८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेले आश गरेका वडामाः मेयरमा रेनु, वडाध्यक्षमा एमाले

भरतपुर महानगरको प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल अघि बढेकी छिन्। कसरी अग्रता लिदैछिन् त रेनुले?  

मतदाताको मतले रेनुले अग्रता लिएको स्वभाविक हो। तर मतदाताले मत कसरी हालेछन् र क–कसलाई कति मत दिए? भन्ने प्रश्नहरुको उत्तर रोचक छन्।  

मतगणना भइसकेका र भइरहेका पछिल्ला वडाहरुमा आएको मतको प्रकृति हेर्दा मतदाताहरुले आफ्ना स्थानिय नेता राम्रैगरी छानेको देखिन्छ। अहिलेसम्मको मतपरिणाम र वडाहरुका मतादाताहरुको मतको बाँडफाँड विचित्रको देखिन्छ।  

एमालेले आश गरेका वडाहरुमा एमालेका उम्मेदवार विजयसूवेदीलाई भन्दा रेनुलाई बढि मत आइरहेको छ। मतदाताहरुले वडाध्यक्षमा भने एमालेलाई नै धेरै मत दिएको पाइयो।  

एमालेले आफ्नो पकड दाबी गरेको र धेरै आश गरेको वडामै मतपरिणाम यस्तो छ। मतदाताहरुले सर्लक्कै एउटा दल वा पार्टीलाई मत हालेको पाइएन। मेयर, उपमेयर र वडाध्यक्षहरुलाई छानेर र मिलाएर मत हालेका छन्।    

त्यसैले रेनुको खातामा अपेक्षा गरेभन्दा बढि मत आइरहेको छ भने नेकपा एमालेका उम्मेदवार विजय सूवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलका खातामा कम आइरहेको छ।  

एमालेले भरतपुर महानगरपालिकाका १०, ११ र १२ नम्बर वडामा सबैभन्दा बढी मत ल्याउने दाबी गरेको थियो। तर, प्रारम्भिक नतिजामा एमालेको अपेक्षा भन्दा फरक आएको छ।  

रेनुको मत बढ्दो क्रममा छ। एमालेले आशा गरेको भरतपुर १० मा सुवेदीले भन्दा रेनुले १४२ मत बढी ल्याएकी छिन्। उनले १९ सय ९३ मत ल्याउँदा सुवेदीले १८ सय ५१ मत मात्र ल्याएका छन्।  

स्वतन्त्र उम्मेदवार पौडेलले ९६९ पाए। अघिल्लो निर्वाचनमा भरतपुर १० नम्बर वडामा दाहालले ५३९ मत कम प्राप्त गरेकी थिईन।

अहिले भरतपुर ११ र १२ को मतगणना जारी छ। २९ वडामध्ये एमालेले सबैभन्दा बढी आशा गरेको वडा ११ नम्बर हो। तर, प्रारम्भिक नतिजा अनुसार यस वडामा रेनु दाहाल ११० मतले अगाडी छन्। ५ हजार ८०९ मतगणना हुँदा यस वडामा दाहालले २ हजार २४१ मत प्राप्त गरेकी छन्।  

सुवेदीले २ हजार १३१, र पौडेलले ३७४ मत प्राप्त गरेका छन्।  

तर, यहाँ वडाध्यक्षमा भने एमालेकै कमल मल्ल अगाडी छन्। उनले २ हजार ४९९ मत ल्याउँदा माओवादीका युवराज पौडेलले १ हजार ९२७ मत प्राप्त गरेका छन्। वडाध्यक्षलाई गएको भोट सुवेदीले पाउन सकेका छैनन्।  अघिल्लो निर्वाचनमा यस वडामा दाहालले १ हजार १६२ मत कम ल्याएकी थिईन्।  

भरतपुर १२ मा २२ सय ३९ मतगणना हुँदा रेनु १ सय ४१ मतले पछाडी छिन्।। यहाँ सुवेदीले ९ सय १८ मत ल्याउँदा रेनुले ७ सय ७१ र पौडेलले २सय ७३ मत प्राप्त गरेका छन्। यस वडामा ४ हजार ५३१ मत खसेको छ। अघिल्लो निर्वाचनमा भरतपुर १२मा एमालेले ६०६ मत बढी लिएको थियो।

यी वडाको मतगणना सकिँदा अग्रता लिने अपेक्षा गरेको एमालेले सोचेअनुसार मत ल्याउन सकेको छैन। तरपनि नेकपा एमालेका नेता देवी ज्ञवाली अहिलेको मतपरिणाम निराशाजनक नभएको बताउँछन्।  

‘निर्वाचन प्रक्रियामा जनताको मतको हेरफेर हुन्छ। स्वच्छ मतादेश सबैले स्वीकार गर्नुपर्छ,’ उनले भने, ‘अझै हाम्लाई मत आउने वडाहरु छन् निराशाजनक अवस्था छैन।’ उनले साविक चितवन नगरपालिका र नारायणी नगरपालिकामा पनि एमालेको प्रभाव राम्रै रहेको दावि गरेका छन्। उनले १२ नम्बर वडा गनिसक्दा अगाडी जाने योजना रहेको भएपनि अहिले त्यस्तो नतिजा नआएको स्वीकार गरे।  

पछिल्लो विवरण अनुसार, रेनु दाहालले ३ हजार २४० मतले अग्रता लिएकी छन्। ५४ हजार ७८० को मतगणना हुँदा दाहालले २० हजार ७३९ मत ल्याएकी छन्। उनलाई पछ्याउँदै विजय सुवेदीले १७ हजार ४९९ मत ल्याएका छन्। त्यस्तै स्वतन्त्र उम्मेद्वारी दिएका जगन्नाथ पौडेलको पनि ७ हजार ९५६ मत आएको छ।  

यस नतिजालाई नेकपा (माओवादी केन्द्र)ले अपेक्षा अनुसार नै मत आएको बताएको छ। हामीले २९ वटै वडामा सरदर २ सयको हाराहारीमा लिड गर्ने योजना थियो, नेकपा माओवादी चितवनका अध्यक्ष रामचन्द्र अधिकारीले भने, सोही अनुसार नै मत आएको छ।  

उनले ६ हजार हाराहारीको मतान्तरले विजय प्राप्त गर्ने योजना रहेको सुनाए। अघिल्लो निर्वाचनको परिणामलाई हेर्दा  १२ नम्बर वडापछि नेकपा एमालेको प्रभाव रहेका वडाहरु कम छन्। त्यसमध्ये १२ नम्बर वडापछि गन्न बाँकी १६, २२, २८ र २९ नम्बरमा मात्र एमालेले जितेको थियो। अन्य वडा नेपाली कांग्रेस र माओवादीले जितेका थिए। त्यसमध्ये १३, २५ र २६ वडामा माओवादीको राम्रो प्रभाव रहेको मानिन्छ।

स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले मत नकाटेको अवस्थामा सुवेदीलाई जित्न कठिन नै देखिन्छ। स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले अपेक्षा गरेअनुसार मत नआएको बताउँछन्। ‘४, ५, ६, ८ नम्बर वडामा अपेक्षा अल्लि बढी थियो। सो अनुसार आएको छैन्’, उनले भने ‘१४, १५, २० र २७ वडाबाट राम्रो मत आउने अपेक्षा छ।’ उनले निर्वाचन आचारसंहिता उलंघन गरि गठबन्धनले निर्वाचनमा राज्यको दुरुपयोग गरेको जिकिर समेत गरे। सोही अनुसार मतदाता भड्किएको उनको आरोप छ।  

अहिलेसम्म भरतपुरका १ देखि १० नम्बर वडाका मतगणना सकिएको छ। त्यसमध्ये विजय सुवेदीले २ र ३ नम्बर वडामा मात्र आफुलाई लिड गरेका छन्। अन्य वडामा दाहाल नै अगाडी देखिएकी छन्। उनले वडा नम्बर १मा १२१, ४मा ७९, ५मा ३४४, ६मा १हजार ३३९, ७मा ४१५, ८मा ७२९, ९मा ३३७ र १० नम्बर वडामा १४२ मत बढी लिएकी छन्। अघिल्लो निर्वाचनमा १० नम्बर वडासम्म आउँदा दाहाल ८८५ मतले पछि थिईन। 

प्रकाशित: ६ जेष्ठ २०७९ ०९:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App