coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सर्लाहीको रामनगरमा २२ वर्षीय युवक काकालाई पछि पार्दै बने गाउँपालिका अध्यक्ष

सर्लाहीमा २२ वर्षीय एक युवक गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। गाउँपालिकामा दिग्गज नेताहरु चुनावी मैदानमा रहेको बेला २२ वर्षीय युवकले चुनाव जित्नुलाई धेरैले आश्चर्य मानेका छन्। सर्लाही रामनगर गाउँपालिकाको अध्यक्षमा आफ्नै काकालाई पनि राजाबाबु यादवले पराजित गरेका छन्।

सानैदेखि सबैले राजा भनेर बोलाउने गरेका नवयुवक राजाबाबु यादव पाँच वर्षका लागि साँच्चिकै गाउँका लोकतान्त्रिक राजा बन्न पुगेका छन्। स्थानीय राजनीतिमा रहेको विकृति र विसंगतिलाई हटाउनु पर्छ भन्ने भावना राखेका एक जना नवयुवक गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि सबैतिरबाट निकै चासोका साथ हेरिएको छ।  

सम्भवतः मधेस प्रदेशमै सबैभन्दा कान्छो कार्यपालिका प्रमुखको रुपमा निर्वाचित राजाबाबुले राजनीतिक विरासत प्राप्त गरेका छन्। सर्लाहीको राजनीतिमा अलग्गै पहिचान स्थापित गरिसकेका माओवादी नेता शिवपुजन राय यादवका छोरा राजाबाबुले वाणिज्यमा स्नातक छन्।

आफूमाथि नागरिकको विश्वास रहेकोले स्थानीय जनताकै माग बमोजिम राजनीतिमा होनहार राजाबाबुलाई अगाडि सारिएको पिता शिवपूजन यादवको भनाइ छ। स्थानीय राजनीतिमा चासो लिँदै विकृति र विसंगतिको निरन्तर विरोध गर्ने युवक भएकोले जनताकै चाहना बमोजिम राजाबाबु यादव चुनावमा आएको स्थानीयको भनाइ छ।  

अन्य उम्मेदवारले जस्तै शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार तथा सुशासनको आश्वासन दिएर चुनावमा आएका राजाबाबुले सुशासनमा धेरै जोड दिँदै आएका थिए। अविवाहित रहेका राजाबाबु यादव गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि गाउँपालिका संचालनमा पिताको पनि निरन्तर साथ र सहयोग रहने स्थानीयको विश्वास छ।

२२ वर्षको कलिलो उमेरमा गाउँपालिकाको प्रत्यक्ष प्रमुख कार्यकारी पदमा जनताबाट निर्वाचित भएपछि राजाबाबु यादवलाई सबैतिरबाट बधाई आउनुका साथै अब गाउँपालिकालाई राम्रोसित हाँक्नुपर्ने जिम्मेवारी पनि थपिएको छ।  

नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका राजाबाबु यादवले ४०८१ मत ल्याउँदा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका आफ्नै काका हरिनन्दन प्रसाद यादवले २३३९ मत प्राप्त गरेका छन्। रामनगरमा माओवादी र नेकाबीच नै प्रतिस्पर्धा रहेको देखिएको छ। गाउँपालिकाको अध्यक्षमा काका र भतिजा दुई दलबाट उम्मेदवार बनेपछि मतदाताले नवयुवक भतिजालाई गाउँपालिका हाँक्ने जिम्मेवारी सुम्पेका छन्। गाउँपालिकाको प्रमुखमा निर्वाचित भएसँगै नवयुवक राजाबाबुले आफूले परिवर्तनको पक्षमा काम गर्ने प्रतिबद्धतालाई दोहो¥याइरहेका छन्।  

नातामा काका भए पनि राजनीतिक प्रतिद्वन्द्वी भएपछि काकालाई २६३७ मतले पछि पारेका राजाबाबु यादवसँगै गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै गीतादेवी साहले ३५२३ मत प्राप्त गरी विजयी भएकी छन्। साहकी निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी कोशिला साहले २६३७ मत प्राप्त गरेकी छन्।

यसअघि रामनगर गाउँपालिकामा नेपाली काँग्रेसकै प्रमुख र उपप्रमुखसँगै बहुमत वडाध्यक्षले विजय हासिल गरेका थिए। २२ वर्षीय युवकको नेतृत्वले रामनगर गाउँपालिकाको नेपाली काँग्रेसको राजनीतिक इतिहासलाई तोडेको छ।  

प्रकाशित: २ जेष्ठ २०७९ ११:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App