१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरका ३ गाउँपालिकामा जसपा र एमालेले खाता खोले

लिमचुङबुङ गाउँपालिका ४ र ४ बाट विजयी वडाध्यक्षहरु कविचन्द्र राई (दायाँ) र छत्रबहादुर राई। तस्विरः महेश्वर/नागरिक

शुक्रबार सम्पन्न स्थानीयतह निर्वाचनमा उदयपुरका ३ गाउँपालिकामा १/१ वडाको नतिजा सार्वजनिक भएको छ। जसमा नेपाली काँग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा)ले वडाध्यक्षसहित विजयीको खाता खोलेका छन्।  

जिल्लाको लिमचुङबु्ङ गाउँपालिका ५ मा गडबन्धनका तर्फबाट काँग्रेसका कविचन्द्र राई वडाध्यक्षमा विजयी भएका छन् भने लिमचुङबुङकै ४ नं. मा गठबन्धनकै तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का छत्रबहादुर राई वडाध्यक्ष जितेका छन्। त्यस्तै ताप्ली गाउँपालिका १ मा एमालेका उद्धव हमाल वडाध्यक्ष विजयी हुँदा रौतामाई १ मा एमालेकै रुद्रबहादुर कार्कीले वडाध्यक्षको ताज सुरक्षित गरेका छन्। एमाले कार्की यसअघिका पनि वडाध्यक्ष हुन् भने बाँकी सबै नयाँ अनुहार हुन्।  

साँझ ५ बजे मतदान सकिएलगत्तै संकलित मतपेटिकाहरु पालिका केन्द्र लगेर राति ११ बजेदेखि मतगणना सुरु भएको थियो। केही पालिकामा भने मध्यरातिदेखि र शनिबार विहानदेखि मात्र मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मतगणनाको परिणाम शनिबार दिउँसोदेखि आउन थालेको हो।  

४ नगर र ४ गाउँपालिका गरी ८ स्थानीयतह रहेको उदयपुृरका २ नगरको मतगणना भने रोकिएको छ। कटारी नगरपालिका १० सोरुङछविसेमा प्रहरी गोली लागेर एकजनाको निधन भएपछि मतदान रोकिएको छ। त्यस्तै सदरमुकाम त्रियुगा नगरपालिका १२ मा मतदान अधिकृतबाटै आचारसंहिता मिचेको भन्दै मतदाताहरुले आपत्ती जनाएपछि मतदान स्थगित हुन पुगेको छ। 

शुक्रबार मतदान भईरहेको बेला वर्षाले बिथोल्नुअघि नै कर्मचारीबाट मतदान प्रक्रियामा ढिलाई गरेको तथा केही मतपत्र मतदान अधिकृत आफैले गायव गरेको मतदाताहरुले आरोप लगाएपछि मतदान कार्य स्थगित हुन पुगेको हो।  

जिल्लाका ९८ मतदानस्थलमध्ये यी दुईबाहेक अन्यमा भने शान्तिपूर्णरुपमा मतदान सकिएर गणना कार्य भईरहेको निर्वाचन कार्यालयले जनाएको छ। गणनासँगै धमाधम परिणाम सावजनिक हुने  क्रम चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: ३१ वैशाख २०७९ १३:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App