६ वैशाख २०८१ बिहीबार
राजनीति

दोलखाको तामाकोशीमा एकीकृत समाजवादी र वैत्येश्वरमा कांग्रेस विजयी

१) प्रोणप्रताप केसी २) सिर्जना सुवेदी ३) छवि लामा ४) कल्पना उप्रेती।

दोलखाको तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीले अध्यक्ष पद जितेको छ भने वैत्येश्वर गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ। तामाकोशी गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका प्रोणप्रताप केसी अध्यक्ष पदमा विजयी भएका छन्।

बुधबार बिहान सकिएको मतगणना अनुसार नेकपा एसका उम्मेदवार केसीले एमाले उम्मेदवार अभिषेक सुवेदीलाई २ हजार २४ मतको अन्तरले हराए। यस्तै उपाध्यक्ष पदमा नेपाली कांग्रेसकी सिर्जना सुवेदी विजयी भएका छन्। उनले एमाले उम्मेदवार अम्बिका पोखरेललाई हराइन्।

यो गाउँपालिकामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन थियो। गाउँपालिकाका ७ ओटा वडा मध्ये ३ ओटामा कांग्रेस, दुई ओटामा एमाले, एउटा वडामा माओवादी केन्द्र र एउटामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

वडा नं. ३, ४ र ६ कांग्रेसले जितेको छ। यस्तै १ र ७ नं वडामा एमालेका वडाध्यक्ष विजयी भएका छन्। वडा नं. ५ माओवादी केन्द्रले जितेको छ। कांग्रेसका दिवंगत नेता स्वर्गीय भीमबहादुर तामाङको गृह गाउँ २ नं वडामा झुलेमा कांग्रेसकै बागी उम्मेदवारहरुको स्वतन्त्र टिमले जितेको छ।

२०७४ मा यो गाउँपालिका एमालेले जितेको थियो। यस्तै वैत्येश्वर गाउँपालिकामा कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको छ। बुधबार बिहान सकिएको मतगणना अनुसार कांग्रेसका छवि लामाले एमालेका माधवप्रसाद घिमिरेलाई २१ सय २७ मतको अन्तरले हराउदै विजयी भएका हुन्।

यस्तै कांग्रेसकी उपाध्यक्ष उम्मेदवार कल्पना उप्रेतीले एकीकृत समाजवादीका कल्याण दाहाललाई २५ सय ५५ मतको अन्तरले हराएकी छिन्। यो गाउँपालिका सत्ता गठबन्धनको प्रदेश स्तरिय संयन्त्रले कांग्रेसको भागमा पारे पनि स्थानीय पार्टी नेतृत्वले गठबन्धन सहमति तोडे पछि कांग्रेस एक्लै लडेको थियो।

माओवादी केन्द्र र समाजवादीबीच यहाँ गठबन्धन थियो। एमाले र कांग्रेस एक्लै लडेका थिए। गाउँपालिकाका ८ ओटा वडा मध्ये ४ ओटामा कांग्रेस, दुई ओटामा माओवादी केन्द्र र दुई ओटामा एमाले विजयी भएका छन्। 

प्रकाशित: ४ जेष्ठ २०७९ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App