८ वैशाख २०८१ शनिबार
राजनीति

‘प्रचण्ड’ को निर्वाचन क्षेत्रमा माओवादी पराजित

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका मेयरका उम्मेदवार पराजित भएका छन्। माडी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्दै एमालेकी ताराकुमारी काजी महतो विजयी भएकी छन्। 

महतोले ९ हजार ९ सय १ मत प्राप्त गरेकी छन्। उनले माओवादी केन्द्रका ऋषि काफ्लेलाई २ हजार १ सय ७२ फराकिलो मतान्तरले पराजित गरेकी हुन्। काफ्लेले ७ हजार ७ सय २९ मत ल्याएका थिए। ताराकुमारी २०७४ मा ४ हजार ६ सय ९० मत ल्याएर उपमेयरमा निर्वाचित भएकी थिईन्। उपमेयरमा कांग्रेसका खेमप्रसाद महतो निर्वाचित भएका छन्। 

उनले ६ हजार ८ सय ३० मत ल्याएका छन्।  २०७४ को चुनावमा मेयरको उम्मेदवार हुँदा ३ हजार ८ सय २९ मत ल्याएका थिए। पराजित उपमेयरका उम्मेदवार मदनप्रसाद पौडेलले ५ हजार १ सय ४०, स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले ३ हजार ८६ मत प्राप्त गरेका छन्। कृष्णप्रसाद कांग्रेसका बागी उम्मेदवार थिए। तर, उनले जिल्ला सदस्यमा हार व्यहोरेपछि कांग्रेसबाट राजिनामा दिएका थिए।  

खेमप्रसादलाई हराउने कृष्णप्रसाद पौडेलको चाहना भने अधुरो बनेको छ। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेको चुनावी क्षेत्रमै माओवादीले मेयरमा र राप्रपाले उपमेयरमा हार व्यहोरेको छ। मेयरमा एमाले र उपमेयरमा कांग्रेसका उम्मेदवारले जितेपनि वडातहमा कमजोर बनेका छन्।  

एमालेबाट ६ नम्बर वडामा दिपेन्द्रराज पौडेलबाहेक अन्य सबै सबै वडाध्यक्षका उम्मेदवार पराजित बनेका छन्। कांग्रेसले वडाध्यक्षमा एक ठाउँमा पनि जित्न सकेन। २०७४ को चुनावलाई तुलना गर्दा एमाले र कांग्रेस वडातहमा कमजोर बनेको देखिन्छ। माओवादी केन्द्र र राप्रपा वडातहमा बलियो बनेको छ। यसपाली माओवादी केन्द्रबाट २ मा डण्डपाणी पौडेल, ४ मा माधवप्रसाद चापागाई, ५ गणेशप्रसाद विश्कर्मा घताने, ९ मा घनश्याम दवाडी वडाध्यक्षमा निर्वाचित भएका छन्।  

माओवादीले यसपाली ८ सदस्यमात्रै जितेको छ। २०७४ को स्थानीयतहमा मेयर, ३ वडाध्यक्ष, १४ सदस्यपदमा जितेको थियो। राप्रपाले वडा नम्बर १ मा अमितकुमार लामा, ८ मा वीरेन्द्रबहादुर भण्डारी वडाध्यक्ष र ५ जना सदस्य जितेको छ। २०७४ मा १ वडासदस्यमात्रै जितेको थियो। एमालेबाट यसपाली ६ नम्बर वडामा दिपेन्द्रराज पौडल, १२ सदस्य जितेको छ। 

२०७४ मा एमालेले ५ वडाध्यक्ष र १९ सदस्य जितेको थियो। एमाले विभाजित भएर बनेको एकिकृत समाजवादीले २ वडाध्यक्ष जितेका छन्। एकिकृत समाजवादीबाट वडा नम्बर ३ मा पुरन महतो, ७ मा चन्द्रकुमारी बानियाँ निर्वाचित छन्। कांग्रेसले यसपाली ८ वडा सदस्यमात्रै जितेको छ। २०७४ मा एक वडाध्यक्ष र २ सदस्य जितेको थियो। माडीमा २८ हजार ३ सय २० मतदाता रहेकोमा २० हजार ४ सय ९५ मत खसेको थियो।

प्रकाशित: ३ जेष्ठ २०७९ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App