coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं उपत्यकामा कांग्रेस र नेमकिपाले खाता खोले

स्थानीय तह निर्वाचन अन्तर्गत काठमाडौंको एउटा पालिका जितेर नेपाली कांग्रेसले उपत्यकामा पनि खाता खोलेको छ। काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत र उपमेयरमा बसन्ती डंगोल विजयी भएका हुन्। बस्नेतले ७ हजार २ सय एक मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका श्रीराम आचार्यले ५ हजार १ सय ९२ मत पाएको नगर निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्। त्यस्तै उपमेयरमा ७ हजार ६ सय २३ मत ल्याएर डंगोल विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेकी इन्दिरा न्यौपानेले ४ हजार ८ सय ३० मत पाएकी थिइन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा बस्नेत दक्षिणकाली नगरपालिकाका मेयरमा विजयी भएका थिए। नौवटा वडा रहेको दक्षिणकाली नगरपालिकामा कांग्रेसले वडा नम्बर २, ४, ५, ६, ८ र ९ जितेको छ भने वडा नम्बर १, ३ र ७ मा नेकपा एमालेले जितेको छ। १७ हजार ९ सय १६ मतदाता रहेको दक्षिणकाली नगरपालिकामा कुल ८१ प्रतिशत (१४ हजार ४ सय ८८) मत खसेको थियो।

स्वतन्त्रको दबाब

काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोलले अग्रता लिइरहेका छन्। काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ मा लौरो चुनाव चिह्नबाट स्वतन्त्र उम्मेदवार जयराम महत विजयी भएका छन्। ९ वटा वडा रहेको गोकर्णेश्वरमा मतगणना जारी रहँदा मेयरमा नेपाली कांग्रेसका दीपक रिसाल र उपमेयरमा नेकपा एमालेकी सान्नानी लामाले अग्रता लिएका छन्। यसअघि सो नगरपालिकामा कांग्रेस विजयी भएको थियो।

नेपाली कांग्रेसले आफूलाई वडाध्यक्षको उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका महतले १ हजार २७ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका श्रीकुमार श्रेष्ठले ९ सय २९ मत पाएका छन्।

गोकर्णेश्वर नगरपालिका–१, २ र ३ मा भने नेकपा एमालेका उम्मेदवार क्रमशः द्वारिका श्रेष्ठ, मधु तामाङ र मुरारी कुइँकेल विजयी भएका छन्। १ लाख ५१ हजार २ सय जनसंख्या भएको गोकर्णेश्वरमा ३३ हजार ८ सय ९८ मतदाता छन्। गोकर्णेश्वर नगरपालिकाकी निर्वाचन अधिकृत रञ्जु गौतमका अनुसार स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत मतदान भएको थियो।

मतगणना जारी रहेको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकी अनिता लामाले अग्रता लिएका छन्। १३ वडा रहेको बुढानीलकण्ठ नगरपालिकाअन्तर्गत वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसका बागी उम्मेदवार आकाश धितालले जितेका छन्। बुढानीलकण्ठ नगरपालिका–१ र २ मा एमालेका उम्मेदवार सुरेन्द्र लामा र राजेन्द्र श्रेष्ठ तथा वडा नम्बर ४ र ५ मा नेपाली कांग्रेसका उम्मेदवार श्रीराम केसी र कृष्ण शाह ठकुरी वडाध्यक्ष निर्वाचित भएका छन्। बुढानीलकण्ठ नगरपालिकामा ४८ हजार ५ सय ७५ मतदाता रहेका छन्। जसमध्ये ३४ हजार ४ सय ६४ जनाले मतदान गरेका छन्। बुढानीलकण्ठमा ७१ प्रतिशत मतदान भएको थियो।

चन्द्रागिरी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरी र उपमेयरमा नेकपा एमालेकी वसन्ती श्रेष्ठले अग्रता लिएका छन्। १५ वटा वडा रहेको चन्द्रागिरी नगरपालिकामा ४७ हजार २ सय ६४ मतदाता छन्। चन्द्रागिरि नगरपालिकाअन्तर्गत वडा नम्बर १, ३ र ४ मा क्रमशः नेपाली कांग्रेसका हरिशरण राना मगर, दुर्गालाल महर्जन र कृष्णप्रसाद खड्की, वडा नम्बर २ र ५ मा माओवादीका भाइकृष्ण तामाङ र राजेन्द्र महर्जन तथा वडा नम्बर ६ मा नेकपा एमालेका सञ्जय सिग्देलले वडाध्यक्ष जितिसकेका छन्।

त्यस्तै, कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी र उपमेयरमा जनता समाजवादी पार्टीका शुभलक्ष्मी शाक्यले अग्रता लिएका छन्। १० वटा वडा रहेको कीर्तिपुर नगरपालिकाअन्तर्गत वडा नम्बर ४ मा स्वतन्त्र उम्मेदवार श्यामकुमार अधिकारी, वडा नम्बर ५, ६ र ७ मा नेपाली कांग्रेसका राजेन्द्रकुमार महर्जन, खिरमान बस्नेत र दिवाकर शर्मा अधिकारी निर्वाचित भएका छन्। ३० हजार ३ सय २८ मतदाता रहेको कीर्तिपुर नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिएकी थिइन्।

मतगणना जारी रहेको टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार रजनी थापा र उपमेयरमा मुरारी तामाङले अग्रता लिएका छन्। ११ वटा वडा रहेको टोखा नगरपालिकाअन्तर्गत वडा नम्बर १ मा नेपाली कांग्रेसका रमेशकुमार लामिछाने र वडा नम्बर २, ३, ४ र ५ मा नेकपा एमालेका वडाध्यक्ष धर्मेन्द्र श्रेष्ठ, रमेश डंगोल, धर्मेन्द्र श्रेष्ठ र मदन गुरुङ निर्वाचित भएका छन्। टोखा नगरपालिकामा ३४ हजार ६ सय ७६ मतदाता रहेका छन्।

त्यस्तै, मतगणना भइरहेको कागेश्वरी मनहरा नगरपालिकाको मेयर उम्मेदवार नेपाली कांग्रेसका उपेन्द्र कार्की र उपमेयरमा नेकपा एमालेकी शान्ता थापाले अग्रता लिइरहेका छन् भने तारेकेश्वर नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार कृष्णहरि महर्जन र उपमेयरमा सिर्जना बुर्लाकोटीले अग्रता लिइरहेका छन्। त्यस्तै नागार्जुन नगरपालिका मेयरमा नेपाली कांग्रेसका मोहन बस्नेत र उपमेयरमा नेकपा एमालेकी सुशीला अधिकारी तथा शंखरापुर नगरपालिका मेयरमा राप्रपाका उम्मेदवार रमेश नापित र उपमेयरमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले अग्रता लिइरहेका छन्।

लतिलपुरमा पनि स्वतन्त्र विजयी

ललितपुर महानगरपालिका–१ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार निर्वाचित भएका छन्। २९ वडा रहेको ललितपुर महानगरको वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार तण्डुकारले ६ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्रुव तण्डुकारले ४ सय २५ मत पाएका थिए।

भक्तपुरमा नेमकिपा विजयी

त्यस्तै, भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापति र उपमेयरमा रजनी जोशी निर्वाचित भएसँगै नेमकिपाले पनि उपत्यकामा खाता खोलेको छ। भक्तपुर नगरपालिका–१ मा श्यामकृष्ण खत्री, वडा नम्बर २ मा हरिप्रसाद बासुकला, वडा नम्बर ३ मा राजकृष्ण गोरा, वडा नम्बर ४ मा उपेन्द्र सुवाल, वडा नम्बर ५ मा योगेन्द्रमान बिजुक्छे, वडा नम्बर ६ मा हरिराम सुवाल, वडा नम्बर ७ मा उकेश कवाँ, वडा नम्बर ८ मा कृष्णप्रसाद कोजू, वडा नम्बर ९ मा रविन्द्र ज्याख्व र वडा नम्बर १० मा लक्ष्मीप्रसाद ह्यौंंमिखा विजयी भएका छन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App