७ वैशाख २०८१ शुक्रबार
राजनीति

रौतहटमा मौलापुरको मतगणना अझै अनिश्चित

रौतहटको मौलापुर र वृन्दावन नगरपालिकाको मतगणना अझै हुन सकेको छैन। मौलापुर नगरपालिकाको मतगणना कहाँ र कसरी गर्ने भन्ने विषयमा सर्वदलीय सहमति हुन सकेको छैन। पटक-पटक सहमतिको प्रयास गरिए पनि मौलापुरमा मतगणनाको विधि र प्रक्रियाको साथै स्थानको विषयमा दलहरुबीच सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो।

मौलापुर नगरपालिकामा मतगणनाको लागि सर्वपक्षीय सहमति बनाउन नसकेपछि पालिकाको निर्वाचन अधिकृत खिमबहादुर भुजेलको आलोचना हुन थालेको छ। निर्वाचन सकिएको भोलिपल्ट दिउँसोसम्म पनि मौलापुरमा मतगणना सुरु हुन अनिश्चितता रहेपछि निर्वाचन अधिकृत भुजेलको आलोचना बढेको हो।

नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहको गृह नगर मौलापुरमा नेकपा एमाले विजयी हुने सुनिश्चित भएपछि गठबन्धन दलहरुले मतगणनाको लागि सहमति हुन नदिएको आरोप साहले लगाएका छन्। यसैबीच मौलापुरमा मतगणनाको लागि सर्वपक्षीय बैठक अहिले फेरि बसेको छ। यसैगरी वृन्दावन नगरपालिकाको पनि मतगणना सर्वपक्षीय सहमतिको अभावमा हुन सकेको छैन।

शुक्रबार फतुवा विजयपुर, गढीमाई, गरुडा, देवाही गोनाही, बौधिमाई नगरपालिकाका साथै यमुनामाई गाउँपालिकाका केही स्थानमा मतदान रद्द भइ जेठ ३ मा निर्वाचन हुने भएकाले मतगणना हुन सकेको छैन भने माधव नारायण नगरपालिका २ मा पनि मतदानकै क्रममा विवाद भएको थियो। जिल्ला सदरमुकाम गौर, ईशनाथ, राजदेवी, राजपुर, कटहरिया र चन्द्रपुर नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकामा मतगणना सुरु भइसकेको छ। 

प्रकाशित: ३१ वैशाख २०७९ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App