१५ चैत्र २०८० बिहीबार
राजनीति

उम्मेदवार उदयबहादुर राईले आचारसंहिता उल्लंघन गरेको देखिएनः मुख्य निर्वाचन अधिकृत

इलामको सन्दकपुर गाउँपालिकाका अध्यक्षका उम्मेदवार उदयबहादुुर राई।

सन्दकपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार उदयबहादुर राईले निर्वाचन आचारसंहितविपरीत कुनैपनि गतिविधि गरेको नदेखिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार राईले आचारसंहितविपरीत काम गरेको नपाइएपछि उनी हिजैदेखि कसैको नियन्त्रणमा छैनन्।

मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले निर्वाचन अधिकृतको कार्यालयले गरेको अध्ययनमा उम्मेदवार राईले आचारसंहिता मिचेको नदेखिएको बताए। ‘हामीले उहाँ (राई)ले निर्वाचनको आचारसंहिता मिचेको, बाहिर हल्लामा आएजस्तो कुनै नियम उल्लंघन गरेको पाएनौं,’ इङ्नामले नागरिकन्युजसँग भने, ‘त्यसैले उम्मेदवारलाई नियन्त्रण गर्नु, थप काम अघि बढाउनुु आवश्यक देखिएन।’

नेकपा (एमाले)को उम्मेदवार राई हिजो साँझ गाउँपालिकाको वडा ५, जमुनामा ‘मतदाता प्रभावित पार्न’ गएको भन्दै एक समूहले उनलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो। उनी चढेको गाडी नियन्त्रण गर्ने प्रयास गरिएपछि उनी त्यहीं रहेको सुरक्षा पोस्टमा गएका थिए। सुरक्षा पोस्टमा रहेका बेला पनि झडपको अवस्था आएपछि राईको विषयमा उत्पन्न विवाद निर्वाचन अधिकृतको कार्यालयले हेर्नेगरी उनी राति नै गाउँपालिकाको केन्द्र देउराली बजार फर्किएका थिए।  

गाउँपालिकाका निवर्तमान अध्यक्षसमेत रहेका उम्मेदवार राईले आफू मृतकको काजकिरिया गरेको ठाउँमा जान हिँडेको तर पुग्नै नपाएको बताए। ‘जमुनामा २ ठाउँमा मरुमराउ भएका ठाउँमा जाँदैथिएँ, एउटामा पुगेर अर्काे मरुमराउमा जाँदैगर्दा एक समूहले अचानक आक्रमण गर्न खोज्यो,’ उनले भने, ‘त्यसपछि विवाद बढ्ला, झडप होला र गाउँ आतंकित होला कि भनेर म आफैं सुरक्षाकर्मीकहाँ गएको हुँ, कसैले पक्राउ, नियन्त्रण गरेको होइन।’ उनले आफू निर्वाचन आचारसंहिताप्रति पूर्ण सचेत रहेको भन्दै जमुनामा पनि गलत नियतले नगएको दाबी गरे।

प्रकाशित: २९ वैशाख २०७९ १४:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App