहिले कांग्रेसकै विद्रोहीले जितेका छन्। पाथीभरा याङ्वरकमा वडा नं १ र २ र ६ को विरासत कायम राखेको एमालेले वडा नं ३ र ४ कांग्रेसबाट खोसेर विगतमा आफूले जितेको वडा नं ५ स्वतन्त्रलाई बुझाएको छ।

सिदिङ्वाका वडा नं १ र वडा नं २ को विगतको विरासत कायम राखेको एमालेले यसपटक वडा नं ३ र वडा नं ६ कांग्रेसबाट खोसेको छ भने वडा नं ४ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई बुझाएको छ। वडा नं ५ कांग्रेसबाट फुत्किएर स्वतन्त्रको भागमा पर्दा वडा नं ७ मा भने कांग्रेसले विरासत जोगाएको छ।

फक्ताङ्लुङको वडा नं १ मा आफ्नो विगतको विरासत कायम राखेको माओवादी केन्द्रले वडा नं २ एमालेबाट खोसेको छ। वडा नं ३ को विगतको विरासत कायम राखेको कांग्रेसले वडा नं ४ गुमाएको छ भने वडा नं ६ एमालेबाट खोसेको छ। वडा नं ५ मा एमालेले आफ्नो विरासत कायम राख्दा वडा नं ७ मा भने स्वतन्त्र रुपमा जनप्रतिनिधि निर्वाचित भएका छन्।

प्रकाशित: ७ जेष्ठ २०७९ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App