८ वैशाख २०८१ शनिबार
राजनीति

लोसपाभित्रै विवाद

स्थानीय तहको निर्वाचनको परिणामलाई लिएर लोकतान्त्रिक समाजवादी पार्टीभित्र विवाद सुरु भएको छ। पार्टीलेअपेक्षा अनुसार परिणाम ल्याउन नसकेपछि लोसपाका केही नेताहरूले यसको जिम्मेवारी पार्टी अध्यक्ष महन्थ ठाकुरले लिनु बताएका छन्।

ठाकुरको असक्षमता र अकर्मन्यताको कारण पार्टीले पराजय भोगेको उनीहरूको विश्लेषण छ। खासगरी वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर नेताहरू ठाकुरप्रति आक्रोशित भएका छन्। २०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीले मधेस प्रदेशका २५ सिटमा पालिका प्रमुख पदमा विजयी भएको थियो। त्यसबेला राजपा मधेस प्रदेशमा मात्र भाग लिएको थियो।

मधेस प्रदेशमा मात्रै भाग लिदा पनि राजपाले २५ सिट ल्याएको थियो। यसपटक लोसपाले मधेस प्रदेश सहित देशभर उम्मेदवार दिएको छ। त्यसैले यसपटक कम्तीमा ३५ सिट नाघ्ने लोसपाका नेताहरूको अनुमान थियो। त्यसबेलाका जसपाका अधिकांश नेताहरू अहिले लोसपामा आबद्ध छन्। त्यसैले उनीहरूले यस्तो अनुमान गरेका थिए।

बिहीबार साँझसम्म लोसपाले ४ वटा पालिकामा प्रमुख तथा ५ वटा पालिकामा उपप्रमुख पदमा विजयी भएको छ। मतगणना भइरहेका ८ वटा पालिकमा भने लोसपाका उम्मेदवार प्रमुख पदमा अगाडि छन्।

लोसपाका कार्यकारिणी समितिका सदस्य राजिव झाले नेतृत्वको अकर्मन्यता र असक्षमताले पार्टीले पराजय भोगेको ठोकुवा गरे। ‘यसमा नेतृत्वले जिम्मेवार लिनु पर्छ। अब यसको समीक्षा गम्भिर रूपमा हुनु पर्छ,’ झाले भने, ‘लोसपाका उम्मेदवारहरूलाई विजय गराउन नेतृत्वले केही गरेन। युवाहरूलाई परिचालन गरिएन। नेतृत्व निष्क्रिय भएर बस्यो।’

लोसपाका अर्का एक नेताले भने, ‘चुनावको बेला केन्द्रबाट उम्मेदवारहरूलाई एक रूपैयाँ पनि सहयोग भएन। यस्तो भयो कि उम्मेदवारहरूले चुनाव जितुन् कि हारुन् नेतृत्वलाई मतलब भएन।’ तर ठाकुर निकट नेताहरू यो आरोपसँग सहमत छैनन्। ठाकुरनिकट एक कार्यकारिणी सदस्यले भने, ‘परिणामको जिम्मेवारी अध्यक्षज्यूले लिनु हुन्छ नै। तर पार्टीको वरिष्ठ नेता तथा कार्यकारिणी समितिका सदस्यहरू अध्यक्षलाई जिम्मेवारी दिएर उम्कन पाउनुहुन्न। उहाँहरू पनि उत्तीकै जिम्मेवार हुनुहुन्छ।’

मधेस प्रदेशका प्रदेश सांसद तथा लोसपाका कार्यकारिणी समितिका सदस्य उपेन्द्र महतोले स्थानीय तहको निर्वाचनमा पार्टीले अनुमान गरेभन्दा कम भोट ल्याएको बताउदै भने, ‘यसको जिम्मेवारी लोसपाको मधेस प्रदेश समितिले लिनुपर्छ।’ अध्यक्ष ठाकुरले केही महिनाअघि मधेस प्रदेश समितिको अध्यक्षमा जितेन्द्र सोनाललाई मनोनय गरेका थिए।

सोनाललाई मधेस प्रदेश समितिको अध्यक्षमा मनोनयन गरेको विषयमा त्यतिबेला नै महतो निकट नेताहरूले आक्रोश पोखेका थिए। त्यसबेला महतोनिकट कार्यकर्ताहरू काठमाडौंमा आई पार्टीको केन्द्रीय कार्यालयसमेत घेराउ गरेका थिए।

प्रकाशित: ६ जेष्ठ २०७९ ०६:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App