१५ चैत्र २०८० बिहीबार
राजनीति

सुदूरमा उदाउँदैछन् स्वतन्त्रका गोपाल हमाल, सहर बाहिरका वडाहरुको पनि साथ

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालले गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरणले अग्रता लिइरहेका छन्।

व्यवसायी र उद्योगीको पृष्ठभूमि भएका गोपाल हमाल सुन्दर सुदूरपश्चिमका अभियन्ता समेत हुन्। मुलुक संघीयतामा गएपछि भएको पहिलो स्थानीय तह को निर्वाचनमा हमालले यही उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार भएर निर्वाचन लडे। त्यतिबेला नेपाली कांग्रेसका नृप वड विजयी भए र हमाल दोश्रो भए।

अहिले पनि हमाल गठबन्धनका साझा उम्मेदवार बनेका नेपाली काग्रेसका नृपबहादुर वडसँगै प्रतिस्पर्धामा छन्। अघिल्लो निर्वाचनका बेला धनगढी सहर रहेको वडाबाट हमालले राम्रो मत पाएपनि सहर बाहिरका वडाबाट कम मत पाएकाले उनले पराजय भोग्नुपर्‍यो।

यसपटकको निर्वाचनमा भने मतगणना भएका सहर बाहिरका वडाहरुमा पनि स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिइरहेका छन्। सहर बाहिरका वडाहरुमा पनि हमालले राम्रो मत पाएर अग्रता लिएपछि हमाल जित उन्मुख रहेको विश्लेषण गरिन थालिएको छ।

अहिलेसम्म मतगणना भैसकेका धनगढी उपमहानगरको वडा नं १, वडा नं २, वडा नं ३, वडा नं ४, वडा नं १८ र वडा नं १९ मा हमालले अग्रता लिएका छन्। सहरमा रहेका वार्ड नं १, २, ३, ४ मा ६० प्रतिशत मत पाएका छन्। मतगणना भएकामध्ये वडा नं १७ मा हमालले अग्रता लिन सकेनन्।

मतगणना भैरहेका वडा नं ५, वडा नं ६, वडा न ७ र वडा नं १५ मा पनि स्वतन्त्र उम्मेदवार हमालले अग्रता लिइरहेका छन्। अब मतपेटीका खोल्न बाँकी रहेका वडाहरु वडा नं ८, वडा नं ९, वडा नं १०, वडा नं ११, वडा नं १२ र वडा नं १४ बाँकी छन्।

स्वतन्त्र उम्मेदवार हमालको उम्मेदवारीका समर्थक समेत रहेका प्रकाश भट्ट आफूहरुले आकलन गरेभन्दा राम्रो मत प्राप्त भैरहेकोले १० हजार भन्दा बढी मत अन्तरले जित्ने बताए। वडा नं १७, वडा नं १० र वडा नं ११ मा आफूहरु अग्रता लिन नसक्ने आकलन गरिएको उनले बताए।

बिहीबार साँझ करिब ३६ हजार मतगणना हुदाँ हमाल गठबन्धनका उम्मेदवार वड भन्दा ८ हजार भन्दा बढी मतान्तरणले अग्रता लिइरहेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठबन्धन गरिएको यहाँ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वड हमाललाई पछ्याइरहेका छन्।

एमालेका तर्फबाट रणबहादुर चन्द उम्मेदवार बनेका छन्। सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी रहेको धनगढी शैक्षिक, औद्योगिक, व्यवसायिक केन्द्रका साथै प्रधानमन्त्री धर्मपत्नी आरजु राणाको संघिय संसदिय निर्वाचन क्षेत्र पनि हो।

ठूला राजनीतिक दललाई स्वतन्त्र उम्मेदवार हमालले कडा चुनौती दिने देखिएको र राजनीतिक दलले पनि बढी महत्व दिएको भएकाले धनगढीको निर्वाचनलाई सुरुदेखि विशेष चासोका साथ हेरिएको थियो। नेकपा एमालको अध्यक्ष केपी शर्मा ओली यहाँको चुनावी सभा सम्बोधन गर्नपुगे भने लगत्तै प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि यहाँ पुगेर चुनावी सभा सम्बोधन गरे।

सुदूरपश्चिमको चुनावी सभालाई सम्बोधन गर्न आएका देउवा मतदानसम्म करिब एक साता सुदूरपश्चिममा रहदाँ अधिकांश समय धनगढीमा बिताएका थिए। आरजुको निर्वाचन क्षेत्र भएकाले धनगढीको निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वडलाई चुनाव जिताउन देउवाले धनगढीमा विशेष ध्यान दिएका थिए।

नेपाली काग्रेसबाट ५ वर्षको लागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका यहाँका प्रभावशाली नेपाली कांग्रेसका नेता पुष्करनाथ ओझालाई फकाउने कोशिश गरेपनि प्रधानमन्त्री देउवा सफल हुन सकेनन्। कारबाही फुकुवा गर्ने भन्दै देउवाले ओझालाई भेट्न वोलाउदाँ उनले चुनाव अघि भेट्नु राम्रो नहुने भन्दै भेट्न अस्वीकार गरेको नेपाली कांग्रेसका एक नेताले बताए।

प्रधानमन्त्री पत्नी राणालाई २०७४ सालको प्रतिनिधी सभामा चुनाव हराउन भूमिका खेलेको ओझामाथि आरोप छ। मेयरको टिकट वितरणमा समेत काग्रेस भित्र असन्तुष्टी देखिएको थियो। धनगढी उपमहानगरपालिकाले अघिल्लो ५ वर्षमा जनताको चाहना बमोजिम विकासका काम गर्न नसकेकोले जनतामा असन्तुष्टी थियो। वर्षातमा धनगढीमा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुने, समान्य वर्षा हुँदा पनि खोलानाला अतिक्रमणका कारण धनगढी नगर डुवानमा पर्ने समस्याले यहाँ वासिन्दालाई पिरोलेको थियो।

यसैगरी समान्य आधारभुत आवश्यकता खानेपानी, शिक्षा, स्वास्थ्य समेत उपमहानगरपालिका भएर पनि स्थानीयले नपाएको गुनासो गर्दै आएका छन्। भ्रष्टाचार नगर्ने र विकास गर्ने नेतालाई आफूले रोजेर मतदान गरेको मतदान पछि भेटिएका मतदाताहरुको प्रतिक्रिया थियो।

समाजिक सेवाका काम गर्दै आएको, सुन्दर सुदूरपश्चिमको अभियन्ता भएर यहाँको विकासको लागि वकालत गर्दै आएका थिए। नगरपालिकाको कुनै सेवा सुविधा नलिने, भ्रष्टाचार नगर्ने र गर्न नदिइ धनगढीको नमुना विकास गर्ने हमालको ऐजेण्डा पत्याएर जनताको राम्रो मत पाएको नागरिक समाजका अगुवा प्रमोद पाठक बताउँछन्।

धनगढी उपमहानगरपालिकामा ६३ हजार ७ सय १५ ले मतदान गरेका छन्। यसअघि २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका वडले १४ हजार ३ सय २४ मत ल्याउँदा हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए। भने तेश्रो भएका माओवादी केन्द्रका रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याएका थिए भने एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए।

प्रकाशित: ५ जेष्ठ २०७९ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App