७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेको इलाकामा कांग्रेसको इन्ट्रि, खैरहनीमा कांग्रेसका खाँनिया निर्वाचित

पूर्वी चितवनलाई कम्युनिष्टको आधार इलाकाका रुपमा हेर्ने गरिन्छ। यहाँबाट निर्वाचित नेताहरुले राष्ट्रिय स्तरमा समेत नाम लेख्न सफल भएका छन्। नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डे, एमाले नेता स्वर्गिय जागृतप्रसाद भेटवाल, जेएन थपलिया, दाबा लामा पूर्वी चितवनकै हुन्। उनीहरुको त्यहाँ राम्रो प्रभाव छ। 

२०४६ सालदेखि नै संसदीय चुनाव र संविधान सभाको निर्वाचनमा चितवनको क्षेत्र नम्बर एक एमालेले जित्दै आएको छ। २०५६ मा भने नेपाली कांग्रेसकी साबित्री बोगटी (पाठक)ले निर्वाचन जितेकी थिईन्। सोही क्षेत्रमा पर्ने खैरहनी नगरपालिकामा कांग्रेसले एमालेको गढ भत्काएको छ।  

बुधबार समपन्न मतगणनामा खैरहनी नगरप्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन्। उनले आफ्नो निकतम प्रतिद्धन्दी नेकपा एमालेका लालमणी चौधरीलाई ८ सय ५० मतले पछि पार्दै विजयी भएका हुन्। खनियाले १४ हजार ५ सय ४५ मत प्राप्त गर्दा चौधरीले १३ हजार ६ सय ९५ मत प्राप्त गरेका छन्। चौधरी पहिलो संविधान सभाको निर्वाचनमा निर्वाचित सदस्य समेत हुन् भने, खैरहनी नगरपालिकाको निवर्तमान प्रमुख समेत हुन्। अघिल्लो निर्वाचनमा चौधरीले नेपाली कांग्रेसका राजेन्द्रप्रसाद चौधरीलाई ९८४ मत अन्तरले हराएका थिए। चौधरीले १० हजार ७१७ भोट प्राप्त गरेर विजयी भएका थिए। उनकै पालामा खैरहनी नगरपालिका देशै उत्कृष्ट नगरपालिका समेत  बनेको थियो।  

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकी कविता उप्रेती निर्वाचित भएकी छिन्। उनले गठबन्धनकोतर्फबाट माओवादी केन्दकी लक्ष्मी ढकाललाई ४ हजार ४ सय ९४ मत अन्तरले पराजित गरेकी छिन्। उप्रेतीले १४ हजार १ सय ६४ मत ल्याउदा ढकालले ९ हजार ६ सय ७० मत ल्याएकी छिन्। खैरहनीको ५ वटा वडामा नेकपा एमालेको प्यानलनै विजयी भएका छन् भने नेपाली कांग्रेसले ४ वटा वडामा प्यानलमै विजयी भएका छन्। खैरहनीको वडा नम्बर ४,५,६,७,९,११ मा एमालेका सबै उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसबाट वडा नम्बर २,८,१० र १२ मा सबै उम्मेदवार विजयी भएका छन्। त्यस्तै वडा नम्बर १ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ५ र १३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। खैरहनीमा ३२हजार ३०० मत खसेको थियो।  

इच्छाकामना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेद्वार विजयी

चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार दानबहादुर गुरुङ अध्यक्षमा र उपाध्यक्षमा एमालेकै मायाँ सिलवाल विजयी भएका छन्। एमालेका गुरुङले नेपाली कांग्रेसकी अध्यक्षको उम्मेदवार गीताकुमारी गुरुङलाई फराकिलो मत अन्तरले पछाडि पार्दै विजयी भएका हुन्। एमालेका दानबहादुरले  ६ हजार ११० मत ल्याउँदा कांग्रेसकी गीताकुमारीले ४ हजार ६०८ मत ल्याएकी छन्। आज वडा नम्बर ७ को मत गणना सकिएसँगै विजय घोषणा गरिएको हो। एमाले निकट शिक्षक संगठन चितवनको निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका गुरुङ सो क्षेत्रमा निकै लोकप्रिय नेता मानिन्छन्। गीताकुमारी गुरुङ इच्छाकामना गाउँपालिकाकी निवर्तमान अध्यक्ष समेत हुन्। २०७४मा कांग्रेसका तर्फबाट गिता गुरुङले ३ हजार २ सय ५४ मत ल्याएर विजयी भएका थिए।  

त्यसैगरी उपाध्यक्षमा एमालेकी माया सिलवालले ५  हजार ३४४ मत प्राप्त गर्दै विजयी भएकी छन्। उनले माओवादी केन्द्रका प्रताप गुरुङलाई ३०० मतले पराजित गरेकी हुन्।  प्रतापले ५  हजार ४४ मत प्राप्त गरेका थिए। यसअघि गुरुङ माओवादीबाट अध्यक्षका उम्मेदवार थिए। उनले २ हजार ३ सय ९९ मत पाएका थिए।

७ वटा वडा रहेको इच्छाकामना गाउँपालिकामा एमालेले ५, कांग्रेस र माओवादीले १/१ वटा वडा जितेका छन्। वडातहमा यसपाली निर्वाचित भएका वडाध्यक्षहरुमा एमालेका तर्फबाट २ मा पञ्चबहादुर प्रजा, ३ मा नरबहादुर नेपाल, ४ मा रुद्रप्रसाद उप्रेती, ५ मा तेजबहादुर शेरचेन, ६ मा लक्ष्मण प्रजा भएका छन्। माओवादी केन्द्रबाट वडा नम्बर १ मा सन्तबहादुर मगर निर्वाचित भएका छन्। वडा नम्बर ७मा कांग्रेसका बमबहादुर थापामगर विजयी भएका छन्।

प्रकाशित: ४ जेष्ठ २०७९ १५:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App