चिंगाड गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार बोधविक्रम जिसी निर्वाचित भएका छन्। जिसीले नेपाली कांग्रेसका डोरप्रसाद शर्मालाई पराजित गरे। जिसीले तीन हजार ५९१ मत ल्याउँदा उनका निकतम प्रतिद्वन्द्वी शर्माले तीन हजार ५३० मत प्राप्त गरे। यहाँ माओवादी केन्द्रले पालिका प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएको थिएन्।
उपाध्यक्षमा पनि एमाले विजयी भएको छ। कांग्रेसकी मनमाया आचार्यलाई पराजित गर्दै एमाले उम्मेदवार मिनाकुमारी रोकाय उपाध्यक्षमा निर्वाचित भइन्। विजयी रोकायले तीन हजार ५८१ मत प्राप्त गरिन् भने प्रतिद्वन्द्वी आचार्यले तीन हजार ४६९ मत प्राप्त गरिन्। छ वडा रहेको चिंगाडमा तीन वडामा कांग्रेस र तीन वडामा एमाले विजयी भएको छ।
२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका जिसी तेस्रो भएका थिए। अघिल्लो निर्वाचनमा कांग्रेसका देवबहादुर चन्द २९४९ मत ल्याएर विजयी हुँदा एमालेका बखतबहादुर खत्री २३८५ मत ल्याएर दोस्रो भएका थिए। उक्त निर्वाचनमा जिसी माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा चुनावी मैदानमा थिए। उनले १७२१ मत प्राप्त गरेका थिए।
माओवादी छोडेर एमाले भएका जिसी माओवादीकै मतले विजयी भए। माओवादी केन्द्रको चिंगाड गाउँपालिकाले विज्ञप्ति निकालेरै एमालेलाई मत दिन अपिल गरेको थियो। २०७४ सालमा यहाँ पालिका प्रमुख र उपप्रमुख दुबै कांग्रेसले जितेको थियो।
प्रकाशित: ३ जेष्ठ २०७९ ११:०९ मंगलबार