coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोहोरिएका अनुहारलाई मतदाताले पत्याएनन्

२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेस दैलेखका चार वटा पालिकामा विजयी भएको थियो। सोमबारसम्म सार्वजनिक नतिजा अनुसार यो पटकको निर्वाचनमा चार मध्ये तीन वटा पालिका कांग्रेसले गुमाएको छ।

हारेका तीन वटै पालिकामा कांग्रेसले पुरानै अनुहार दोहोर्‍याएको थियो। गुराँसमा खेमराज वली, डुंगेश्वरमा नगेन्द्रबहादुर मल्ल र नौमुलेमा भदे बुढालाई कांग्रेसले दोहोर्‍याएको थियो। गुराँस र डुंगेश्वरमा एमाले विजयी भयो भने नौमुलेमा माओवादी केन्द्रले बाजी मार्‍यो।

दैलेखमै नयाँ अनुहारलाई उम्मेदवार बनाएको ठाउँमा भने कांग्रेस विजयी भएको छ। दैलेखका ११ पालिका मध्ये ६ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ। तीन वटा गाउँपालिका गुमाएको कांग्रेसले नयाँ दुई वटा गाउँपालिकामा जीत हात पारेको छ। महाबु र भैरवीमा कांग्रेस विजयी भएको छ । महावुमा लक्ष्मण गुरुङ र भैरवीमा रिता शाही विजयी भए।  

कर्णालीमा ७९ स्थानीय तह छन्। ती मध्ये २२ वटा पालिकाको नतिजा आएको छ। दुई पालिका प्रमुख निर्विरोध भएकाबाहेक मतदानबाट निर्वाचित भएका सबै नयाँ अनुहार गाउँ/नगरको नेतृत्वमा आएका छन्। 

मध्यपश्चिम विश्वविद्यालयका उपप्रध्यापक कमलराज लम्साल युवा उम्मेदवारप्रतिको आकर्षण, मतदातामा परिवर्तनको चाहना र चुनावी घोषणापत्र अनुसार दोहोरिएका उम्मेदवारहरुले काम नगर्दा नयाँ अनुहार नेतृत्वमा आएको बताए। ‘दोहोरिएका उम्मेदवारहरुले चुनावी घोषणा अनुसार काम गर्न नसक्नुको परिणाम हो,’ उपप्रध्यापक लम्सालले भने, ‘यसका साथै मतदातामा परिवर्तनको चाहना र युवाप्रतिको आकर्षणले पनि पुराना अनुहारले पराजय भाग्नुको कारण हुन्।’

कालिकोटको खाडाचक्र नगरपालिकामा २०७४ सालको निर्वाचनमा एमालेका जसीप्रसाद पाण्डे निर्वाचित भए। यो पटक उनी स्वतन्त्र उम्मेदवारसँग पराजित हुन पुगे। अघिल्लो निर्वाचनमा पाण्डेले २२०५ मत ल्याएर माओवादी केन्द्रका लक्ष्मीप्रसाद चौलागाईँलाई पराजित गरेका थिए। यो निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार कमलबहादुर शाहीबाट पराजित भए। शाहीले दुई हजार ९१९ मत ल्याउँदा पाण्डेले दुई हजार ६०९ मत मात्रै ल्याउन सके।

कर्णालीमा मत परिणाम सार्वजनिक भएका मात्रै होइन्, मत गणना भइरहेका ठाउँमा पनि दोहोरिएका उम्मेदवार पछाडि छन्। कालिकोटकै सान्नीत्रिवेणी गाउँपालिकामा अघिल्लो निर्वाचन माओवादी केन्द्रले जितेको थियो। माओवादी केन्द्रका डम्वरबहादुर शाही एक हजार ७३१ मत ल्याएर विजयी भएका थिए। यो निर्वाचनमा उनी पराजय नजिक पुगेका छन्। सान्नीत्रिवेणीमा स्वतन्त्र उम्मेदवार मोहनबहादुर केसीले एक हजार २६२ मत ल्याउँदा माओवादीका उम्मेदवार शाहीले ९६९ मत मात्रै प्राप्त गरेका छन्।

संघीयतापछिको पहिलो स्थानीय तह निर्वाचनमा दल र उम्मेदवारहरुले जनतालाई ठूलाठूला सपना देखाए। काठमाडौंको सिंहदरवार गाउँगाउँ पुगेपनि जनप्रतिनिधिहरुले जनताको अपेक्षा अनुसार काम गर्न सकेनन्। ‘अघिल्लो निर्वाचनमा पार्टी र मतदाताले जनतालाई रेल, पानीजहाज र केबुलकारका सपना बाँडे,’ अधिवक्ता दुर्गाप्रसाद सापकोटाले भने, ‘सपना देखाउनेहरुलाई अहिलेको चुनावमा जनताले पत्याएनन् ।’

२२ पालिकाको नतिजा सार्वजनिक

कर्णालीका ७९ स्थानीय तह मध्ये २२ पालिकाको नतिजा सार्वजनिक भएको छ। २२ मध्ये ९ पालिका जितेको छ। माओवादी केन्द्रले सात, नेकपा एमालेले तीन र एकीकृत समाजवादीले दुई पालिका जितेका छन् । यस्तै एक पालिकामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कहाँ को विजयीः

हुम्ला

ताँजाकोट गाउँपालिका  

अध्यक्षः लालकेश जैशी (१८१०) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः सरेन्द्रबहादुर थापा (१३९१) नेपाली काँग्रेस

नाम्खा गाउँपालिका

अध्यक्ष प्रेमबहादुर लामा (१४६६) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः तकदीर लामा (१०५४) नेपाली काँग्रेस

खार्पुनाथ गाउँपालिका

अध्यक्षः कर्णबहादुर रावल (१८१०) नेपाली काँग्रेस

उपाध्यक्षः ज्ञानबहादुर सिंह (१८७१) नेकपा माओवादी केन्द्र

मुगु

मुगुङकार्मारोङ गाउँपालिका

अध्यक्षः छिरीङ क्यान्पे लामा (१५७१) नेपाली कांग्रेस  

उपाध्यक्षः छिरीङ पुटी लामा (१५१६) नेकपा एमाले

डोल्पा

ठूलोभेरी नगरपालिका

प्रमुखः स्वबर्णबहादुर बुढा (१२८६) नेपाली काँग्रेस

उपप्रमुखः छिरिङ टोल्मा महत (८४८) नेपाली काँग्रेस

शे–फोक्सुण्डो गाउँपालिका

अध्यक्षः धावा सम्डुक लामा (निर्विरोध) नेकपा एमाले

उपाध्यक्षः जिग्मे छोइङ नोर्वु लामा (निर्विरोध) नेकपा एमाले

जगदुल्ला गाउँपालिका

अध्यक्षः नारासिं रोकाय (७७०) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः अमरिता बोहोरा (७५९) नेकपा माओवादी केन्द्र

मुड्केचुला गाउँपालिका

अध्यक्षः दत्तबहादुर शाही (१४०४) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः दुधा रोकाय (१४५८) नेकपा माओवादी केन्द्र

छार्काताङसोङ गाउँपालिका

अध्यक्षः सेनाङ गुरुङ (निर्विरोध) नेकपा एकीकृत समाजवादी

उपाध्यक्षः कर्मढुण्डुप लामा (निर्विरोध) नेकपा एमाले

काइके गाउँपालिका

अध्यक्षः अंगदकुमार राना (निर्विरोध) नेकपा एकीकृत समाजवादी

उपाध्यक्षः निमा बुढा (निर्विरोध) नेपाली काँग्रेस

जुम्ला

हिमा गाउँपालिका

अध्यक्षः लक्ष्मणबहादुर शाही (१८७२) नेपाली काँग्रेस

उपाध्यक्षः सुर्पना शाही (१५१८) नेपाली काँग्रेस

कालिकोट  

खाडाचक्र गाउँपालिका

प्रमुखः कलमबहादुर शाही (२९१९) स्वतन्त्र  

उपप्रमुखः गणेशबहादुर शाही (२९२६) नेकपा माओवादी केन्द्र

तिलागुफा नगरपालिका 

प्रमुखः शंकरप्रसाद अपाध्याय (२९१६) नेपाली काँग्रेस  

उपप्रमुखः महेन्द्रबहादुर शाही (२७६९) नेकपा एमाले  

रुकुपश्चिम

सानीभेरी गाउँपालिका

अध्यक्षः विर्खबहादुर विष्ट (६०१९) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः  कमला रोका पुन (५९५८) नेकपा माओवादी केन्द्र

सल्यान  

कुमाख गाउँपालिका

अध्यक्षः  मानबहादुर बुढाथोकी (४०५८) नेपाली काँग्रेस

उपाध्यक्षः लालबहादुर रावत (४१४३) नेकपा एमाले

त्रिवेणी गाउँपालिका

अध्यक्षः खेमबहादुर रावत (३३६९) नेपाली काँग्रेस

उपाध्यक्षः सीता खड्का पुन (३१८६) नेपाली काँग्रेस

दैलेख

गुराँस गाउँपलिका

अध्यक्षः टोपबहादुर विसी (४६८१) नेकपा एमाले

उपाध्यक्षः  शिवाकुमारी खड्का (४६९८) नेकपा एमाले

भगवतीमाई गाउँपालिका

अध्यक्षः गणेशबहादुर थापा (२८४६) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः मिनाकुमारी खड्का (२६८३) नेपाली काँग्रेस

नौमुले गाउँपालिका

अध्यक्षः छविराम सुवेदी (३२००) नेकपा माओवादी केन्द्र

उपाध्यक्षः गंगबहादुर शाही (२८३४) नेकपा एकृकीत समाजवादी

महावु गाउँपालिका

अध्यक्षः लक्ष्मण गुरुङ (२९७९) नेपाली काँग्रेस

उपाध्यक्षः मञ्जुकुमारी शर्मा (३१५५) नेपाली काँग्रेस

भैरवी गाउँपालिका

अध्यक्षः रिताकुमारी शाही (३९७६) नेपाली काँग्रेस

उपाध्यक्षः देवी भण्डारी (३३७४) नेपाली काँग्रेस

डुंगेश्वर गाउँपालिका

अध्यक्षःसुन्दरकुमार केसी (३४०६) नेकपा एमाले

उपाध्यक्षः कलावती न्यौपाने (३५७७) नेकपा एमाले

प्रकाशित: २ जेष्ठ २०७९ १४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App