coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

इटहरी उपमहानरपालिकामा मतगणना हुँदै

इटहरी उपमहानगरपालिका मतगणना केही पछि हुने भएको छ। बिहान बसेको सर्वपक्षीय बैठकले ११ बजेदेखि गणना हुने निर्णय भएपनि राजनीतिक दलका पार्टी प्रतिनिधी भेला हुन समय लागेकाले गर्दा ढिलाइ भएको हो।

नेपाली कांग्रेसका कार्यबाहक सभापति कोविदचन्द कार्कीका अनुसार राजनीतिक दलका प्रतिनिधी अब तत्काल भेला भए मतगणना करिब १२.३० बाट सुरु हुनेछ। नत्र अरु समय लम्बिनेछ। इटहरीमा कुल एक लाख चार हजार छ सय २६ मतदातामध्ये ७३ हजार ८९६ मत खसेको थियो।

सुनसरीका स्थानीय तहमध्ये सबैभन्दा बढी मतदाता रहेको र मत खसेको पनि इटहरी नै हो। इटहरीमा गठबन्धनका तर्फबाट मेयरमा कांग्रेसका हेमकर्ण पौडेल र एमालेका तर्फबाट याम सुब्बाप्रति प्रतिस्पर्धा हुने देखिएको छ।

उपमेयरमा गठबन्धनका तर्फबाट एकीकृत  समाजवादी पार्टीका केशबकुमार विष्ट र एमालेकी संगीता चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ। सुनसरीमा रहेका १२ पालिकामध्ये धरान उपमहानगरपालिका, दुहबी नगरपालिकासँगै कोशी, बर्जु र भोक्राहा नरसिंह गाउँपालिकामा बिहानैदेखि मतगणना थालिएको छ।

धरानमा बिहान १०.३० बजेबाट सुरु भएको हो। दुहबीमा नेपाली कांग्रेसका वेदनारायण गच्छदारले मेयरमा अग्रता लिएका छन्। एमालेका विनय पोखरेलले गच्छदारलाई पछ्याइ रहेका छन्। यस्तै, उपमेयरमा पनि नेपाली कांग्रेसकी मेनुका पोखरेलले प्रारिम्भक मतगणनामा अग्रता लिएकी छन्।

उनलाई जनता समाजवादी पार्टीका सरोज सिंहले पछ्याइ रहेका छन्। दुहबीमा कांग्रेससँगै अन्य दल सिङ्गल चुनावी प्रतिस्पर्धामा रहेका थिए भने एमाले र जनता समाजवादी पार्टीबीच गठबन्धन भएको थियो। दुहबी नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारको गृह नगर हो। यहाँ एमालेकी नेता भगवती चौधरीको पनि प्रभाव रहेको छ।

भोक्राहा नरसिंह गाउँपालिकामा वडा नंं. १ बाट गणना हुँदा एमालेका अध्यक्षका उम्मेदवार महेन्द्रप्रसाद यादवले अग्रता लिएका छन्। उनलाई नेपाली कांग्रेसका अजमल अख्तर मियाँले पछ्याइ रहेका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसकी सुनिताकुमारी उराँवले अग्रता लिएकी छन्। उराँवलाई नेकपा एमालेकी सवितादेवी मेहताले पछ्याइ रहेकी छन्।

कोशी गाउँपालिकामा वडा नं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टीले अग्रता लिएको छ। जसमा ५१४ मत गणना गर्दा जनता समाजवादी पार्टीका देवकृष्ण यादवले २६९ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका ऐयुव अनसारीले ११३ मत प्राप्त गरेका छन्।

उपाध्यक्ष र वडाध्यक्षसहित सदस्यमा पनि पुरै प्यानल जनता समाजवादी पार्टीले नै अग्रता लिएको छ। बर्जु गाउँपालिकाको वडा नंं. १ बाट गणना गर्दा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। कांग्रेसका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले पछ्याइ रहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०६:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App