तनहुँमा नेपाली कांग्रेसले वडाध्यक्षमा भिमाद नगरपालिका–१ बाट विजयी सुरुवात गरेको छ। शनिबार साँझ आएको अन्तिम मतपरिणाममा एमालेका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेसका दिपक आले ५७ मतान्तरले वडाध्यक्षमा विजयी भएका हुन्। उनले एक हजार ५९ मत प्राप्त गरेको निर्वाचन अधिकृत रामचन्द्र शर्माले बताए। उनका निकटम प्रतिद्धन्दी नेकपा एमालेका बलबहादुर थापाले एक हजार दुई मत प्राप्त गरे। खुलातर्फका दुई वडा सदस्यसँगै, खुला महिला र दलित महिला सदस्यमा भने एमालेका उम्मेद्वार विजयी भएका छन्।
नेपाली कांग्रेसले वडाध्यक्षमा विजयीको खाता खोलेको वडा नेकपा एमालेको तर्फबाट तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा विजयी केदार सिग्देलको वडा हो। यस्तै, संविधान सभा सदस्य एवम नेकपा एमालेका केन्द्रिय सदस्य टुकराज सिग्देल पनि यहीँ वडाका हुन्। वडाध्यक्षको उम्मेद्वार चयनमा एमाले सफल नहुदाँ पकड वडाबाटै वडाध्यक्षमा पराजित हुन परेको छ। किनकी वडा सदस्यमा १५६ देखी २२२ सम्म मतान्तर छ।
तनहुँको नौ स्थानीय तहमा मतगणना सुरु भएको छ। व्यास नगरपालिकामा अझै मतगणना हुन सकेको छैन्। शनिबार दिउँसो भानु नगरपालिकामा मतगणना सुरु भएसँग जिल्लाको नौ स्थानीय तहमा मतगणनाले तिब्रता पाएको हो। जिल्लाको म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिका र घिरिङ गाउँपालिकामा शुक्रबार रातीदेखी नै मतगणना सुरु गरिएको थियो। भिमाद नगरपालिकामा शनिवार विहानदेखी मतगणना सुरु भएको हो। शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा शनिबार दिउँसो मतगणना सुरु गरिएको छ।
व्यास नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन्। व्यास नगरपालिका–८ साविकको रिस्ती गाविसको भवन फेदीको मतदान केन्द्रमा स्वतन्त्र मेयरका उम्मेद्वार दिपकराज जोशी कुटिएका। नेकपा एमालेसँग तालमेल गर्दै उनले व्यासको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका थिए। मतदान निरिक्षणको क्रममा कुटिएपछि टाउकोमा गम्भिर चोट लागेका उनको काठमाडौंमा उपचार भईरहेको छ।
नेकपा एमाले र गोविन्दराज जोशी समूहले व्यास नगरपालिका–८ रिस्तीमा पुनः मतदान गर्न माग गरेका छन्। नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल र गोविन्दराज जोशी समुहकातर्फबाट हरिशरण पण्डितले शुक्रबार प्रेस विज्ञप्ती सार्वजनिक गरी गाविस भवन फेदीमा भएको मतदान स्थल (क) र (ख) केन्द्रमा भएको मतदान प्रकृया स्थगन गरी पुनः भयरहित वातावरणमा मतदान गर्न माग गरेका हुन्।
मतदानका क्रममा भएका प्रकृयाहरु छानबिन गरी पुनः मतदान हुनेस्थिति नहुँदासम्म अन्य मतदान केन्द्रका मतपेटिकाका मतहरु समेत गणना नगर्न अनुरोध गर्दै मतगणनामा सहभागी नहुने विज्ञप्तीमा उल्लेख छ। त्यसैले पनि व्यासमा मतगणना सुरु हुन सकेको छैन्।
शुक्रबार तनहुँका १० स्थानीय तहको ८५ वडामा नयाँ नेतृत्व चयनका लागि १३६ मतदानस्थलको २९७ मतदान केन्द्रबाट उल्लासपुर्ण वातावरणमा मतदान भएको थियो। निर्वाचनमा जिल्लाका ६४.४० प्रतिशत मतदाताले मतादान गरेका छन्। जिल्लामा दुई लाख ४४ हजार ३४० मतदाता मतदान गर्न योग्य थिए। प्रारम्भिक विवरण अनुसार जिल्लामा एक लाख ५७ हजार ३५५ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरि ढकालले जानकारी दिए। उनका अनुसार मतदान गर्न योग्य भएर पनि ८६ हजार ९८५ मतदाताले मतदान नै गरेनन्।
प्रकाशित: ३१ वैशाख २०७९ १३:३० शनिबार