१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

तादीको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

अध्यक्षमा विजयी सन्तमान तामाङ र उपाध्यक्षमा विजयी सञ्जु प्याकुरेल।

नुवाकोटको तादी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार विजयी भएका छन्। अध्यक्षमा सन्तमान तामाङ र उपाध्यक्षमा सञ्जु प्याकुरेल विजयी भएका हुन्।

शुक्रबार सम्पन्न भएको निर्वाचनको मतगणना सोमबार दिउँसो सकिएको थियो। अन्तिम मत परिणाम अनुसार ३ हजार २ सय ४१ मतको साथ अध्यक्षमा तामाङ विजयी भएका हुन्। तामाङको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का किरण रिजालले २ हजार ५ सय १८ मत प्राप्त गरेका थिए।

यसअघि जिल्ला समन्वय समिति नुवाकोटको प्रमुखको जिम्मेवारी सम्हालिसकेका सन्तमान तामाङ नेपाली कांग्रेस जिल्ला कार्य समितिको उपसभापती हुन्। यस्तै सञ्जु प्याकुरेल ३ हजार ३ सय ६७ मत प्राप्त गरी उपाध्यक्षमा विजयी भएकी छिन्।

प्याकुरलेलकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २ हजार ७ सय ७८ मत प्राप्त गरेकी छिन्। यस निर्वाचनमा पराजित भएकी उप्रेतीले अघिल्लो कार्यकाल उपाध्यक्षको जिम्मेवारी सम्हालेकी थिइन्। तादी गाउँपालिकामा ६ वटा वडा रहेको छ। ती वडाहरु मध्ये नेकपा माओवादी केन्द्रबाट २ मा बच्चुराम तामाङ, ४ मा अश्विनकुमार पाण्डे र ६ मा शेरमान तामाङ विजयी भएका छन्।

त्यस्तै नेपाली कांग्रेसबाट वडा नम्बर १ मा नकुर दोङ तामाङ र वडा नम्बर ३ मा सोनाम थिङ तामाङ विजयी भएका छन् भने  वडा नम्बर ५ मा नेकपा (एमाले) बाट सरोज भण्डारी विजयी भएका छन्।  १५ हजार ३ सय ६० मतदाता रहेको तादी गाउँपालिकाबाट शुक्रवार भएको निर्वाचनमा १० हजार ८ सय ५६ मत खसेको थियो।

प्रकाशित: २ जेष्ठ २०७९ १२:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App