७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रदेशसभा सदस्यले मतदान गर्न पाइनन्

स्थानीय तहका लागि मोरङमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। बिहान पानी परेका कारण केही स्थानमा ढिला गरी मतदान सुरु भएको थियो। प्रदेश १ की प्रदेशसभा सदस्य सावित्रा रेग्मीले शुक्रबार भइरहेको निर्वाचनमा आफ्नो मताधिकारबाट वञ्चित भएकी छिन्।

निर्वाचन आयोगले गरेको लापरबाहीका कारण आफू मताधिकारबाट वञ्चित हुनु परेको बताएकी हुन्। ‘मैले निरन्तर रुपमा २३/२४ वर्षदेखि विराटनगर–३ बाट मतदान गरिरहेको थिएँ,’ प्रदेशसभा सदस्य रेग्मीले भनिन्, ‘यस पटक आफू मताधिकारबाट वञ्चित हुनु पर्दा धेरै दुःख लागेको छ। ०७४ को स्थानीय, प्रदेश र संघीय निर्वाचनमा समेत यहाँबाटै मतदान गरेकी थिए।’

यस पटक आयोगले जारी गरेको मतदाता नामावलीमा रेग्मीको नाम सुन्दरहरैँचा नगरपालिका–९ मा रहेको बताइन्। यस अघिका वर्षहरुमा पनि यहाँबाटै मतदान गर्दै आएको र नाम गल्ती होला भन्ने सोचेको थिइन्। आयोगका लागि सानो गल्ती भए पनि ठूलो अवसरबाट वञ्चित हुनु पर्दाको पीडा भाग्न बाध्य भएको बताइन्।

‘मै जस्तो कैयौं मतदाता वञ्चित हुनु पर्‍यो होला,’ रेग्मीले भनिन्, ‘किन, कसरी, कसले मेरो नाम हटाएको हो आयोगले प्रष्ट पार्नु पर्छ।’ त्यस्तै, सुन्दरहैँचा नगरपालिका–७ पञ्चायत माविको मतदान केन्द्रमा ११३ वर्षीया  महेश्वरा अधिकारीले मतदान गरेकी छिन्। मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जिल्लाका सबै मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ।

केही स्थानमा पानी परेका कारण ढिला मतदान सुरु भएको थियो। जहदा–३ शान्ति आधारभूत विद्यालयमा खटिएका कर्मचारीले एउटा पार्टी नजिक भएर काम गरेको भन्दै स्थानीय विरोध गरेपछि केही समय समस्या भए पनि पुनः मतदान सुचारु भइसकेको एसपी कोइरालाले बताए।

प्रकाशित: ३० वैशाख २०७९ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App